
धनगढी– कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा केही सातादेखि सिकलसेल एनिमियाका बिरामी बढ्न थालेका छन्। पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु समुदायमा मात्र देखिने सिकलसेलको उपचारको लागि सरकारले एक लाख रुपैयाँ सहयोगको पनि व्यवस्था गरेको छ। तर, सिकलसेलका विरामीको स्वास्थ्य परीक्षणको लागि छुट्टै युनिट नभएका कारण समस्या भएको सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ।
सेती प्रादेशिक अस्पतालमा हालसम्म सिकलसेलका ९ सय ४९ जना बिरामी दर्ता भएका छन्। हाल दैनिक २५ देखि ३० जना बिरामी स्वास्थ्यजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ।
तर, सेती प्रादेशिक अस्पतालमा सिकलसेलका बिरामीको लागि छुट्टै जाँचकक्ष छैन। छुट्टै जाँच युनिट नभएका कारण सिकलसेलका बिरामीहरुले अरु बिरामीसँगै लाइनमा बस्नु पर्ने बाध्यता छ।
सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरिदत्त जोशी सिकलसेलका बिरामीहरुले लाइनमा बसेर उपचार गराउनु पर्दा थप पीडा भोग्नु परेको बताए। उनले सिकलसेलका बिरामीहरुको लागि छुट्टै जाँच कक्ष नहुँदा लामो लाईनमा उभ्याउनु पर्ने बाध्यता रहेको बताए।
सिकलसेलका बिरामीहरुको उपचारको लागि छुट्टै कक्ष स्थापनाको पहल भइरहे पनि पुरा भएको छैन। सामाजिक सेवा इकाई जोशीले छुट्टै उपचार कक्ष नभएका कारण सिकलसेलका विरामीलाई अन्य बिरामीसंगै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताए।
सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७१/०७२ देखि सिकलसेल रोगको स्क्रिनिङ तथा निशुल्क उपचारको व्यवस्था गरिएको छ। सिकलसेलको उपचार महंगो भएका कारण नेपाल सरकारले वार्षिक एक लाख रुपैयाँसम्म निशुल्क उपचारको व्यवस्था मिलाएको सामाजिक सेवा इकाई प्रमुख जोशीले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालमा कैलालीका ६ सय ८५ र कञ्चनपुरका २ सय ६४ जना सिकलसेलका बिरामी दर्ता रहेका छन्। तीमध्ये ४ सय ६९ जना पुरुष र ४ सय ८० जना महिला बिरामी छन्।
सिकलसेलका बिरामीको नियमित उपचारका कारण अहिलेसम्म मृत्युको तथ्यांक नरहेको जोशीले बताए। थारु समुदायमा देखिने सिकलसेल संक्रमितलाई उपचारको दायरमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले गाउँवस्तीमै गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ। सरकारले सिकलसेलका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा दिन अस्पतालहरुमा आवश्यक व्यवस्था समेत गर्नु जरुरी छ।