काठमाडौं- नेपाली खेलकुदको सर्वाधिक धन राशीको पुरस्कार ‘शरदचन्द्र शाहा मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर तथा करातेकी कीर्तिमानधारी युवा खेलाडी एरिका गुरुङलाई समान गरिएको छ।
राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य-सचिव शरदचन्द्र शाहाको स्मृतिमा प्रदान गरिएको यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको हो। पुरस्कारको धनराषी २ लाख ५० हजार रहेको छ।
दक्षिण एशियाली खेलकुदमा तीन पटक स्वर्ण पदक जितेका मानन्धरले शाहाको स्मृतिमा प्रदान गरिएको यो पुरस्कारबाट पहिलो वर्ष नै आफू सम्मानित हुन पाएकोमा गर्वान्वित महसुस गरे।

‘नेपाली खेलकुद विकासमा शरदचन्द्र शाहाको योगदान अतुलनीय छ। उनको कार्यकाललाई हामी खेलाडीले स्वर्णयुगको रूपमा सम्झिन्छौं।’ पुरस्कारबाट सम्मानित भएपछि उनले भने, ‘उहाँको नामबाट प्रदान गरिएको पुरस्कार प्राप्त गर्दा मलाई गौरव लागेको छ। मैले यो दिनको कल्पना गरेको थिइन।’
यस्तै, गत वर्ष चीनको हान्जाउँमा आयोजना भएको एशियाली खेलकुदमा करातेतर्फ रजत पदक जित्दै एतिहासिक प्रदर्शन गरेकी एरिकालेले पनि सम्मानले आफूलाई थप उर्जा मिलेको बताइन्।

२३ जुन ओलम्पिक डेको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको यो कार्यक्रममा शरदचन्द्र शाहाको व्यक्तित्वमाथि पूर्वउप-प्रधानमन्त्री कमल थापाले प्रकाश पारेका थिए। उनले शाहा नेपाली खेल क्षेत्रको मात्र नभई अन्तर्राष्ट्रिय खेलकुदकै लागि नक्षत्र भएको बताए। तर, देशले शाहाको योगदानको उच्च कदर गर्न नसकेको उनको भनाई थियो।
२०३४ देखि २०४४ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त शाहाको कार्यकालमा बृहद राष्ट्रिय खेलकुदको सुरुवात हुनुका साथै, अन्तर नगर खेलकुद, विश्वविद्यालय खेलकुद र दक्षिण एशियाली खेलकुदको सुभारम्भ भएको थियो। उनकै सक्रियतामा देशभित्र खेलकुदको जागरण भएको थियो।
२३ जुन शरदचन्द्र शाहाको जन्मदिवस पनि हो। फाउन्डेशन अध्यक्ष रेनु शाहाले नेपाली खेलकुदमा आफ्नो श्रीमान्ले दिएको योगदानलाई स्मरण गर्न फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको बताइन्। खेलाडीहरूको मनोबल उच्च राख्न भविस्यमा अन्य कार्यक्रम पनि आयोजना गर्ने उनको भनाई थियो। फाउन्डेशनले गत वर्ष नविन अर्याल द्वारा लिखित नेपाली खेलकुदको अनुसन्धानात्मक पहिलो पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ पनि बजारमा ल्याएको थियो।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































