
सिमकोट – जिल्लामा छुटेका दुई हजार ७१४ बालबालिकालाई आईपिभी खोप लगाईने भएको छ। यो खोप कार्य जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटामा एक साथ सञ्चालन हुनेछ।
२०७३ देखि २०७५ सालसम्म उक्त खोप लगाउने छुटेको पाँचदेखि आठ वर्ष उमेर समुहका बालबालिका दुई हजार ७१४ जना रहेको र उनीहरु सबैलाई खोप लगाईनेछ। खोप अभियान सञ्चालन गर्नका लागि १४३ जना स्वास्थ्यकर्मी २८६ जना स्वास्थ्य स्वयम सेविका र १४३ जना शिक्षकलाई परिचालन गरिनेछ। सबै खोप केन्द्रमा जेठ १३ गतेदेखि १९ गतेसम्म खोप लगाउने कार्यतालिका तय गरिएको छ।
आईपिभी खोप सुईबाट लगाईनेछ। यो खोप लगाउने क्रममा बालबालिकालाई दुख्ने, रातो हुने, सुनिने, ज्वरो आउने, एलर्जी हुने संभावन हुने र जो आफै निको हुनेछ। केही गरि खोप अवधिमा बालबालिका बिरामी भई हालेको अवस्थामा दक्षिणी क्षेत्रमा हेर्ने गरि एक जना चिकीत्सकको नेतृत्वमा टोली खटाईने छ भने दक्षिणी क्षेत्रका लागि अर्को टोली अनुगमनका लागि खटाईने छ। खोपका लागि ५३० भायल भ्याक्सिन जिल्लामा आई पुगेको छ। जिल्लाका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको समन्वयमा सात वटै गाउँपालिकाकाका ४४ वडाका १४३ विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालयका प्मुख प्रेमबहादुर सिंहले जानकारी दिए।

Exif_JPEG_420
यसमा नाम्खा गाउँपालिका १५ वटा, सिमकोटमा २६ वटा, खनर्पुनाथमा १७ , सर्केगार्डमा ३० वटा चङ्खेली गाउँपालिकामा २२ वटा, अदानचुलीका १७ र ताँजाकोटका गाउँपालिका १६ वटा खोप केन्द्रहरु निर्धारण गरिएको छ। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले खोपलाई सफल बनाउनु पर्ने बताए। छुटेका बालबालिकाहरुका लागि यो खोप महत्वपुर्ण भएको कारण गाउँपालिका र अभिभावकले सहयोग गर्नु पर्ने उनको भनाई थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले खोप कार्यक्रम बालबालिकाका लागि निक्कै महत्वपुर्ण भएको कारण यसलाई सफल पार्ने कार्य सबै क्षेत्र लाग्नु पर्ने बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका कावा प्रमुख सरिता रावत, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सुरक्षा निकाय, सञ्चालकर्मी लगाएको सहभागीता रहेको थियो। बुधबार उक्त खोप बारे जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो।