
सिमकोट – यस वर्षको एसईईमा हुम्लाबाट साधारण धारमा लोकराज महताराले सबैभन्दा बढी जिपिए ल्याएका छन्। उनले ३.९५ जिपिए ल्याएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइमा निमित्त प्रमुख योगेश आले मगरले अदानचुली गाउँपालिका– १ को कल्खे गाउँ स्थायी बासिन्दा महताराले जिल्लाबाट एसईई दिनेमध्ये सबैभन्दा बढी जिपिए ल्याएको बताए।
महताराले उक्त गाउँपालिका–४ को ज्ञानोदय माविमा अध्ययन गरेर सूर्योदय मावि परीक्षा केन्द्रबाट एसईई दिएका थिए।
त्यसैगरी सोही विद्यालयका छात्र विराज भण्डारीले ३.८६ जिपिए ल्याएर जिल्लाकै दोस्रो भएका छन् भने हिमज्योति मावि सर्केगाडका छात्र मिसनराज रोकायाले ३.८२ जिपिए ल्याएर तृतीया भएका छन्।
प्राविधिक धारतर्फ सबैभन्दा बढी जिपिए ल्याउने तीन जनामा खार्पुनाथ गाउँपालिकाको सीता माविका अस्मिता रालवले ३.३८ जिपिए, सोही विद्यालयका छात्र महेश हमालले ३.३३ जिपिए र नाम्खा गाउँपालिकाको महावौद्ध माविका पेमा तान्गे लामा ३.२८ जिपिए ल्याएका छन्।
जिल्लाका २७ वटा माविबाट साधारण र प्राविधिक धार गरि एक हजार एक हजार १६९ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५४० जना उत्तीर्ण भएका थिए। परीक्षाबाट ५३ दशमलव ८१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।