कलेजमा भएर के गर्नू, तिनीहरु मसँग आउँदैनन्

कलेजमा भएर के गर्नू, तिनीहरु मसँग आउँदैनन्
+
-

एक समय म गुरुदेव राति नसुतेसम्म उहाँकै कोठामा हुन्थें। त्यस समय हामीहरु कहिले वरिपरिको समाज त कहिले राष्ट्रमा घटेका घटनाहरुका बारेमा चर्चा गर्दथ्यौं। सानैदेखि समाचार सुन्ने गरेको हुँदा समसामयिक घटनाहरुको मलाई अलिक बढी चासो र खोजिनीति हुन्थ्यो। त्यसबेला पनि म नियमितरुपमा बेलुकीको बिबिसी, नेपाली सेवा सुन्ने गर्दथें। गुरुदेव आफैं भने समाचार सुन्न र हेर्न मन पराउनुहुन्न थियो । ‘समाचारमा केवल नकारात्मक कुराहरु मात्र हुन्छन् के सुन्नु ?’ भन्नुहुन्थ्यो । म पनि गुरुदेवका अगाडि हत्तपत्त समाचार सुन्दिनथिएँ । ओल्टोकोल्टो लाग्ने गर्थें । गुरुदेव अरुहरुले भनेको खबर भने सुन्नुहुन्थ्यो । मैले पनि खबर सुनाउने गरेको हुँदा, ‘तँसँग कुरा गर्दा आनन्द आउँछ ।’ भन्नुहुन्थ्यो । त्यतिमात्र होइन गाउँमा कुनै नौलो घटना घट्यो भने पनि म गुरुदेवलाई सुनाइदिन्थें । कोही साह्रै बिमारी भयो, कसैको मृत्यु भयो, कसैको बिबाह भयो, कसैको सन्तान भयो भने पनि म गुरुदेवलाई बताइ हाल्थें । ‘तँ गाउँभरिको खबर राख्छस् कि के हो ?’ मलाई प्रश्न गर्नुहुन्थ्यो ।

एकपटक यस्तै मैले उत्साहले खबर सुनाउँदा गुरुदेवले अनौठो जवाफ दिनुभएको सम्झना छ । त्यसबेला गुरुदेव शिवपुरी ओख्रेनीमा केही समयका लागि बस्न जानुभएको थियो । म उहाँसँग भेट गर्न बूढानीलकण्ठबाट त्यहीं पुगेको थिएँ । जहाँ बसे पनि गुरुदेव आफ्नो स्वभावले केही न केही कर्म गर्नुहुन्थ्यो । त्यसबेला पनि आफू त्यहाँ बसेको समयमा गरेका कामहरु देखाउनुभयो । त्यहाँको जमिनलाई खनेर चौडा बनाउनु भएको रहेछ । मलाई भन्नुभयो, ‘मैले यति फराकिलो पारिसकेको छु कि यहाँ हेलिकप्टर पनि आएर बस्न सक्छ ।’ कुरै कुरामा मैले गुरुदेवको सङ्गत पाएर हुर्किएका एकजना युवकले बिबाह गरेको खबर सुनाएँ । मेरो खबर सुनेर गुरुदेवले जवाफ दिनुभयो, ‘बिबाह नगरी बस्नु पो अप्ठेरो हो त । बिबाह गर्नु कुन ठूलो कुरा हो ? तँ भन म अहिले यो गाउँका दशजना केटीहरुसँग बिबाह गर्न सक्छु । गरौं ?’ मैले हाँसेर भनें, ‘त्यो त पर्दैन ।’

