सडकमा दादागिरी र सिंहदरबारको यात्रा

सडकमा दादागिरी र सिंहदरबारको यात्रा
+
-

कलेज पढाइसकेपछि म घर जानको लागि निक्लँदै थिए, यत्तिकैमा डीआर भन्डारी सर र दिपक सर आउनुभयो र भन्नुभयो- आज, सरको इभीमा सँगै जानुपर्‍यो। फेरि भन्डारी सरले थप्नुभयो कस्तो रैछ, हेरौँ न त आज सरको गाडी।

मैले नेक्सनको इभी किनेपछि साथीभाइले मलाई गाडी कस्तो छ? माइलेज कति दिन्छ, मलाई पनि किन्न मन छ भनेर सोध्नुहुन्छ। यस्तै गफगाफमा हामी शंकरदेवबाट पुतलीसडक हुँदै बागबजारतिर लाग्यौँ।

बागबजार चोकबाट अलिमाथि कमलादी जाने बाटोतर्फ पुगेपछि एकजना ट्राफिक भाइ अचानक बाइक लिएर आउनुभयो, एकदम जाम थियो, मोबाइल निकाल्नुभयो र फटाफट मेरो गाडीको फोटो खिच्नुभयो, हामी तीनजना नै अचम्मित भयौं। त्यसपछि गाडीको सिसा खोल्न लगाउनुभयो र ब्लुबुक र लाइसेन्स माग्नुभयो। मैले भनेँ- के भयो र केही समस्या भयो?

उहाँले भन्नुभयो- तपाईँले यो सडकको कोन ढाल्नुभयो।

मैले भनेँ- हामीले त केही गरेको छैन?

त्यसपछि उहाँले लाइसेन्स र ब्लुबुक लिएर हात्तीसार जानेतर्फको चोकमा पछिपछि आउन भन्नभयो। म गाडी लिएर पछिपछि गएँ। त्यसपछि उहाँले त्यो चोकमा भएको अर्को एकजना ट्राफिक भाइलाई केही भन्नुभयो, त्यो ब्लुबुक र लाइसेन्स दिएर हिँड्नुभयो।

फेरि हामीले भन्यौँ- के भयो र सर केही त भएको छैन?

अनि उहाँले अलि रवाफिलो पाराले भन्नुभयो- केही भएको/नभएको त सिसिटीभी फुटेज हेरेपछि थाहा भइहाल्छ नि।

अनि फेरि मैले सोधेँ- होइन के भयो भन्ने कुरा छ?

त्यसबेलासम्म हामीलाई त केही थाहा नै छैन, खासमा कुरा चाहिँ के भएको हो?

अनि उहाँले भन्नुभयो- तपाईँको गाडीले तीनवटा कोन (सडकको बीचमा राखिएको प्लास्टिकको डिभाइडर) फुटाएको छ।

हामी त अचम्मित नै भयौं किनभने लगभग अफिस समयमा र बागबजारको जाममा गाडी पेट्रोल हाल्ने लाइनमा बसेकोजत्तिकै स्पिडमा थियो। मैले मनमनै सोचेँ- प्रथम त मेरो गाडीले कोनलाई छोएको नै छैन, त्यसमा पनि त्यो स्पिडमा गाडीले कोनलाई छोइहाले पनि फुट्न सम्भव छैन।

अनि मैले भनेँ- होइन त्यो कोन ढलेको भए शुरुमा नै कसैले ढाल्यो होला, हाम्रो गाडीले त छोएको नै छैन।

उहाँले विश्वासिलो पाराले म सिसिटीभीमा फोन गर्छु, अनि तपाईँलाई पनि मोबाइलमा देखाउँला भन्नुभयो।

