पोखरा – भय बोकेर मोदीखोला गड्गडाउँदै बगिरहेको छ। मोदीखोलाको माथिपट्टि छंगाछुर भीरमा भीरौटेहरु बलियो रुख खोज्दै छन्।
एउटै गल्तीले मोदीखोलाको पानीसँग मिसिने जिन्दगीलाई दाउमा राखेर ६१ वर्षीय खड्गबहादुर गर्बुजामगर खुब दौडधुप गरिरहेका छन्। सिमसिमे पानीले उनको टोलीलाई रोकेको छैन। टोलीमा दर्जनको हाराहारीमा सिकारी र भिरौटेहरु छन्।
एकछिनमा भीरमा एउटा रुख फेला पर्यो। निगाँलोको चोया बाटेर बनाएकोे डोरी (पराङ) फनफनी बेरेर खड्गप्रसादले कसे। भिजाएर ल्याइएको पराङ जोडजाड पारेर भीरमा फाल्दासम्म आँधा घण्टा बढी समय बित्यो।
त्यसपछि सुकेका निगालोको सिटोमा हरियो उनियो मिसाएर आगो झोसेर धुवाँको मुस्लोसहित भीरमा फ्याँकियो। सँगै खड्गबहादुरले आत्ममा रहेको डरको पोको मोदीखोलामा भीरबाट मिल्काइदिए। आफैंसँग भएको आत्मविश्वास जुगाँड गरेर पराङमा रोचाले बाँधेर उनी छंगाछुर भीरमा विस्तारै झरे।
भीरमा पस्नु अघि लाभा भुटेर छरियो। देवीदेवता पुकारेर भनियो, ‘कसैलाई मौरीले नटोकेस्। चोटपटक नलागोस्। सबैलाई सुरक्षित साथ राख्नुस्। सुरक्षित साथ घर फकाइदिनुस्।’
अत्यास लाग्दो भीरमा डोरीमा झुन्डिएर खड्गबहादुरले बुधबार भीर मौरीको मह सिकार गरे। भीर माथि बस्ने भिरौटेहरु उनले सिकार गरेको रसिला महका चाका डोरीले तान्दै भाँडोमा खन्याउँथे। बुधबार दिउँसो झन्डै ४ घण्टा देख्नेलाई पनि अत्यासलाग्दो भीर चर्हादै उनले महको सिकार गरिरहे। टन्टलापुर घाममा हिम्मतवाला खड्गबहादुरले मौरीसँग पैंठोजोरी खेल्दै मह निकालिरहे।
ज्यान हत्केलामा राखेर खड्गबहादुरले भीरमौरीको मह सिकार गर्न थालेको चार दशक बित्यो। २० वर्षको उमेरमा उनले पहिलो पटक मोदीखोला (कोटेसाङ) को भीर चाहेरेर मह काँढेका थिए। त्यसपछि त उनी वर्षेनी जसो भीर मौरीको मह सिकार गर्छन्। बीचमा ६ वर्ष पैसा कमाउने ध्याउन्नमा गाउँ छाडेर भारत पसे। फर्किएपछि फेरि उनले पुरानै पेसा भीर मौरी सिकार गरिरहेका छन्।
उनी भन्छन्, ‘एकदम जोखिमकै हो काम त। तर, जोखिम भए पनि पहिला कतै रोजगारमा प्रोसेस गरिएन। गाउँघरमै बसेर यही काम गरियो। काममा खुशी नै छ।’
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुक गाउँमा भीर मौरीको मह सिकार गर्ने परम्परागत पेशा नै हो। फरक छ त पहिला महको जोरजाम गर्न भीर चढ्थे अहिले पर्यटक लोभ्याउन।
गाउँका पाका पुस्ता भीर मौरी मह सिकारमा खप्पिस थिए। तिनैको पछिपछि लागेर खड्गबहादुरको पुस्ताले डरलाई जितेर मह सिकारको काम सिकेका हुन्। केही वर्ष भीर चढ्ने सिकारीको सहयोगी भएर काम गरेपछि उनलाई विश्वास गरेका थिए रे। ‘बुढा पार्टीले भन्नुभो खड्गबहादुरलाई भीरमा छोड्दिने हो भने मह काँढ्न सक्छ’, उनी सम्झन्छन्, ‘उनैले सिकाए र काम गर्न लागेँ। उनलै दिएको अनुभवले सिकियो, जानियो।’
अहिले फेरि उनले सिकाएका भीरौटेहरु छन्। जो उनलाई सघाउनेदेखि भीरमा चढ्न सिपालु।
खड्गबहादुरको अनुभवले डरलाई जित्ने आफैंले हो भन्छ। जो डराउँछ उसले भीर मौरीको मह सिकार गर्नै सक्दैन।
‘सुरुमा भीरबाट हेर्दा अलि अलि डर त लाग्ने नै भो। जब हाम्ले आफ्नो कम्मरमा बेल्ट बाँधेर डरको आत्मा बाहिर नफाल्ने हो भने त हामी त्यहाँ गएर काम गर्नै सकिन्नँ’, उनी भन्छन्, ‘पराङबाट उँधो जाँदा त सिरिङग कहालीलाग्दो हुन्छ। तर, हामीले तल हेर्ने होइन। आफ्नो मनमा धुनमा के काम गर्न हिँड्दै छु र मैले के गर्नपर्छ? मह उँधो खस्यो भने खेरा जान्छ त्यसलाई सदुपयोग गरेर कसरी उँगो लाने त्यो बुद्धि मात्रै गर्ने हो।’
