जीवनमा कविता नलेख्ने मान्छे सायदै भेटिन्छन्, तर कविता कोर्ने कर्मलाई निरन्तरता दिन भने सक्दैनन्। यस्ता धेरै कलाकार पनि छन्।
कलाकार कविताका पारखी हुन्छन्, र पनि कविको जति हिम्मत गर्दैनन् सार्वजनिकस्थलमा कविता भन्न। यस्तै पात्रमा पर्छन् रंगकर्मी तथा अभिनेता दिव्यदेव पन्त।
कविताका पारखी दिव्यलाई कविताले छोडेन। कविताले छोड्थ्यो भने सायद उनी ‘द पोइट आइडल’को दोस्रो सिजनका लागि पनि होस्ट गर्दैनथे।
‘साँच्चै, तपाईंले सही गेस गर्नुभयो, मलाई कविताले नछोडेको चाहिँ हो,’ कविताले पछ्याइरहेको स्वीकारे उनले।
कविता पढ्न रुचाउँछन् उनी। र, १५ वर्षअगाडि मजाले कविता लेख्थे पनि। कविता राम्रै कोर्थे। कवितामा रमाउन खोज्थे। तर, अहिले कविता लेख्छु भनेर हिँडेका छैनन्। भन्छन्, ‘कविताको पारखी चाहिँ हुँ म। कविता मन पनि पराउँछु। तर कविता कोरी हिँडेको चाहिँ छैन।’
बैतडी स्थायी घर भएका दिव्य करिब डेढ दशकअघि जागिरका सिलसिलामा अष्ट्रेलिया पुगेका थिए। रोजगार खोज्दै त्यहाँ पुगेका दिव्य हातमा ल्यापटप पर्नेबित्तिकै कामभन्दा बढी फिल्म हेर्नमा चासो राख्न थाले। अनि कविता छुट्यो। फिल्मको लतमा यसरी परे कि अष्ट्रेलिया नै छोडिदिए। तर, कविता लेख्न भने फर्किएका होइनन्, बरु स्वदेश फर्किएर सिधै ‘ओस्कार कलेज’मा भर्ना भए। तर, ओस्कारको पढाइलाई निरन्तरता दिन सकेनन् र नाटकको रङमा रङ्गिन थाले उनी।
ओस्कार फिल्म कलेजका ‘ड्रपआउट’ दिव्य भन्छन्, ‘जता जे गरे पनि अभिनयबाट टाढा हुँदै हुन्न।’
उम्दा प्रस्तुतिका कारण नाटकप्रेमीको मनमा बस्न सफल छन् उनी। ‘ह्यामलेट’, ‘लुक ब्याक इन एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटकमा अभिनय गरेर दिव्यदेवले आफूलाई अब्बल साबित गरिसकेका छन्। नम्र र शालीन स्वभावका दिव्यदेव १४ वर्षयता रंगमञ्चमा सक्रिय छन्। उनले करिब दुई दर्जनभन्दा बढी अंग्रेजी नाटकमा समेत अभिनय गरेका छन्।
अंग्रेजी नाटकको त संवादहरु पनि कविताका हरफजस्ता लाग्छन्। त्यो पनि दिव्यलाई मन पर्थ्यो। उनका अनुसार नाटकका संवाद कविताका हरफभन्दा कम हुँदैनन्। कहीँ न कहीँ कविताका हरफजस्ता संवाद, जीवन र जगतको मिहिन र गहन दर्शन नाटकमा भेटेको बताउने दिव्य एक अनुभव सुनाउँछन्, ‘कविता त मान्छेको जीवनमा कहीँ न कहीँ जोडिन्छ। अझ कलाकारका लागि संवाद पनि कविताजस्ता हुन्छन्। त्यो नाटकमा बेसी भेटिन्छ।’
नाटकमा उनले सबैभन्दा बढी प्रशंसक आवाजबाटै कमाएका छन्। यसकारण पनि नाटकमा दिव्यदेवको अभिनय औसतभन्दा फरक छ।
गहकिलो स्वर दिव्यको खास विशेषता नै हो। नाटकमा उनले सबैभन्दा बढी प्रशंसक आवाजबाटै कमाएका छन्। भन्छन्, ‘सानोमा रेकर्ड गरेर सुन्दा आफ्नो स्वर मन पर्दैनथ्यो तर अहिले रोजीरोटीको माध्यम नै स्वर बनेको छ।’
विभिन्न डकुमेन्ट्री, विज्ञापनमा ‘भ्वाइस ओभर’मा उनको लोभलाग्दो माग पनि छ। त्यही आवाजले नै होला उनलाई द पोइट आइडलको प्रस्तोतासम्म पुर्यायो।
घरघरका दर्शकले त्यतिखेर चिने, जतिखेर दिव्यदेव ‘द पोइट आइडल’मा जोडिए। पोइट आइडलले दिएको यो मायालाई उनले धेरैपछि बुझेको स्वीकार्छन्।
रियालिटी शोहरू सफल र सुन्दर ढंगले सम्पन्न हुनुमा कार्यक्रम प्रस्तोताको भूमिका पनि मुख्य रहने नै गर्छ। सुन्दर व्यक्तित्व र बुलन्द आवाजका धनी दिव्यदेवको कार्यक्रम सञ्चालन शैली पनि बडो आकर्षण छ।
कार्यक्रम अवधिभर दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेर राखिराख्न सक्ने सफल प्रस्तोताको छवि पनि बनाइसकेका छन् उनले। उनी भन्छन्, ‘मेरो जीवनकै पहिलो कार्यक्रम सञ्चालन हो। तर, सबैले मन पराइदिनु भयो।’
‘मेरो लागि होस्टिङ सहजता थिएन। सुरुमा त म अकमकिएको पनि थिएँ,’ त्यो अतीत सम्झिए।
सन् २०१० देखि नाटक र चलचित्रमा संघर्ष गरिरहेका दिव्य आइडलको प्रस्तोता हुन खासै रुची थिएन। यसअघि पनि उनलाई कार्यक्रम सञ्चालन गरिदिन अनुरोध नआएको भने होइन। ‘सुरुवातीतिर त अप्ठ्यारो लागेको थियो। कस्तो हुने हो फिल्म छुट्ने हो कि नाटक भ्याउँदिन कि भन्ने दुविधा नै दुविधाबीच काम गरेको हुँ। अहिले लाग्छ– राम्रै गरिएछ।’
‘मलाई स–साना कार्यक्रमहरुको होस्ट गरिदिन अनुरोध आउँथ्यो तर मैले रिजेक्ट गर्थे। पछि द पोइट आइडलको कुरा भयो। पहिला न गाह्रो मानेको थिएँ। पछि अमनप्रताप दाइले कसरी मनाउनु भयो भयो। अनि गरियो। अहिले राम्रै गरिएको रहेछ भन्ने लाग्छ,’ उनले भने।
फिल्ममा भन्दा पनि विशेष आनन्द उठाइरहेको बताउँछन् दिव्य। उनी भन्छन्, ‘लगभग पाँच छ महिनाको यात्रा एकदमै धेरै विशेष रह्यो।’
उनका लागि पोइट आइडल कविता कोर्नेका लागि सही प्लेटफर्म हो। र, दिव्यले पनि कक्षा ८—९ पढ्दाताका कविता र गजल लेख्ने गर्थे। तर, अभिनयको नशामा परेपछि उनीबाट कविता कोर्ने समय पुगेन। कविता छुट्यो, गजल छुट्यो। तर उनलाई कविताले छोडेन।
‘अब म पनि अलिक गम्भीर भएर कवितामा लाग्छु,’ उनले यतिसम्म भनेका थिए। अहिले उनलाई लाग्छ– कविता लेख्नु साधना हो।
‘लेख्न छोडेकोमा मलाई पछुतो चाहिँ हुन्छ,’ उनले भने, ‘अहिले आफ्नै लागि लेख्ने कोशिस गर्न सके पनि सार्वजनिक रुपमा कविता लेख्ने आँट छैन।’
पछिल्लो समय नेपाली चलचित्रमा पनि संवादहरु पोइटिक छन्। अझ उनी अभिनित चलचित्र ‘चिसो एस्ट्रे’ र राधालाई त्यो कोटीको सिनेमा भन्न सकिन्छ सायद।
कवि भूपि शेरचनको कविता चिसो एस्ट्रेमा आधारित फिल्म थियो, जसले बक्स अफिसमा त कमाल गरेन तर दिव्यको ‘फिल्म जर्नी’लाई केही सपोर्ट भने गरेकै हो।
कविताले जति नै पछ्याए पनि उनी अभिनेता नै हुन चाहन्छन्। उनी भन्छन्, ‘कविता लेख्न कवि भएर बाँच्नु पर्दोरहेछ। एउटा रहर पनि थियो कविता कोर्ने। अष्ट्रेलिया जानुअगाडि कविता लेख्थेँ। अहिले साथीहरुले कविता लेख्न अनुरोध गरिरहेका छन् तर म लाग्न सकेको छैन।’
हिरो हुन मन त छैन?
यो क्याजुल प्रश्नको उत्तर पनि उनले हाँसेरै दिए, ‘हिरो भन्ने हुन्छजस्तो लाग्दैन। बरु अभिनेता भनेको रुचाउँछु। हिरोको परिभाषा केही पृथक छ।’
थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विष्टको बायोपिक बनेको रुदानेमा पनि उनको मुख्य भूमिका थियो। तर, दुर्भाग्य त्यो फिल्म प्रदर्शनमा आउन सकेको छैन।
लामो समयदेखि हिरो यस्तो हुनुपर्छ भन्ने मानक अहिले भत्किए पनि त्यसको असर भने अझै नहटेको बताउने दिव्य अहिले कथा बलियो हुनुपर्ने बताउँछन्। कथा नै मुख्य हिरो हुन सक्यो भने मात्र कलाकार बाँच्ने हो।
चिसो एस्ट्रेपछि उनी वरिपरि घुमेको चरित्र पाएका छैनन्। छुटिरहेको यो अवस्थालाई उनी स्वीकार्छन् पनि। भन्छन्, ‘मलाई पनि त्यस्तै लाग्छ। मेरो भूमिका बलियो भए पनि मैले निर्वाह गरिरहेको पात्रको वरिपरि कथा घुमोस् भन्ने चाहना त हुन्छ एउटा कलाकारको नाताले। र अहिले आत्तिहालेको पनि छैन। त्यो विस्तारै आउला अवसर भन्ने पनि छ।’
पूरा भिडियाे: