
काठमाडौँ – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्। सभामुखले बैठकमा गृहमन्त्री रवि लामिछानेले बोलिसकेपछि अरु सांसदलाई बोल्नै नदिई बैठक स्थगित गरेका हुन्।
बैठकमा गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। गृहमन्त्री लामिछानेले बोलिसकेपछि कांग्रेस सांसदहरु उठेर बोल्नका लागि समय माग गरेका थिए। तर, सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाइएको घोषणा गरे।
बैठक अगाडि बढाउने परिस्थिति नरहेको भन्दै सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाएको बताए। नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेताले संसदमा गृहमन्त्रीले बोलिसकेपछि आफ्नो धारणा राख्ने तयारी गरे पनि बोल्न नदिई बैठक स्थगित भएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।