२०८० को असार। काम गर्दै भोकल सिक्न काठमाडौं आएका थिए, नेपाल आइडल सिजन ५ का विजेता करण परियार (२०)। बुवाले विदेश पठाउने योजना बनाइरहँदा करणले केही वर्ष संगीत सिक्न समय मागे। ‘मलाई केही समय दिनुस् करिब पाँच वर्ष। केही गर्न सकिएन भने विदेश जान्छु नि भनेर बुवालाई भनेकाे थिएँ, ’ करणले सुनाए।
बुवाले पत्याइदिए करणलाई। अनि बुवाले उनलाई बस्ने ठाउँ (डेरा) खोजिदिएर गाउँ फर्किए। महिना दिनको रासन भाडा तिरेर फर्किएका बुवाको भरमा करणलाई बस्न मन लागेन र काम खोजे। जोरपाटीको एक संगीत विद्यालयमा कृष्ण केसीलाई गुरु मानेर भोकल सिक्दै कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा उनले काम गर्न थाले।
मासिक १४ हजार तलबमा काम गरे पनि करणको ध्यान भने पुरै गीतमा हुन्थ्यो। भन्छन्, ‘मेरो शरीरले काम गरे पनि मनमष्तिस्क त गीतमै हुन्थ्यो। गीत मात्रै गाउन पाए हुन्थ्यो भन्ने अहिले पनि लाग्छ।’
बर्दियाको पदनामा जन्मिएका करण हिन्दी गीत बढी सुन्थे। किनकि गाउँ नै पुरै राना थारुको बस्ती थियो। थारु बस्तीमा दैनिकजस्तो चर्को-चर्को आवाजमा माइकबाट हिन्दी गीत बज्थ्यो, उनको गाउँसम्म पुग्थ्यो। हिन्दी गीत सुन्दासुन्दै इन्डिन आइडलमा जाने सोच बनाएका थिए उनले। नेपालबाट प्रितम र आयुष जब सारेगामा जस्तो रियालिटी शोमा गाइरहँदा करण त्यहाँ पुगेको सपना देख्थे। तर त्यति ठूलो प्लेटफर्ममा पुग्दा संगीत सिक्नु त अनिवार्य थियो। त्यही कारण त उनी काठमाडौं आइपुगेका थिए।
संगीत सिकेको केही महिनामै आफ्नै गुरुको सल्लाहअनुसार नेपाल आइडलमा सहभागिता जनाएपछि करणकाे सांगीतिक यात्रा नै फेरियो। संगीतमा लाग्नेहरूले साधना गर्नुपर्छ भन्ने सोझो बुझाइ छ उनको। भन्छन्, ‘खासमा म इन्डियन आइडलमा जाने सोचले संगीत सिक्दै थिएँ तर सबैका माया र साथले नेपाल आइडल हुन पुगें। अब यही संघर्ष गर्न पाए हुन्थ्यो।’
उसो त करणका मामाको सल्लाहअनुसार उनी दाङमा गीत गाउन पुगेका थिए। साेही क्रममा भेटिएका थिए रोहित। गाउँमा मिल्ने साथी र गीतमा पनि संघर्ष गर्न रुचाए दुवैले। करणभन्दा पहिला संगीत सिक्न रोहित आएका थिए। ‘मभन्दा केही महिना अगाडि रोहित काठमाडौं आएको थियो। उसले मलाई नै पर्खिएर संगीत कक्षामा भर्ना पनि भएको रहेनछ। म आएपछि हामी सँगै भर्ना भयौं। अहिले आइडलमा म प्रथम हुँदा मभन्दा बढी रोहित खुसी छ। उसको मन जित्न पाएँ,’ उनले भने।
संगीत सिकेको सात महिना भइसकेको थियो। त्यसबेला इन्डियन आइडलको नयाँ सिजनमा जाने सोचले घर फर्किने तयारीमा समेत पुगेका थिए करण। त्यहीबीच संगीत सिकाउने गुरुले नेपाल आइडल सिजन- ५ सुरु हुन लागेको र त्यसमा सहभागी हुन सुझाए।
संगीत सिक्दा पनि करण नेपाली गीत धेरै गाउँथेनन्। कुनै तयारीबिना कसरी जाने, के गाउने भनेर उनले गुरुलाई सोधे। गुरुले नै गीतहरू छानिदिए। अनि केही सिकाइ पनि हुने सोचेर उनी अडिसन दिन पुगे। पूर्वयोजना र पूर्वतयारी बिना उनी नेपाल आइडलको मञ्चमा पुगी विभिन्न चरण पार गर्दै विजेता नै भए। अहिले उनलाई भ्याइनभ्याइ छ।
‘विजेता हुन्छुभन्दा पनि गाउन पाए हुन्थ्यो भन्ने थियो र गाउँदै गएँ। सबैले माया गरिदिएर मलाई विजयी बनाइदिनु भयो। यो उहाँहरूको जित हो,’ करणले भने, ‘खासमा हामी साथीसर्कलमा भोटको कुरा हुन्थेन। गीत गाउने कुरामा बढी जोड थियो। भनिन्छ नि फिल्ममा हिरो अन्तिममा आउँछन्। मेरा लागि दर्शकश्रोता पनि त्यस्तै हिरो हुनुभयो।’
आइडल भएपछि करण गाउँ जान पाएका छैनन्। यतैको व्यस्तता बढेको छ। गाउँमा पुगेर आमाको छेउ बसेर गीत गाउन मन छ। अहिले ठूलो मिस गरेको आमाले नै हो। बिहान बेलुका आमाले फोन गरेर कहिले आउँछौ भनेर सोधिरहनु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिटार उपहार दिँदै संगीतमा भविष्य बनाउन प्रोत्साहन गरेको करण स्मरण गर्छन्, ‘प्रधानमन्त्रीसँगको भेट मेरो लागि कहिल्यै नसोचेको कुरा हो। उहाँले हौसला दिनु भयो। मेरा लागि दुई चार शब्द बोलिदिनु भयो। देशकै प्रमुखले यति बोलिदिनु नै मेरो लागि हौसला, ऊर्जा र यही क्षेत्रमा लाग्न जिम्मेवारी दिनु भएको जस्तो भइरहेको छ।’
करणका आमाबुबा सिलाइकटाइ काम गरेर जीवन चलाइरहेका छन्। करण भने सानैदेखि संगीतप्रति रुचि राख्थे। जबदेखि जान्ने बुझ्ने भए, त्यस बेलादेखि नै आफूलाई गाइरहेको पाएको उनी बताउँछन्।
कक्षा सात पढ्दा पहिलोपटक करण प्रथम भए। त्यो जीतले उनलाई अझ आत्मविश्वासका साथ गीत गाउन हौस्यायाे। उनी भन्छन्, ‘मैले गीत गाउने ठाउँ कहीं छोड्दिनथिएँ। अवसरको रूपमा लिइहाल्थें।’
करण टोल-छिमेक र स्कुलका कार्यक्रममा गाउँथे। बाटातिरै कसैले गाउन आग्रह गरे पनि खुसी हुँदै गुनगुनाइदिन्थे। उनले गीत गाउने साथी सर्कल पनि बनाउने कोसिस गरे। तर उनले खेल्नका लागि मात्र मित्र हुन्थे जब गीत गाउँथे अनि लाखापाखा लाग्थे। भन्छन्, ‘गीत गाउँदा प्रायः म एक्लै हुन्थें।’
साथीभाइबीच गीत गाउँदा जति लोकप्रिय भए पनि करणका बुवा भने छोरोले कुनै काम गरिदिओस् भन्ने चाहना राखेका थिए। अझ परम्परागत पेशा गरिदिओस् र समय आएपछि विदेश जाओस् भन्ने थियो। करण भने ‘यो काम मलाई आउँदैन, गाउन रुचि छ, त्यही गर्छु’ भन्थे।
संगीत सिक्दा सात महिना त करणले हरेक दिन बिहान चार बजे उठ्थे। खाना पकाउँथे, तर नखाइ कपनदेखि हिँड्दै जोरपाटी पुग्थे। फर्किएर खाना खान्थे, फेरि कामका लागि जोरपाटी जान्थे। १० बजेदेखि ६ बजेसम्म पसल पसलमा कार्पेट बोकेर पुर्याउने काम गर्थे। बेलुका हिँड्दै डेरा फर्किन्थे। खाना बनाएर खाएपछि केही समय गुनगुनाउँथे। आँखाले निद्रा खोजेपछि सुत्थे।
अहिले करणकाे कार्यतालिका निकै व्यस्त छ। ‘हप्ताभरिकै लागि रेकर्डिङ तय छ,’ करणले भने, ‘मलाई फिल्मी, रोमान्टिक गीत गाउन मन लाग्छ।’
करण यताकाे काम सकेर अर्काे हप्ता गाउँ जाने याेजनामा छन्। ‘रोयौं भन्नुहुन्थ्यो। सायद, खुसीले होला। यताको काम सकेपछि अर्को हप्ता गाउँ जान्छु। उहीं पुगेर आमाबुबासँग खुसी साट्छु। अब त उहाँहरू छोराले संगीतमै राम्रो गर्छ भन्ने सोच्दै हुनुहुन्छ होला।’
आफूले पाएको पुरस्कार राशिबाट करणले बुवालाई ऋण तिर्न पैसा दिएकाे बताउँछन्। भन्छन्, ‘अघिल्लो वर्ष मात्र एक कट्ठा जमिन किन्नु भएको थियो बुवाले। त्यो ऋण थियो। खासमा विदेश गए भए पनि मैले ऋण तिर्नुपर्छ भन्ने थियो तर आइडल भएर जितेको रकमले ऋण तिर्न पाएँ।’
आइडलको यात्रा सुरुवात मान्छन् करण। भन्छन्, ‘मेरो यात्रा अब सुरु भएको छ। अब निरन्तर गीत गाउन पाए हुन्थ्यो।’