
सिमकोट – विद्यालयमा कक्षा आठदेखि दशसम्म अध्ययन गर्दै आएका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाबारे जानकारी प्रदान गरिएको छ। योग शिक्षाका महत्व, फाइदा र उपयोगिताबारे विद्यालयमा जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको हो।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कबिराज शंकर शाह रौनियारले सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षासम्बन्धी सहजीकरण गरिएको बताए।
कक्षा आठदेखि दशसम्मका ५० भन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा तालिम प्रदान गरिएको हो। विद्यालयमा अध्ययनकै क्रममा रहेका विद्यार्थीलाई आयुर्वेद र योग शिक्षाबारे जानकारी गराउँदा यसको सकारात्मक प्रभाव पर्ने भएकाले दुईदिने यो कार्यक्रम राखिएको होे।
विद्यार्थीलाई योग तथा आयुर्वेद शिक्षा र उपचार बिधिबारे जानकारी गराउँदा घरपरिवारका सदस्यलाई पनि सहजै जानकारी हुने भएको कारण पनि यो कार्यक्रम फलदायी विश्वास गरिएको छ। कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक युनिका आचार्य र बरिष्ठ बैध्य गोरखबहादुर रावतले यसको सैद्धान्तिक पक्ष माथि सहजिकरण गरेका हुन्।
चिकित्सक आचार्यले सबैका लागि योगाको आवश्यकता रहेको महत्व दर्शाउनका लागि पनि यो कार्यक्रम अति आवश्यक रहेको बताए।
सहभागी विद्यार्थीले आयुर्बेद औषधीको प्रयोग र योगा अध्यान गर्नका लागि आफुहरु सहयोगी बन्ने प्रतिबद्धता जनाएका थिए। सहजीकरणकै शिलशिलामा विद्यार्थीले बिभिन्न योगका अभ्याससमेत गरेका थिए। सबै योग अभ्यासलाई सहभार्गीले गर्न नसक्ने भएको कारण आसन अनुसारका योगका अभ्यास गरिएका थिए।