
सिमकोट – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिईभिटी ) यस वर्षबाट परीक्षा उपकेन्द्र हुम्ला जिल्लाको मानसरोवर बहुमुखी क्याम्पसलाई तोकेको छ।
परिषद्को यो कार्यले भौगोलिक बिकटता र यातायातको कठिनाईको कारण परीक्षा उपकेन्द्र जिम्मामै तोकिएको हो। मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले परिषदले यसवर्षबाट सिटिईभिटीतर्फको परीक्षाका लागि उपकेन्द्र हुम्ला जिल्लाको मानसरोवर बहुमुखी क्याम्पसलाई तोकिएको बताए।
परिषदले आफ्नो परीक्षा केन्द्र सम्वन्धि सार्वजनिक गरेको तालिकामा यसअघि सुर्खेत जिल्लाको अम्मर ज्योति माविमा ताकेको थियो। परिषदले हाललाई डिप्लोमा तह तेस्रो वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाका लागि मानसरोवर बहुमुखी क्याम्पसमा परीक्षा उपकेन्द्र तोकेको हो। यसबाट मानसरोवर नमूना माविमा अध्ययनरत डिप्लोमा इन इन्जिनीयरिङको चौथो सेमेस्टरका १४ जना र पाँचौ सेमेस्टरका दुई जना परीक्षार्थीहरुले जिल्ला मै परीक्षा दिन पाउने भएका हुन।
परीक्षा सञ्चालनको जिम्मेवारी मानसरोवर बहुमुखी क्याम्पसलाई परिषदले दिनेछ। बिधार्थीहरुलाई परीक्षा दिन जिल्ला बाहिर जानु पर्ने बाध्यता समेत हटेको हो। परीक्षा दिनका लागि एक जना बिधार्थीले पचास हजारभन्दा बढी यसअघि खर्च गर्नुपरिरहेको थियो। अब परीक्षार्थीलाई आर्थिक ब्ययभार समेत कम हुने छ। लोक सेवा समेत जिल्लामै परीक्षा दिन पाउने ब्यवस्था गरेको भन्दै बिधार्थीहरुले पनि परिषदका सबै परीक्षा जिल्ला मै सञ्चालन गर्नु पर्ने माग राख्दै आएका थिए।