
पोखरा – देशकै दोस्रो ठूलो पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ। विश्वविद्यालय स्थापनाको २६ वर्षपछि शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो।
तीन वर्ष पहिले अस्पताल सञ्चालनको अनुमति लिएको विश्वविद्यालयले पोखरा महागनरपालिका–३० खुदीमा केन्द्रीय कार्यालयसँगै अस्पताल सञ्चालन गरेको छ।
गण्डकी प्रदेश सरकारले अनुमति दिएको एक सय शैय्या क्षमताको अस्पताल मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे। मुख्यमन्त्री अधिकारीले अस्पताल सञ्चालनसँगै भरपर्दो र विश्वसनीय सेवा दिनुपर्ने बताए।
अब तीन सय शैय्याको अस्पताल सञ्चालन गरेर स्नातकको अध्ययन थाल्न उनको सुझाव छ। ‘तीन सय शैय्याको अस्पताल नभइकन स्नातक तह पढ्न पाउँदैनन् मेडिकल साइन्समा एमबिबिएस भन्छौँ। त्यसकारण अब दुई वर्षमा त अस्पताल सय बेडको बनाउनुभो। तीन सय बेडको बनाउन बाँकी दुई वर्षमा तपाईहरु जसरी लाग्नुहुन्छ पूरा साथ हाम्रो रहन्छ’, मुख्यमन्त्री अधिकारीले विश्वस्त पारे।
उनले लेखनाथमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सरुवा तथा संक्रामक रोग अस्पातलसँग मिलेर एमबिबिएसको पढाइ थाल्न सक्ने बताए। मुख्यमन्त्री अधिकारीले स्वास्थ्योपचारका लागि आफ्नो प्राथमिकता सरकारी अस्पताल नै रहने दाबीसमेत गरे।
विश्वविद्यालयका विद्यार्थीले अन्य अस्पताल धाएर इन्टर्नसीप गर्नुपर्ने अवस्थाको अन्त्य मात्रै नभएर लेखनाथ क्षेत्रका जनाताको स्वास्थ्य सेवामासमेत टेवा पुग्ने विश्वविद्यालयको दाबी छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले नेपाल सरकारले अन्य विश्वविद्यालयको तुलनमा पोखरा विश्वविद्यालय सञ्चालनमा फरक नीति अवलम्बन गरेको असन्तृष्टि पोखे।
उनका अनुसार विश्वविद्यालयलाई उपलब्ध गराउने अनुदान घटाइएको छ। अन्य विश्वविद्यालयले खर्चको ८० प्रतिशत अनुदान पाउँछन् भने पोखराले १० प्रतिशत मात्रै अनुदान पाउने अर्यालले बताए।
उनले भने, ‘जनताको सहभागितामा सञ्चालन गर्ने भनेको छ। अरु विश्वविद्यालयले अनुदान बढी पाउँछन्। मेरो निवेदन छ, अनुदान यो विश्वविद्यालयलाई पनि बढाइनुपर्छ।’
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले २०७९ भदौबाट बहिरंग सेवा सुरुआत गरेको हो। बालरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, दन्त चिकित्सालगायतका सेवा अस्पतालबाट प्रदान भइरहेको निर्देशक दीपेन्द्रकुमार यादवले बताए।
अस्पतालमा हाल ४० कर्मचारी कार्यरत छन्। ६ जना कन्सल्टेन्ट डाक्टर, मेडिकल अफिसर ६ जना र डेन्टल अफिसरलगायत प्रयोगशालातर्फ जनशक्ति व्यवस्थापन गरिएको अस्पताल प्रसाशनले जनाएको छ।
चौबिसैं घण्टा आकस्मिक सेवा दिइरहेको अस्पतालमा औषधि, रेडियोलोजी र इसिजी सेवा उपलब्ध छ।
हेल्थ साइन्सतर्फ चिकित्सा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, विपीटी, विएस्सी नर्सीङ, विएनएसमा पठनपाठन हुँदै आइरहेको छ। अस्पतालले शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आइसियू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको छ।