पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, बहुदलीय व्यवस्था, माओवादी द्वन्द्व, गणतन्त्र, संघीयता र अनेकौं चुनावको अनुभव छ घले गाउँ निवासी प्रेमबहादुर घलेसँग। २०४९, २०५४ दुई कार्यकाल गाविस अध्यक्ष भइसकेका घले २०७४ मा गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्षे कार्यकाल पूरा गरेका थिए। उनी ग्रामीण पर्यटन (होमस्टे) का सफल अभियन्ता पनि हुन्।
२०७० मिटर उचाइमा रहेको लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ (साविक उत्तरकन्या गाउँ विकास समिति) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो, जुन लोकेसन ग्रामीण पर्यटनको प्रमुख गन्तव्य बन्यो। सार्क राष्ट्रको नमुना गाउँ नेपालको पहिलो स्मार्ट र सुखी गाउँ पनि हो। बाउबाजेले चलाउँदै आएको जिम्मुवाल शासनलाई लत्याएर सिंगो गाउँ बनाउन सफल घलेसँग राजनीति र शिक्षण पेशाको पनि गहिरो अनुभव छ। उनीसँग देश सञ्चारले गाउँ र राजनीतिको सेरोफेरोमा बसेर गरेको कुराकानीको सम्पादित अंश:
घलेगाउँलाई सार्क राष्ट्रको नमुना गाउँ बनाउन किन आवश्यक थियो? यो क्रममा कस्ताकस्ता दुःख आइपरे?
पचासको दशकमा गाउँ नै गरिब थियो। अब गरिबीले भरिएको गाउँमा विकास जसरी गरे पनि हुन्छ भन्ने लागेपछि काम सुरु गरियो। र, त्यो समय पर्यटनमन्त्री पुतलीशरण गुरुङ हुनुहुन्थ्यो सायद। उहाँले स्याङ्जाको सिरुबारीलगायतका ठाउँको बारेमा थाहा पाएरै होला गुरुङले सार्क सम्मेलनमा सार्क नमुना गाउँ बनाउने योजना लानु भएको थियो। सार्क भिलेज कस्तो बनाउने भन्ने भएपछि घलेगाउँ प्राथमिकतामा पर्याे। र घलेगाउँमा पर्यटन ल्याउन सकिए गाउँको विकास हुन्छ कि भन्ने लाग्यो। यसरी क्होंलासोंथर गाउँपालिका- ३ को रमणीय घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरियो। १२ घरबाट होमस्टे सुरु गरिएको घलेगाउँ अहिले पुरै बस्ती होमस्टे बनेको छ।
सार्क नमुना गाउँ भए पनि गाउँमा अनेक किसिमका सामाजिक, सांस्कृतिक मूल्य र मान्यता थिए। विभेद थिए। जस्तै कि तपाईं स्वयं जिम्मुवाल शासन चलाउँदै आएको परिवारबाट हुनुहुन्थ्यो। त्यस्तो शासनबाट गाउँलाई माथि उठाउन के गर्नु पर्दोरहेछ?
२०१४ सालतिर म जन्मिएर बुझ्ने भएपछि नै थाहा पाएँ मेरो घरमा पनि जिम्मुवाली शासन रहेछ। पहिला पहिला राणाशासनमा हुन्थ्यो रे भन्ने सुनेको थिएँ। घलेगाउँमा जिम्मुवाली शासनले गाउँमा तिरो उठाउने गर्थ्याे। मेरा हजुरबा र बाले दलित तथा आर्थिक रूपमा कमजोर गाउँलेलाई काम लगाउने गर्नुहुन्थ्यो। त्यसको ज्याला एक छाक भात दिने गरिँदोरहेछ। हजुरबाको निधनपछि बुवा जिम्मुवाल शासनप्रथालाई निरन्तरता दिँदै आइरहनु भएको रहेछ। तिरो उठाउने क्रम पनि निरन्तर चलेको रहेछ। त्यो सम्भव किन भयो भने घलेगाउँमा दलित बस्ती बाक्लै थियो। तिनले काम गरेबापत ज्याला दिँदैनथे। जिम्मेवाल बाजे ठानेर दलितहरूले निःशुल्क काम गरिदिन्थे। त्यसो गरेको मलाई भने मन परेन। अनि म आफ्नै बाको विरुद्ध बोल्न थालें। जिम्मुवालको शासनबाट टाढा रहेर म बोल्थें। तर मेरो बा मलाई उल्का काम गर्छ भन्नुहुन्थ्यो। आफ्नै बाउबाजेले चलाएको शासनकै विरोध गर्छ भनेर हप्काउनु हुन्थ्यो। घरबाट पनि अपहेलना गरियो। माइला छोरा ठीक छैन भन्ने गरे। तर जेसुकै भनुन् भनेर म त बाहरूको कारण घरबाटै आवाज उठाएँ।
गाउँमा निगालोको जंगल बनाउने अभियान पनि चलाउनु भएको थियो है?
घलेगाउँका धेरै गुरुङ र दलितको जीवन निर्वाह नै निगाला काटेर चलाइन्थ्यो। सबैले निगालाबाट घरेलु सामग्री बनाउने र त्यो बेचेर खर्चपानी चल्थ्यो। एक दिन म पनि निगाला काट्न गएको थिएँ। निगाला काट्न घनपोखराको वन जानुपर्थ्याे। एकदिन मैले निगाला काटेर फर्किँदा मेरो निगाला खोसियो। साह्रै नमजा लाग्यो। हाम्रो गाउँमा पनि निगालो थियो। त्यसलाई संरक्षण गर्न लाग्नुपर्छ भन्ने भयो त्यो घटनापश्चात्। अनि २०४९ तिर गाउँमा निगालोको जंगल बनाउने अभियान चलाएँ। वन हेरालु राखियो। हेरालु राख्दा तलब कहाँबाट दिने भनेर धेरै जनाले कराए तर वन कार्यालयसँग समन्वय गरेपछि सजिलो भयो। निगालोको वृक्षरोपण पनि गरियो। यसरी पहिला-पहिला हामी घनपोखरीमा चोर्न गइन्थ्यो पछि घनपोखरीबासी हाम्रो गाउँमा निगालो चोर्न आउँथे। अनि हामीले खोस्ने पालो सुरु भएको थियो।
तपाईंका अनुसार एउटा गाउँ बन्न प्रकृतिको संरक्षण र गाउँले एक हुनुपर्छ भन्ने हो?
पहिला त भिजन ल्याउनुपर्याे। कुरा बुझ्ने र बुझाउनुपर्याे। जिम्मुवाल माइलाले राम्रो कुरा गर्छ भन्न थाले। आयस्रोतको बाटो खुल्यो। एउटा सानो कुरा गर्न चाहन्छु- म पहिलो पटक एमालेबाट गाविस अध्यक्षको चुनावमा उठ्दा गाउँका सारा मानिस कांग्रेसका थिए। यस्तो बेला बुवाले मलाई कांग्रेसको गढ भएको ठाउँमा त एमालेबाट उठ्नु भनेको हार्नु हो भन्नुभयो। उहाँले ममाथि फ्याट्टै विश्वास गर्न सक्नु भएको थिएन। अनि मैले बुवालाई सम्झाएँ- मलाई कोही चाहिँदैन। घरकाले पनि भोट नहाले हुन्छ। तर बुवाको मन न हो उहाँले एक ज्योतिषीलाई देखाउनु भयो। ज्योतिषीले पनि चुनाव हार्छ माइलाले भनिदिए। यस्तो परिस्थितिमा पनि मैले हार खाइनँ। चुनाव लडें। चुनाव नजिक नजिक आउँदा बुवा नै मेरो लागि भोट माग्न हिँड्नु भयो। अलिअलि माया लागेर भोट माग्न जाँदा बुवालाई गाउँलेहरूले खिन्न बनाए। उनीहरूले माइलालाई भाेट नदिने कुरा गरे। तर बुवाले मलाई भोट हाल्नु भएको रहेछ। जुन बुवाको जिम्मुवाल शासनको विरोध गरेको थिएँ, उहाँकै भोट पाएर हो कि मैले चुनाव जितें। त्यसपछि मलाई गाउँको मुहार फेर्न कसैले रोकेन। तिम्रो शासनको विरोध गर्याे भनेर खत्तम छ भनेर भन्थे तर मैले मन लागेकै गरें। राम्रै गरें।
लमजुङमा युवाहरू लाहुर जाने चलन थियो। तपाईं पनि लाहुर जानु भयो तर फर्किनु भएको रहेछ। पढ्ने पढाउने कर्ममा लाग्नु भएको रहेछ। यसखालको चेतना लाहुरे नबनेको कारण हो?
त्यतिबेला दाइ लाहुरे हुनुहुन्थ्याे। मित दाइ पनि लाहुरे हुनुहुन्थ्याे। भारतको सिमला भन्ने ठाउँमा भर्ती गर्थ्याे। म त्यहाँ पुगें र भर्ती हुन कस्सिएँ। दौड पास पनि गरें, हाइट पनि पास गरें। त्यो बेला म पातलो थिएँ त्यसैले मेरो तौल ५४ किलो हुनु पर्नेमा ५२ किलो मात्रै भयो। यो कारणले म भर्ती हुन सकिनँ। अब अलिकति मोटाउनूस् अनि आउनूस् त्यसपछि भर्ती बनाइदिन्छु भन्नुभयो मेरा लाहुरे आफन्तले नै। म फर्किएर आएँ। यता बुवा छोरो लाहुरे भयो होला भनेर मख्ख हुनुहुन्थ्यो तर म लाहुरे नभई घर पुग्दा बुवाले मलाई थुक्नु भयो। भात दिनु भएन। अनि फुपूले मलाई भात दिएर गोठमा सुताइदिनु भयो।
घर आएपछि मेरो मन अलिकति बिग्रियो । लाहुरेहरूले काटेको दुःख आफ्नै आँखाले देखेपछि साह्रै चिन्ता लाग्यो। अलिकति गल्ती गर्दा पनि ढुंगा बोक्ने अवस्थाले कायल भएँ। अनि गाउँमै केही गर्छु भन्ने सोच बनाएँ। तर गाउँमा लाहुर गए धेरै सेवा सुविधा हुन्छ, पेन्सन हुन्छ, सुखकाे जीवन हुन्छ भन्ने थियाे। गाउँमा स्कुल थिएन। अनि मैले २०३५ सालमा स्कुल खोलें। ८० रुपैयाँ तलब पाउने शर्तमा स्कुल पढाउन थालें। यसरी लाहुरे हुन जाँदा देखेको दृष्यले मेरो विचार बदलिएको चाहिं पक्कै थियो।
घले गाउँमा आजका युवाहरु लाहुर जान कत्तिको रहर गर्छन् ?
अहिले त कलेज जान रहर गर्छन्। कोही अमेरिका कोही युके र कोही घलेगाउँमै बसेर होमस्टे गर्छन्। लाहुर जान खासै रहर गर्दैनन्।
२०४६ साल पछि शिक्षण पेशा छोडेर राजनीतिमा लाग्नु भएको रहेछ, किन ?
त्यो बेला राजनीति बुझ्न गाह्रो थियो। विकासको मुहान भनेको नै राजनीति हो मेरा अग्रजहरूले भन्दै आइरहेको कुरा थियो। राजनीतिबिना कुनै पनि विकास सम्भव छैन। अर्थतन्त्र कस्तो बनाउने, विकास कसरी गर्ने राजनीतिबाटै हो। अनि मैले स्कुलबाट राजीनामा दिएर पुरै राजनीतितिर लागें।
भूगर्वविद् हर्क गुरुङलाई कसरी सम्झिनु हुन्छ ?
उहाँकै प्रेरणाबाट घलेगाउँको विकासमा लाग्न हौसिएको पात्र हुँ म। हर्कजीले भन्नुहुन्थ्यो- नेपालमा होमस्टे कहाँ छ? नेपालको गाउँ गरिबीले भरिएको छ। धेरै कुराको अभाव छ। विकास कसरी गर्ने भन्ने थाहा छैन। गाउँको संस्कृति देखाएर विकास गर्न सकिन्छ भन्ने चेतना उहाँले नै बाँडेको जस्तो लाग्छ। १७ मिनेट उहाँले भाषण गरेको देखेर म छक्क परेको थिएँ। उहाँलाई त मैले ४२ सालमा नै चिनेको थिएँ। तर धेरैपछि संगत गर्न पाएँ। नेपालको राजधानी नै भरतपुरमा हुनुपर्छ भनेर भन्नुहुन्थ्यो उहाँ। यदि डाक्टर हर्क नभएको भए नेपालको पर्यटन विकास हुँदैन भन्ने लाग्छ अहिले पनि।
तपाईंले पञ्चायतकालीन, बहुदलीय प्रजातन्त्र र गणतन्त्रसम्मको राजनीतिलाई हेर्नु भएको छ। अहिले आएर हेर्दा राजनीति मात्रै परिवर्तन भयो कि समाज पनि?
समाजले केही फड्को त मार्याे। समाज परिवर्तनकै लागि राजनीति गरेको हो। जनताले जे सोचेका थिए त्यो चाहिं भएन। अहिले सदनमा धेरै माननीय बोलिरहन्छन् तर देशको विकासका लागि कोही बोल्दैनन्। व्यवस्था बदिलियो देशमा लोकतन्त्र आयो तर जनताको परिवर्तन हुन सकेन। जनताले अझै दुःख पाएका छन्। किनकि नेता गतिला परेनन्। विकास त भएको हो तर जनताले चाहेको जस्तो भएन।
तीस-चालिस वर्षमा गाउँ बनाउन सक्छु भने तपाईंहरू देश बनाउन सक्नुहुन्न भनेर नेताहरूलाई सोध्नु भएको छ?
मैले नेताहरूलाई यही प्रश्न गर्छु। अझ मेरा आदरणीय गुरु नेता पृथ्वी सुब्बा गुरुङलाई त पटकपटक सोध्ने गर्छु।
गाउँ बनाउन जस्तो देश बनाउन सजिलो छैन हो?
गाउँ बनाउनभन्दा देश बनाउन सजिलो छ। देश बनाउने त बजेट हुन्छ। गाउँ आफ्नै दुःखले बनाउने हो। नेपाल बनाउने पैसा त छ तर नेतामा भिजन भएन।
भिडियो हेर्नुहोस्: