
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको बताउँदै विश्वासको मत मागेका हुन्।
प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबीसमेत गरे।
कांग्रेसको अवरोधका कारण १५ मिनेटका संसद् बैठक स्थगितसमेत भएको थियो। त्यसपछि पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका हुन्। यसैबीच प्रधानमन्त्रीले प्रस्ताव पेस गरे।
उक्त प्रस्तावमाथि छलफल गर्नका लागि सभामुख देवराज घिमिरेले १ घण्टाको समय दिएका छन्। यतिबेला सत्तापक्षीय नेकपा एमालेका सांसद विष्णु पौडेलले विश्वासको मतका सम्बन्धमा सम्बोधन गरिरहेका छन् भने प्रतिपक्षले नाराबाजी गरिरहेका छन्।