
मोरङ – कोशी प्रदेश सरकारको ०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। सोमबार विराटनगरस्थित प्रदेश सभामा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले अघि बढाएको नीति तथा कार्यक्रमले प्रदेशमा बसोबास गर्ने हरेक नागरिकको घरमा विद्युत सेवाको पहुँच पुराउने बहुलक्षित योजनालाई समेटेको छ।
आउँदो दुईवर्षभित्र नागरिकको घरघरमा विद्युतको पहुँच पुराउने प्रदेश सरकारले उर्जा प्रविधिको प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रमलाई जोड दिएको हो। सोही अन्र्तगत ताप्लेजुङमा निर्माण भएको ७७ दशमलव ५ मेघावाटको घुन्सा खोला जलविद्युत आयोजना र सिम्बुवा खोलाको ७० दशमलव ५ मेघावाटको जलविद्युत आयोजनामा प्रदेश सरकार र प्रदेशबासीको लगानी सुनिश्चत गर्नेतर्फ सरकारको ध्यान केन्द्रीत गरेको छ।
त्यसैगरी, सरकारले कृषितर्फ धानको बीउको स्रोत बनाउने नीति लिएको छ। स्वथ्य माटो स्वच्छ बालीलाई प्रोत्साहन गर्न सरकारले घुम्ती माटो परीक्षण शिविर, प्राङ्गारिक मल उत्पादनका लागि प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ। स्वास्थ्य तथा जेष्ठ नागरिकको हकमा प्रदेशमा वृद्धवृद्धा तथा असहायलाई लक्षित गर्दै सरकारले स्वास्थ्य कार्यक्रमअन्तर्गत वृद्धाश्रम, मठमन्दिर, धर्मशाला, मानवसेवा आश्रममा बस्ने नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति लिएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अघि सारेको १० वर्षमूनिका बालबालिकाको स्वास्थ्य सेवालाई नीति तथा कार्यक्रमले निरन्तरता दिएको छ। सरकारले प्रदेश मातहतका विभिन्न अस्पतालमा १० वर्षमुनिका लक्षित वर्गका बालबालिकालाई प्रदान गरिने निःशुल्क स्वास्थ्य सेवालाई निरन्तरता दिने भएको हो।
आन्तरिक राजस्व बृद्धिका लागि नीतिगत व्यवस्थापन गर्ने, तीन तहको सरकारको कर प्रणालीलाई एकद्धार प्रणाली बनाउन समन्वय गर्ने लगायतको सरकारको नीति छ। अब्यवस्थित बन्दै आएको सवारी लाइसेन्स वितरण प्रणालीलाई सहज बनाउने नीतिपनि सरकारले लिएको छ। लाईसेन्स वितरणलाई प्रभावकारी बनाउदै प्रदेशमा स्मार्ट लाईसेन्स छपाई गर्ने योजना सरकारको छ।