
टी-२० विश्वकप अन्तर्गत ‘सुपर आठ’ को आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई पराजित गर्दै विश्वकपमा अपराजित यात्रा कायम राखेको छ। बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। जवाफमा अफगानिस्तान १ सय ३४ रनमा समेटियो।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक नजबुल्लाह जाद्रनले १९ रन बनाउँदा मोहम्मद नावीले १४ रन बनाए। त्यस्तै नुर अहमेदले १२ रन बनाउँदा रहमनुल्लाह गुरवाजले ११ रन बनाएका थिए। भारतका लागि अर्सदीप सिंह र जसप्रित बुमराहले समान ३-३ विकेट लिंदा कुलदीप यादवले २ विकेट लिए।
त्यसअघि भारतका शीर्ष क्रम लामो समय क्रिजमा रहन असफल भएपनि मध्य क्रमले इनिङ समाल्दा भारतले उच्च स्कोर बनाउन सफल भएको थियो। भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए।
त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा ऋषभ पन्तले २० रन बनाउँद शिवम् दुवेले १० रन बनाए। अक्षर पटेल १२ रनमा अविजित रहे।
अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३-३ विकेट लिए। फारुखी जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने।