
जारी टी-२० विश्वकपमा पाकिस्तानले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। लगातार खराब प्रदर्शनको सिकार हुँदै आएको पाकिस्तानले जितसँगै शीर्ष आठको सम्भावनालाई कायम राख्यो।
पाकिस्तानले आफ्नो तेस्रो खेलमा क्यानडासँग १ सय ७ रनको लक्ष्य पाएको थियो। समूह ‘ए’ मा सुरुवातमा लगातार दुई खेल हारेर जित्नै पर्ने दबाबमा रहेको पाकिस्तानले टस जितेर पहिले फिल्डीङ गरेको थियो।
पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै कप्तान बाबर अजामले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १५ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो। बाबर ३३ रन बनाएर आउट हुँदा रिजवान ५३ रनमा अबिजि रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। खराब ब्याटिङ गरेको क्यानडाका लागि ओपनर एरोन जोनसोनले ५२ रनको अर्धशतकीय इनिङ खेल्न सर्वाधिक रह्यो। उनी बाहेक कलिम सनाले १३ रन र साद बिन जफरले १० रन बनाए।
पाकिस्तानले कसिलो बलिङ गर्ने क्रममा उसका मोहम्मद अमिर र हरिस रउफले २-२ विकेट लिंदा नसिम साह र सहिन सा अफ्रिदीले १-१ विकेट लिए। प्रतियोगितामा पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित हुँदा दोस्रो खेलमा भारतसँग ६ रनले हारेको थियो।