राति हाम्रा कुराकानी सकिएपछि गुरुदेव आफ्नो खाटमा सुत्न जानुहुन्थ्यो । एकदिन उहाँले मलाई आफ्नो खुट्टा थिच्न भन्नुभयो । मैले हातैले उहाँको खुट्टा थिचें । मैले जोर लगाएर थिच्न नसकेको हुनुपर्छ ‘तेरो हातमा शक्ति कम रहेछ । खुट्टाले थिच ।’ भन्नुभयो । शुरुमा त अलिक सङ्कोच लाग्यो । तर उहाँले नै आज्ञा गर्नुभएको हुँदा उहाँलाई ढोगेर म उहाँका खुट्टामा चढेर थिच्न थालें । खुट्टाले थिच्दा धेरैजसो उहाँको कम्मरसम्म मात्र थिच्थें । खुट्टा चिप्लिएर लड्ने पो हुँ कि भनेर दाहिने हातको पञ्जाले भित्ताको सहारा लिन्थें । कहिले कहिले भने गुरुदेवलाई अलिक जोश चलेका बेलामा पूरै शरीरलाई थिच्न भन्नुहुन्थ्यो । त्यसबेला पहिले उहाँ घोप्टो परेर सुत्नुहुन्थ्यो । उहाँको खुट्टाबाट शुरु गरेर म पिंडुला, जङ्घा, कम्मर, ढाड हुँदै माथि घाँटी सम्म पुग्थें । त्यसपछि उहाँ दुबै हातहरु फैलाउनु हुन्थ्यो । हातका बाहु र पाखुरा हुँदै म औंलाका टुप्पासम्म आइपुग्थें । यसै गरी उहाँ फेरि चित पर्नुहुन्थ्यो । म खुट्टाले थिच्दै पेट हुँदै छातीसम्म पनि थिच्थें । अनि ओर्लिएर फेरि उहाँलाई ढोग्थें । यति गरिसकेपछि कोठाको बत्ती निभाएर म बाहिरबाट नै ढोका ढप्क्याएर आफ्नो कोठामा जान्थें ।

गुरुदेव सुत्ने खाटको सिराननेर स्टिलको एउटा सानो गोलो बट्टा थियो । त्यो बट्टामा सिम्रिकमा राखिएको बाहिरबाट हेर्दा रौंमात्र देखिने खैरो रङ्ग भएको एउटा सानो बस्तु थियो । मैले त्यसलाई कहिले पनि छोएर भने हेरिंन । हाम्रो समाजमा के विश्वास छ भने स्याल कराउँदाखेरि उसको टाउकोमा सिङ पलाउँछ । गुरुदेवले भन्नुभए अनुसार एकपटक उहाँ भारत बङ्गालबाट काठमाडौं फर्किएर आउँदा काँकडभिट्टामा एउटा मानिससँग भेट भएको थियो । ती मानिस यस्तै विभिन्न जीवजन्तुहरु नचाउने गर्दथे । गुरुदेवले त्यसबेला उनलाई, ‘मलाई अहिले अर्थको आवश्यकता परेको छ । तिमीले कुनै उपाय बताइदिनसक्छौ ?’ भन्नुभएको रहेछ । गुरुदेवको अनुरोधलाई मानेर उनले त्यो वस्तु स्यालको सिङ भनेर दिएका रहेछन् । अझ उनले त्यो स्यालको सिङलाई सिम्रिकमा राख्ने र हरेक सोमबार राति त्यसमा अगरवत्ति बालेर धूवाँ दियो भने अर्थ लाभ हुने कुरा बताएका रहेछन् । मलाई गुरुदेवले हरेक सोमबार त्यो बट्टामा धूप दिन भन्नुभएको थियो । सोही अनुसार म गुरुदेवसँग बिदा भएपछि हरेक सोमबार राति त्यो बट्टामा धूप दिने गर्दथें । त्यसको परिणाम कति धन प्राप्त भयो त्यो त म भन्न सक्दिन तर गुरुदेवले इच्छा गरेका कामहरु भने उहाँको जीवनकालमा पैसाकै कारणले भने अड्किएको मैले देखिँन । दुःखको कुरा एकपटक म केही दिन बङ्गालको भ्रमण गरेर फर्किएपछि भने गुरुदेवको कोठामा त्यो बट्टालाई देखिंन ।

म जुन समयमा यस आश्रममा आएको थिएँ त्यसबेला यहाँ व्यवस्थापन हेर्ने कुनै एउटा पात्रको आवश्यकता खट्किएको छ भन्ने कुरा प्रष्ट बुझ्न सकिन्थ्यो । गुरुदेव एक सिद्ध तपस्वी हुनुभएको हुँदा उहाँसँग आउने महानुभावहरुको मुख्य उद्देश्य हुन्थ्यो – धर्मचर्चा । धर्मचर्चाका अतिरिक्त गुरुदेव मानिसहरुका साथमा शिक्षा, संस्कार, व्यक्तित्व विकासका कुराहरु पनि गर्नुहुन्थ्यो । गुरुदेव आफैं गीत लेख्नुहुन्थ्यो । ती गीतमा सङ्गीत दिनुहुन्थ्यो र आफैं गाउनु पनि हुन्थ्यो । आश्रममा आउने भक्तहरुका साथमा धर्म दर्शन चर्चा गरिसकेपछि गुरुदेव आफूद्वारा रचित भजनहरु आफैंले भायलीन बजाएर आफ्नै स्वरमा गाएर सुनाउनु पनि हुन्थ्यो । यदि गुरुदेव चित्र बनाउँदै हुनुहुन्छ भने कुरा गर्ने र चित्र बनाउने काम सँगसँगै हुन्थ्यो । अति व्यस्त समय हुन्थ्यो गुरुदेवको । गुरुदेव जुन किसिमका निष्काम र सूक्ष्म कर्महरु गर्नुहुन्थ्यो त्यसका लागि उत्तिकै एकाग्रता र चिन्तनको आवश्यकता पनि पर्थ्याे। तर जगत भनेको व्यवहारले चल्ने कुरा हो। यदाकदा गुरुदेव यस्तै कर्महरुमा व्यस्त भएको समयमा आश्रममा काम गर्ने मानिसहरु कुनै भौतिक कुरा किन्नका लागि गुरुदेवसँग पैसा माग्न पनि पुगिहाल्दा रहेछन्। अथवा उनीहरु ‘यस्तो कुराको खाँचो थियो ।’ भनेर सुनाउँथे।

गुरुदेव आफैं भन्नुहुन्थ्यो, ‘मेरो शनि कमजोर भएको हुँदा मसँग पैसा धेरैवेरसम्म अडिन नै सक्दैन।’ साँच्चै हो पनि गुरुदेवलाई कसैले कुनै कुरा दानका रुपमा दियो भने त्यो पैसा सकिनका लागि धेरै बेर नै लाग्दैन थियो। पछि चाहिन्छ, जोगाएर राख्नुपर्छ भन्नेकुराको गुरुदेवले सायदै कहिल्यै अभ्यास गरेको हुनुपर्छ। यो अभ्यास गुरुदेवले आफ्नो जीवनको अन्तकालसम्म पनि गरिरहनुभयो। विमारी भएको समयमा पनि उहाँलाई कसैले केही दियो भने अगाडि जो छ उसलाई दान दिनुहुन्थ्यो। दानमा उहाँको ठूलो विश्वास थियो।

म त्यसबेला भर्खर आश्रममा बस्न थालेको मात्र थिएँ । खालि यस्तो भइरहेको मलाई थाहा हुन्थ्यो तर म केही गर्न पनि सक्दिन थिएँ। अनि गुरुदेव आफ्नो अप्ठेरो व्यक्त गर्नुहुन्थ्यो, ‘म आश्रममा आउने मानिसहरुका साथमा धर्म दर्शनका कुराहरु गरिरहेको हुन्छु । त्यसबेला मलाई जीरा सकियो, मेथी सकियो, चामल सकियो, दाल सकियो ….’ भनेर सुनाइ रह्यो भने काम गर्न अप्ठेरो हुन्छ नि। आश्रममा मानिसहरु धर्म दर्शन चर्चा गर्न आउँछन्। म खाली यस्तै व्यवहारमा नै फसिरहें भने मानिसहरुसँग कसरी कुरा गर्ने? यस्ता कामहरु त चेलाहरुले गर्न पर्ने हो।’ त्यसबेला कतिसम्म हुन्थ्यो भने शैक्षिक सत्रको अन्तसम्म पुग्दा शिक्षक कर्मचारीहरुलाई दिने तलब पनि विद्यालयमा हुँदैन थियो। त्यस अवस्थामा हामी कोही न कोही गुरुदेवका भक्त अथवा आश्रमका शुभचिन्तकसँग पैसा सापटी मागेर तलब दिन्थ्यौं र विद्यालयको भर्नाको समयमा उठेको पैसाबाट फेरि त्यो ऋण चुक्ता पनि गरिदिन्थ्यौं।

बाहिरबाट झट्ट हेर्दाखेरि भने आश्रममा त्यसबेला अभाव नै देखिन्थ्यो। गुरुदेव आफैं भन्नुहुन्थ्यो, ‘मेरो शनि कमजोर भएको हुँदा मसँग पैसा धेरैवेरसम्म अडिन नै सक्दैन।’ साँच्चै हो पनि गुरुदेवलाई कसैले कुनै कुरा दानका रुपमा दियो भने त्यो पैसा सकिनका लागि धेरै बेर नै लाग्दैन थियो। पछि चाहिन्छ, जोगाएर राख्नुपर्छ भन्नेकुराको गुरुदेवले सायदै कहिल्यै अभ्यास गरेको हुनुपर्छ। यो अभ्यास गुरुदेवले आफ्नो जीवनको अन्तकालसम्म पनि गरिरहनुभयो। विमारी भएको समयमा पनि उहाँलाई कसैले केही दियो भने अगाडि जो छ उसलाई दान दिनुहुन्थ्यो। दानमा उहाँको ठूलो विश्वास थियो।