अब देखाउने नै भनेपछि त मान्नैपर्‍यो।

आफ्नै लाइसेन्स फिर्ता पाउँदा मलाई लाग्यो- म कुनै युद्ध जितेर फर्किएको छु।

लौ हुन्छ भन्यौँ हामीले अनि हामी त्यहाँ उत्रेर एकछिन आफ्नो गफ गर्न थाल्यौँ।

उहाँले कतै फोन गर्नुभयो, फोन हामी नजिकैबाट गरिरहनुभएको थियो। एकछिन पछि उहाँको स्वरमा विश्वासभन्दा पनि आफ्नो कुराको समर्थन मागिरहनुभएको भान भयो। उहाँको स्वर र हाउभाउमा मेल नखाएको मैले भित्रबाट महसुस गरिरहेको थिएँ, मैले मनोविज्ञान पनि पढेको हुनाले यसको अन्दाज लगाउन सक्थेँ। उहाँले हाम्रो नजिक आएर फोनमा हामीलाई सुनाउने गरेर ठूलो स्वरमा भन्नुभयो- गाडीले छोएको छ होइन त?

अनि हामीलाई भन्नुभयो- तपाईँको गाडीले तीनवटा कोन फुटाएको देखियो। अब के लागिरहनु भनेर मैले के गर्नुपर्छ त हामीले भनेर सोधेँ, उहाँले यसको पैसा तिर्नुपर्छ, तपाईँहरु सिंहदरबार ट्राफिकमा आउनुस् भन्नुभयो।

दिपक सर पेशागत रुपमा राम्रो ज्ञान भएको वकिल। उहाँले म नजिक आएर भन्न थाल्नुभयो- फुटाएको नै छैन, सिसिटीभी नहेरी हुँदैन।

फेरि ट्राफिक भाइले फ्याट भन्नुभयो- सिसिटीभी हेर्नतिर नलाग्नू। पैसा तिर्नु नत्र फेरि तपाईँहरुलाई नै अप्ठेरो पर्छ है।

सुरुमा नै हाम्रो गल्ती छैन भन्ने हाम्रो विश्वासलाई यसले थप बलियो बनायो। अनि मैले सोचेँ- मसँग एकछिन भए पनि गाडीको अनुभव गर्न आउनुभएको सरहरुलाइ ढिला भइसक्यो। मलाई पनि मिटिङमा जानु छ, त्यसैले कुरा टुङ्याउनुपर्छ।

मैले भनेँ- हाम्रो मिटिङमा जानु छ, भोलि आउँछौँ, बरु चिट काट्ने हो कि के गर्ने हो गर्नुस्।

उहाँले भन्नुभयो- अहिले चिट काट्न मिल्दैन उतै (सिंहदरबारमा) जानुपर्छ।

मैले भनेँ- त्यसो भए अहिले लाइसेन्स लिनुस्, हामी भोलि आउँछौँ।

त्यसपछि उहाँले चिट नकाटी लाइसेन्स लिनुभयो. हामी त्यहाँबाट हिँड्यौँ।

भोलिपल्ट कक्षा सक्काएपछि दिपक सर र म बग्गीखाना गयौं। हाम्रो कुरा राख्यौँ र सिसिटीभी देखाउन अनुरोध गर्‍यौँ। त्यहाँको ट्राफिक भाइले भन्नुभयो- तपाईँहरुले सिंहदरबारबाट चिठी ल्याउनुहोस् अनि देखाउँला, अनि हामी त्यहाँबाट सिंहदरबारतिर लाग्यौँ।

त्यहाँको भाइले भन्नुभयो- तपाईँको कुरा बुझेँ, तपाईँको गाडीले एउटा कोन फुटाएको कुरा छ।

मैले मनमनै सोचेँ- हिजोसम्म तीनवटाको कुरा थियो अब सिसिटीभी हेर्ने भनेपछि एउटामा झरेछ, ठीकै छ फाइदा हुने भयो, यो कुरालाई अगाडि बढाएर समयको मात्रै बर्बादी हुने देखेर मैले भनेँ- भइहाल्यो त म पैसा तिर्दिन्छु कति लाग्छ?

त्यसपछि त्यो भाइले भन्नुभयो- पैसा तिरेर हुँदैन किनेर ल्याइदिनुपर्छ।

त्यहाँ एकछिन बसेर मैले मोबाइल अनलाइन गरेर फोन गरेको त त्यस्तो कोन बालाजुमा मात्रै पाइँदो रहेछ।

दीपक सरले फेरि भन्नुभयो- होइन सर, यसै दुःख, उसै दुःख, सिसिटीभी नहेरी किन तिर्ने? हामी जस्तो पढेलेखेको मानिस त्यसमा पनि वकिल जस्तो मान्छेले प्रमाणबिना यस्तो गर्न मिल्दैन। मलाई पनि ठीकै जस्तो लाग्यो र सिसिटीभी हेर्नको लागि चिठी बनाइदिनू भनेँ।

त्यसपछि त्यहाँको भाइले चिठी बनाइदिनुभयो, त्यो चिठीमा दुर्घटना भन्ने शब्द उल्लेख थियो। यसमा हामीले आपत्ति जनायौँ, दुर्घटना त भएकै छैन किन यो शब्द उल्लेख गरेको?

उहाँले भन्नुभयो- सर यही नै फर्म्याटमा छ। परिवर्तन गर्न मिल्दैन।

त्यसपछि हामी त्यहाँबाट बग्गीखाना गयौं र चिठी देखायौँ।

अनि त्यहाँको भाइले भन्नुभयो- यो सिसिटीभी हेर्ने यहाँबाट होइन। यसको लागि त तपाईँ रानीपोखरी जानुपर्छ।

त्यसपछि भने हामी शंकरदेव क्याम्पसबाट गाडी निकालेर रानीपोखरीको ट्राफिक कार्यालय गयौं।

रानीपोखरीको ट्राफिक कार्यालय म पहिलो पटक गएको थिएँ। गेटमा गएपछि त्यहाँको भर्खरको पुलिस भाइले के होला भन्नुभयो? मैले हाम्रो भित्र काम छ भन्यौँ। उहाँले गेट खोल्दिनुभयो।

त्यसपछि त्यहाँ गाडी पार्किड गरेर हामीले सिसिटीभी भएको कोठामा गयौं। हाम्रो सबै बेलिबिस्तार लगाएपछि तपाईँहरुले चिठी ल्याउनुभएको छ भनेर सोध्नुभयो।

हामीले देखायौं अनि झर्केर भन्नुभयो- खोइ तोक लगाएको? तोक लगाएकै छैन।

म फेरि अचम्मित भएँ- मेरो गाडीको गल्ती छ कि छैन भनेर हेर्नको लागि कति लामो प्रकृया हो। त्यही पनि पेशाले हामी प्रोफेसर जस्तो मान्छे, प्रक्रिया त हो नि भनेर बाहिर निक्ल्यौं अनि फेरि बाहिर लफडा भइसकेछ, गाडीलाई किन छिराको, अनि मलाई त्यो गाडी भित्र अर्को ठाउँमा पार्किङ गर्न भनियो। हाकिमको गाडी आएपछि समस्या पर्छ रे भनेर। मैले ठीकै छ भनेर गाडी सारिदिएँ।

अनि हामी दर्तामा गयौं। त्यहाँ पुगेपछि माथिबाट तोक नलगाई दर्ता गर्न मिल्दैन भन्नुभयो, त्यहाँ कुरिरहेको मान्छेलाई देखाएर उहाँहरु त पर्खिरहनुभएको छ भन्नुभयो। मैले त्यहाँ कुरिरहेको एकजना भाइलाई सोधेँ- के भएको हो तपाईँको?

उहाँले मलिन स्वरमा भन्नुभयो- मेरो छोरी हराइरहेको छ, हिजो स्कुल गाको अहिलेसम्म घर फर्किएको छैन।

अनि मैले सोचेँ- हाम्रो के समस्या विचराको यति ठूलो समस्या रैछ। अनि मलाई भित्रभित्रै रिस उठ्यो, मैले दर्ताको भाइलाई भनेँ- विचराको यति ठूलो समस्या छ के गरेको, जाबो एउटा सिसी टीभी हेर्न कति ठूलो प्रकृया बनाएको हो?

अनि ती भाइले भन्नुभयो- हो सर, हामीले पनि भनेको हो, यस्तो गर्न लागेको दुईतीन दिन भयो, हामीले यसो नगरौँ भनेको। माथिकै आदेश हो रे सर। हामीले भनेको कसले सुन्छ र? हाम्रो सरकारी प्रणाली नै यस्तै छ, म अरु सरकारी अफिसमा गयो भने आफैँलाई रिस उठ्छ। हामी के गर्न सक्छौँ र?

त्यसपछि दिपक सर माथि तोक लगाउने ठाउँमा जानुभयो र एकछिनमा आउनुभयो, अनि मैले मुसुक्क हाँस्दै सोधेँ- तोक लाग्यो त सर?

मलाई हतार छ भनेर हिँड्न लाग्नुभएको थियो, मेरो अधिवक्ताको लाइसेन्स देखाएपछि तोक लगाइदिनुभयो अनि त्यहाँ बस्नेहरुको पनि लगाइदिनुभएछ। त्यसपछि हामी सिसिटीभी भएको कोठामा गयौँ। हामी शंकरदेवको शिक्षकहरु हौं, दुःख पो पाइयो त भनेपछि ‘ए सरहरुले दुःख पाउनुभएछ ल बस्नुस् बस्नुस् भनेर कुर्सी दिनुभयो। अनि चाँडै हेर्न भन्नुभयो। त्यसपछि त्यहाँ हेर्दा त्यस्तो केही पनि देखिएन भन्नुभयो। अनि हामीले भन्यौँ- तपाईँहरुले चिठी बनाइदिनुस्। उहाँहरुले भन्नुभयो- केही पर्दैन यो चिठी यहीं छाड्नुस्, म विवरण लेखिदिन्छु, फोन गर्न लगाइदिनुस् भइहाल्छ। त्यसपछि हामी जति दुःख पाएपनि क्रिकेट जितेको खेलाडीझैं त्यहाँबाट निस्क्यौँ। अनि ढिला भइसकेको हुनाले भोलिपल्ट सिंहदरबार जाने विचार गर्‍यौँ।

भोलिपल्ट फेरि शंकरदेवमा कक्षा सकेपछि हामी सिंहदरबार गयौँ र रानीपोखरीमा भएको बृतान्त सुनायौं र लाइसेन्स दिन अनुरोध गर्‍यौँ। उहाँले फेरि रानीपोखरी फोन गर्नुभयो र अनि भन्नुभयो- तपाईँको गाडीले फुटाएको छ तिर्नुपर्छ।

हामीले मुखामुख गर्‍यौँ अनि भन्यौँ- सिसिटीभीले पनि देखाएको छैन।

अनि भन्नुभयो- होइन म क्लिप ल्याइदिन्छु।

हुन्छ तपाईँ क्लिप ल्याउनुहोस्, हामी भोलि आउँछौ भनेर फेरि हामी त्यहाँबाट हिँड्यौँ। भोलिपल्ट फेरि शंकरदेवमा कक्षा सक्काएपछि हाँस्दै मैले दिपक सरलाई भनेँ- जाने होइन त सर सिंहदरबार?

उहाँले जाने हो नि भन्नुभयो। अनि हामी सिंरदरबार गयौं। अनि ती भाइलाई क्लिप देखाउन भन्यौँ, त्यसपछि उहाँले भन्नुभयो- सर मैले क्लिप हेरेँ टाढाबाट खासै देखिएन, सँधै त सिसिटीभीले पनि कहाँ देखाउँछ र? ल भैहाल्यो यहाँ हस्ताक्षर गर्नुस्।

अनि लाइसेन्स दिएर पठाउनुभयो। आफ्नै लाइसेन्स फिर्ता पाउँदा मलाई लाग्यो- म कुनै युद्ध जितेर फर्किएको छु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?