
काठमाडौँ– एमालेको सक्रिय राजनीतिमा फर्किने बलियो आधार देखिँदै गएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अर्को महिना चीन भ्रमण गर्ने भएकी छिन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद भण्डारीले चीन जाने निश्चित भएको हो। भण्डारीलाई चीनले पूर्वराष्ट्रपतिको रुपमा भन्दा पनि एमाले नेतृका रुपमा स्वागत सत्कार गर्ने भएको छ।
एमालेको सक्रिय राजनीतिमा फर्किन भण्डारीले भित्रभित्रै गतिविधि अघि बढाइरहेको दाबी भइहरेका बेला यही जेठ १६ गते प्रज्ञा भवनमा भएको एक कार्यक्रमले त्यसलाई थप बलियो बनायो।
२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा छैनन्। तर, बुधबार एमाले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन अध्यक्ष ओलीको उपस्थितिमा भण्डारीले गरिन्।
अध्यक्ष नै उपस्थित भएको कार्यक्रममा पार्टीको कुनै औपचारिक पदमा नरहेकी भण्डारीले गरेको भेला उद्घाटनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। शक्तिशाली ओली भण्डारीको उपस्थितिमा ‘ताली बजाउन’ मात्रै सीमित भए।
ओलीको उपस्थितिमा एमाले महिला भेलाको उद्घाटन विद्या भण्डारीबाट
नेपालका कम्युनिष्टहरुलाई एकै ठाउँ रहन चीनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्दै आएको छ। तत्कालीन नेकपामा देखिएको विग्रह र त्यसैको फलस्वरुप पार्टी तीनचार टुक्रामा विभाजित भएबाट चीन सन्तुष्ट छैन।
नेकपाभित्रको बिग्रहले एमाले माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएनन् मात्रै, एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो भने वामदेव गौतम नेकपा एकता अभियानका नाम लिएर छुट्टै अस्तित्वमा छन्।
भण्डारीको आउँदो भ्रमणबाट चीनले उनलाई कम्युनिष्ट एकताको संयोजनकारी भूमिकामा फर्काउन खोजेको दाबी स्रोतको छ। एमालेबाट ओलीको विकल्पमा भण्डारीलाई अघि बढाउने र त्यसमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाललाई पनि सहमत गराउने गरी राजनीतिक रोडम्यापको खाकाको पूर्व तयारीका रुपमा भण्डारीको चीन भ्रमणलाई लिइFदैछ।
ओलीको विकल्पमा भण्डारीलाई स्वीकार गर्ने मनस्थितिमा दाहाल नेपाल यसअघि नै पुगिसकेको चर्चा राजनीतिक वृत्तमा छ।