म आश्रममा सधैंका लागि बस्ने गरी आउनुभन्दा पहिले पनि कहिले कहिले रात बस्दै आउँथे। दिउँसो पनि फुर्सदको समयमा गुरुदेवकोमा गएर उहाँसँग कुराकानी गर्थें। एकदिन कुराकानीका क्रममा मलाई गुरुदेवले भन्नुभएको थियो, ‘मसँग एउटा त्यागी नेपाली केटा हुन्थ्यो भने समाजका लागि धेरै कामहरु गर्न सकिन्थ्यो।’ म केवल गुरुदेवका कुरा सुन्थें मात्र।

आश्रममा आएको दिनदेखि नै म कसो कसो गरेर आश्रमका व्यवहारिक कामहरुमा संलग्न हुन थालें। गुरुदेवको इच्छा र यहाँको आवश्यकताले गर्दा नै म यहाँ आइपुगेको हो कि जस्तो लाग्थ्यो कहिले कहिले। मैले व्यवहारिक कामहरु हेर्न थालेपछि गुरुदेवलाई केही न केही सजिलो भएको हुनुपर्छ। मेरो प्रशंसा गर्दै केही भन्नुभयो भने म बीचैमा भनिहाल्थें, ‘गुरुदेव हजूर कलेजहरुमा जानुभयो भने हरेक दश जनामध्येबाट म जस्तो एउटा केटा निकाल्न सक्नुहुन्छ। म के हुँ र!’ केही समय त गुरुदेवले मेरो यो प्रतिक्रियामा कुनै पनि जवाफ दिनुभएन। तर घरिघरि मैले यो तर्क दिन थालेपछि एकदिन गुरुदेवले पनि उस्तै जवाफ दिनुभयो, ‘कलेजमा भएर के गर्नू तिनीहरु तँजस्तो मसँग आउँदैनन्!’

आरम्भका दिनमा मेरो समस्या के थियो भने कसैसँग पनि केही कुरा माग्न साह्रै सङ्कोच लागिरहन्थ्यो। कसरी माग्ने, मानिसहरुले के भन्छन् होला यस्ता यस्ता कुराहरु मनमा खेलिरहन्थे। मेरो मनोबल उच्च बनाउनका लागि गुरुदेव आफूले काँशीमा भिक्षाटन गरेको प्रसङ्गहरु सुनाउनुहुन्थ्यो। ‘माग्न नसक्ने व्यक्ति साधु नै हुन सक्दैन।’ भन्ने उहाँको मन्तव्य थियो।

यस विषयमा म अलिक कमजोर छु भन्ने कुरा गुरुदेवलाई लागेको हुनुपर्छ। ‘मैले लेखेको किताबको एक पेज पनि पढेर मानिसहरुका साथमा चर्चा गर्न सक्ने हो भने उनीहरु त्यसै खुशी हुन्छन्। खुशी भएको मानिस आफैं नै म के गर्न सक्छु भनेर अगाडि आउँछ।’ पाएको शिक्षालाई व्यवहारमा ल्याउन समय लाग्दो रहेछ। गुरुदेवले भन्नुभएका यी वाक्य मेरा लागि जीवनभरि उपयोगी बनिरहे।

म गुरुदेवसँग सुरुसुरुमा कुनै आवश्यकता पर्यो भने माग्न गई नै हाल्थें। अरु केही उपाय पनि हुँदैन थियो। एकदिन यसैगरी केही काम गर्न पर्यो भनेर मैले गुरुदेवसँग पैसाको आवश्यकता बारेमा कुरा गरेको थिएँ। गुरुदेवले आफ्नो पैसाको झोला हेर्नुभयो। त्यसमा सायद पैसा थिएन क्यार। मैले फेरि पनि पैसाको कुरा गर्दा मलाई जवाफ दिनुभयो, ‘तैंले पनि मेरो जस्तै दारी फुलेपछि थाहा पाउँछस् पैसा जुटाउन कति गाह्रो काम हो भनेर ।’

 

२०८१ वैशाख ८

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?