
पोखरा- चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख ३७ हजार ४६४ रुपैयाँ बचत भएको छ।
माघ १ देखि ६ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल भएको थियाे।
प्रतियोगिताले एक करोड २१ लाख ८८ हजार ८६१ रुपैयाँ आम्दानी गरेको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार एक करोड तीन लाख ५१ हजार ३९७ रुपैयाँ प्रतियोगिता सञ्चालनमा खर्च भएको छ।
टिकट बिक्रीबाट मात्रै २२ लाख २२ हजार २२२ रुपैयाँ आम्दानी भएको हो। प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् लगायतका संघ संस्था र देशविदेशमा रहने व्यक्तिबाट सहयोग आएको थियो।
पुरस्कारमा मात्रै १९ लाख २४ हजार ४४० रुपैयाँ खर्च भएको छ। यातायात, अवासमा नेपाली टोलीलाई १४ लाख ९५ हजार दुई सय रुपैयाँ र विदेशी टोलीलाई १६ लाख ४७ हजार ७७५ रुपैयाँ खर्चिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन आयव्यय सार्वजनिक गर्दै जानकारी गराइएको हो।
महिला र पुरुषतर्फ ६/६ टोली प्रतियोगितामा सहभागी थिए। पुरुषतर्फ श्रीलंकन आर्मी टीम र महिलातर्फ हरियाणा पुलिस क्लब भारत गरेर दुई विदेशी टोली सहभागी भएका हुन्।
चौथो टाइगर कपमा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको थियो। हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
महिलातर्फ विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गर्याे। एपिएफले न्यु डायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक उपाधि विजेता हो।
प्रतियोगिताबाट बचत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष शर्माको भनाइ थियो।
‘स्वास्थ्य, शिक्षा एवम खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ शर्माले भने, ‘प्रतियोगिता व्यवस्थित बनाउन र खेलाडी, खेलकुद क्षेत्रको विकास गर्न छुट्टाछुट्टै अक्षयकोष बनाउने सोच बनाएका छौं।’