
टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ। नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले डच टोली विरुद्ध ‘लो स्कोरिङ’ खेलमा संघर्षपूर्ण जित हासिल गर्यो।
टस हारेर पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १ सय ४ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको थियो। तर १२ रन जोड्दा ४ विकेट गुमाएपछि दक्षिण अफ्रिकी इनिङ संकटमा परेको थियो। तर मध्यक्रमले समाल्दा दक्षिण अफ्रिकाले ७ बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले ५९ रनको अविजित अर्धशतकीय इनिङ खेले। उनी बाहेक ट्रिस्टन स्ट्बसको ३३ रन थप दोहोरो स्कोरका रुपमा रह्यो। अन्य खेलाडीले भने ५ रनको स्कोर समेत पुरा गर्न सकेनन्। कमजोर लक्ष्यमा पनि कसिलो बलिङ गरेको नेदरल्यान्डका लागि भिभन किंग्मा र लोगन भान बिकले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सक लागि स्याब्रान्ड एंगलब्रेचले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक स्कट एडवार्डले १० रन र लोगन भान बेकले २३ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि ओटनेइल बार्टम्यानले ४ तथा मार्को जनसेन र एनरिच नोर्तजेले समान २-२ विकेट लिए।दुई जित सहित दक्षिण अफ्रिका अङ्क तालिकामा शीर्ष स्थानमा कायम रहेको छ।