
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले नौ वटा विद्यालयका कक्षा समायोजन गरेको छ। विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका ती कक्षा समायोजना गरिएको हो।
गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले शैक्षिक गुणस्तर सुधार गर्न र कक्षागत अपुग शिक्षकको व्यवस्था गर्न गाउँपालिकाभित्रका नौ वटा विद्यालयका कक्षा समायोजन गरिएको बताए।
यसबाट जेनतेन रुपमा विद्यालयलाई कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको र विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग मिल्नेछ।
यसरी योग्यता पुगेका शिक्षकबिनै कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई पनि पठनपाठन गर्नुपर्ने बाध्यता शाखाले हटाएको छ। सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा ज को नियम १२ बमोजिम भौगोलिक निकटता विद्यार्थी संख्याको आधारमा विद्यालयका कक्षा तथा तह समायोजन गरिएको हो। कक्षा तथा तह समायोजन गरिएका विद्यालयमा जनक आधारभूत विद्यालयबाट कक्षा चार र पाँचलाई जनप्रकाश माविमा समायोजन गरिएको छ।
त्यसैगरी छायाक्षेत्र आविबाट पनि कक्षा चार र पाँच लाई धर्मोदय माविमा समायोजन गरिएको छ। त्यसैगरि जगतमाला आविबाट कक्षा एकदेखि तीनलाई क्षेत्रपाल आविमा समायोजन गरेर सो विद्यालयमा बालविकास मात्र कायम गरिएको छ।
त्यसैगरी कैलाश आविबाट कक्षा चार र पाँचलाई धर्मोदय माविमा समायोजना गरिएको छ। जनता आविबाट कक्षा एकदेखि तीनलाई रामदेव आविमा समायोजन गरी उक्त विद्यालयमा बालविकास मात्र कायम गरिएको छ। यता कालिका आविबाट कक्षा चार पाँचलाई कैलाश आविमा लगिएको छ।
कैलाशदेव आविबाट कक्षा एकदेखि तीनलाई मदानादेव माविमा समायोजना गरिएको छ। चन्द्रप्रकाश माविबाट कक्षा एघार र बाह्र कक्षालाई धर्मोदय माविमा लगिएको छ भने मदानादेव माविबाट कक्षा एघार र बाह्रलाई धर्मोदय माविमा समायोजन गरिएको छ।