
सिमकोट – आइतबारबाट जिल्लामा छुटेका दुई हजार ७१४ बालबालिकालाई आईपिभी खोप लगाईने भएको छ। यो खोप कार्य जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटामा एक साथ सञ्चालन हुनेछ।
२०७३ देखि २०७५ सालसम्म उक्त खोप लगाउने छुटेको पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिका दुई हजार ७१४ जना रहेको र उनीहरु सबैलाई खोप लगाईनेछ।
खोप अभियान सञ्चालन गर्नका लागि १४३ जना स्वास्थ्यकर्मी २८६ जना स्वास्थ्य स्वयम सेविका र १४३ जना शिक्षकलाई परिचालन गरिनेछ। सबै खोप केन्द्रमा जेठ १३ गतेदेखि १९ गतेसम्म खोप लगाउने कार्यतालिका तय गरिएको छ। आईपिभी खोप सुईबाट लगाइनेछ।
यो खोप लगाउने क्रममा बालबालिकालाई दुख्ने, रातो हुने, सुनिने, ज्वरो आउने, एलर्जी हुने संभावना हुने र जो आफै निको हुनेछ। केही गरि खोप अवधिमा बालबालिका बिरामी भई हालेको अवस्थामा दक्षिणी क्षेत्रमा हेर्ने गरी एक जना चिकीत्सकको नेतृत्वमा टोली खटाईने छ भने दक्षिणी क्षेत्रका लागि अर्को टोली अनुगमनका लागि खटाइनेछ।
खोपका लागि ५३० भायल भ्याक्सिन जिल्लामा आइपुगेको छ। जिल्लाका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको समन्वयमा सात वटै गाउँपालिकाकाका ४४ वडाका १४३ विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालयका प्मुख प्रेमबहादुर सिंहले जानकारी दिए।
यसमा नाम्खा गाउँपालिका १५ वटा, सिमकोटमा २६ वटा, खनर्पुनाथमा १७ , सर्केगार्डमा ३० वटा चङ्खेली गाउँपालिकामा २२ वटा, अदानचुलीका १७ र ताँजाकोटका गाउँपालिका १६ वटा खोप केन्द्रहरु निर्धारण गरिएको छ।