मह सिकारको गफमा घुलिएका उनले थपे, ‘हामी जाने बेला ठाडो भीरमा आँँखा यताउता हेर्ने होइन। त्यो भीरमा नै हेरेर एकसुरले ढुक्क सम्ममा हिँडेजस्तो तरिकाले मन ढुक्क गरेर जानपर्छ। त्यसो भएपछि अत्यास पनि लाग्दैन।’
पहिला भीरमा मह काढ्न पस्दा अत्यास लाग्ने गरेर मौरीले टोकेका यादहरु पनि उनीसँग छन्। अहिले स्रोत र साधन पर्याप्त हुँदा मौरीले टोक्ने सम्भावना कम हुन्छ। सञ्चार भने इशारा काफी भएको छ।
‘पहिला त हाम्ले लगाउने कोराको कपडा बाँधेर मुख मात्रै देखाएर काट्थ्यौँ। कछाड मात्रै लाउने भएकाले जताततै टोक्ने सम्भावना हुन्थ्यो। अहिले त कतैंबाट टोक्न पाउँदैन। टोक्यो भने हातमा मात्रै हो’, उनले सुनाए।
साहसी खड्गबहादुरलाई मौरी काँढ्न छिमेकी गाउँमा पनि डाँक्छन्। घान्द्रुक, भीरचोक, तोल्काका भीर उनलाई आफ्नै लाग्छ। मौरीजस्तै कर्मी बनेर उनले मह संकलन गर्छन्। हत्केलामा ज्यानको बाजी राखेर अक्करे भीर चहार्ने उनलाई दिनको ७ हजार रुपैयाँसम्म पारिश्रमिक दिन्छन्।
उमेरको अंक उकालो चढिरहेको छ। कपाल सेतै फूलेका छन्। छाला खुम्चदै छ। जोश जाँगर उस्तै भर्रभराउँदो युवा बेलाको जस्तो। ‘पहिला जस्तो उत्तिकै लाग्छ अहिलेलाई। अब आइन्दा कसो हुन्छ? अहिलेलाई ऊ पहिलाको जमानाकै जस्तो जोश आउँछ’ , उनी आत्मविश्वासी सुनिए।
उनले कान्छो छोरालाई पनि सिकाएका छन् भीर मौरीको सिकार गर्न। एक दुई घार बाउछोरासँगै मिलेर सिकार गरेको बताए। जेठो छोराले जोखिम मानेर काम सिक्न चाख गर्दैनन् रे। जोखिम मोलेर भीरमा रमाएका उनलाई लाग्छ, ‘हाम्रो बाउ पूर्खाबाटै गरेको काम छोड्दैनन् होला छोरानातीले।’
‘२० वर्षबाट अहिलेसम्म काटे। अझै दुई चार वर्ष त काटुलाँ भन्ने अनुमान छ’, खिस्स हाँस्दै उनले सुनाए।
लान्द्रुकमा पछिल्ला वर्षमा मह सिकार (हनि हन्टिङ) लाई उत्सवकै रुपमा मनाइन्छ। यो वर्ष मंगलबारदेखि बिहीबारसम्म तेस्रो संस्करणको लान्द्रुक हनि हन्टिङ महोत्सव भएको छ। लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिलाई अन्नपूर्ण गाउँपालिकाको कार्यालयले सघाएको छ।
पहिलो दिन मंगलबार पारेर मह सिकारको साइत निकाल्नुपर्छ। मंगलबार मह नै नकाँढे पनि भीरको पूजा गर्नुपर्ने रिवाज छ। मंगलबारका दिन भीरको नजिकै आठ वटा लिंगो काढेर पूजा गर्ने परम्परागत चलन रहेको पुजारी गिरिधारी पौडेले बताए।
सिद्धबराह, भिमसेन, जंगवीरलगायतका देवीदेवता सम्झेर पूजा हुन्छ। खोलामा हुने सियो, मसान भूत, मरिमसानलाई चोटपटक र क्षति नहोस् भनेर फूलपाती चढाइन्छ। र बल्ल भीरमा चढ्ने गरिन्छ। ‘पूजा गर्यो भने मौरीले धेरै नटोक्ने, चोटपटक लाग्दैन’, उनले भने, ‘पशुपतिलाई पूजा गर्दाजस्तो आत्मबल बढेजस्तै हामीले नि यहाँका पूर्खालाई सम्झेर पूजा गर्छौं।’
मह सिकारी मेमप्रसाद गुरुङका अनुसार वर्षमा तीन पटकसम्म भीरमौरीको सिकार हुन्छ। कात्तिक, फागुन र जेठमा मह काँढ्ने गरेको उनी बताउँछन्। ‘कात्तिकमा मह बाक्लो हुन्छ। जेठको पातालो’, उनले भने।
भीरमौरीको मह लिटरको तीन हजार रुपैयाँमा खोसाखोस हुने उनले बताए। उनले भने ‘मह काढ्ने भनेपछि अर्डर आइहाल्छ। भीरको भएकाले खोसाखोस हुन्छ।’
यो सिजनमा मोदीखोला भीरमा एक दर्जन बढी मौरीको घार छ। एउटा घारबाट कम्तिमा १० लिटर मह काढ्ने अनुमान गरिएको छ।