देशसञ्चार चौतारीको यसपटकको अंकमा अतिथि छन्- दयाहाङ राई जो नेपाली सिनेमामा अहिलेको समयमा सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन्। दयाहाङले देशसञ्चार सहकर्मीहरुसँगको कुराकानीमा आफ्नो व्यक्तित्वका विभिन्न पाटोहरु खोतलेका छन्।
ब्रुस लीका किक हेरेर हुर्किएका दयाहाङलाई सिनेमाको नायक बन्नु आफ्नो बुताको कुरा होइन भन्ने हेक्का पहिल्यैदेखि थियो। तर उनी यतिखेर नेपाली नायकहरुको अग्रपंक्तिमा छन्।
दयाहाङको पछिल्लो सिनेमा ‘गाउँ आएको बाटो’ले अहिले राम्रो लोकप्रियता कमाइरहेको छ। दस वर्षपछि नेपाली सिनेमालाई संसारको पर्दामा फैल्याउने लक्ष्य राखेका छन् दयाहाङले।
उनको पछिल्लो सिनेमाका निर्देशक नवीन सुब्बाले दयाहाङका अभिनयका कमजोरीहरु केलाएका थिए काम सुरु गर्नुभन्दा पहिले। पात्रको आवरण एउटै देखिए पनि आफूले खेलेका चरित्रहरुको मनोविज्ञान फरक भएको बताउँछन् दयाहाङ।
आम जीवनका कतिपय रमाइला कुरा पनि दयाहाङले आफ्नो अन्तर्क्रियाका क्रममा सुनाए। ‘एकपटक ट्याक्सीेवालाले राति हामीलाई भाडा लिन मानेन, तपाईँ त हेर्दा दयाहाङजस्तै देखिनुहुँदोरहेछ, के भाडा लिनु?’ उनले भने।
उनका सिनेमाका पात्रहरुमा पनि स्टेजमा खेलेकोजस्तो चरित्र देखिएको दयाहाङले अन्तर्वार्ताका क्रममा बताए। ‘कतिपय बेला मेरा पात्रका इमोसनमा मेरो आफ्नो इमोसन मिसिँदो रहेछ,’ उनले भने।
व्यस्ततामा नै आफु रमाउने उनले बताए। ‘दश वर्षअगाडि म यही खोजेर हिँडिरहेको थिएँ अहिले यो व्यस्ततामा मलाई आनन्द आउँछ मेरो भोगाइ नै मेरो सम्पत्ति हो यही कमाइरहेको छु,’ उनले भने।
राजनीतिलाई फोहोरी खेल भनिए पनि राजनीति सबैलाई चाहिने उनले बताए। ‘राजनीतिलाई कसरी बुझ्ने समाजलाई कसरी बुझ्ने भन्ने ज्ञान चाहिँ हुनुपर्छ,’ उनले भने।
दयाहाङ राईको विस्तृत देशसञ्चार चौतारी:

भर्खरै
लोकप्रिय






































































































































































































