
पोखरा- सर्वोच्च अदालतले माओवादी केन्द्रले गरेको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संसदमा थमौती भएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा आइतबार मन्त्री बन्दैछन्।
साढे १० बजे पोखरास्थित पर्यटन बोर्डको कार्यालयमा शपथ ग्रहण गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटाले पूरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बागडोर सम्हाल्नेछन्।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए। पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही गर्यो। सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए।
नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे। माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको हो।
उनी बिहीबार संसद फर्किएपनि सभामुख कृष्णप्रसाद धितालको अनमुति नपाएपछि मर्यादापालकले उनलाई प्रवेशमा रोक लगाए। त्यही दिन उनलाई मन्त्रीको शपथ खुवाउने मुख्यमन्त्री पाण्डेकोे योजना हो। तर, सभामुखको कदमले रोकियो।
शुक्रबारदेखि संसदीय गतिविधिमा फर्किएका देवकोटा तेस्रो हप्तामा दोस्रो पटक मन्त्री बन्दैछन्।