भजन शिरोमणि भक्तराज आचार्यका छोराद्वय सत्य-स्वरुप देशसञ्चार चौतारीको ५१ औँ अंकका अतिथि बनेका छन्। बुवा बितेको ५ महिनापछि देशसञ्चार न्यूजरुममा आइपुगेका सत्य-स्वरुपले बुवाको प्रशंसामा अनेकौँ शब्द खर्चिए। बुवाको दुखलाई महसुस गरे। बुवाका गीतहरुलाई गुन्गुनाए। पुरानो यात्राका कयौँ कथाहरुको स्मरण गरे।
बुवाको कथामा बनेको ‘आचार्य’ चलचित्रको प्रमुख भूमिकामा छन् सत्यराज आचार्य। बुवालाई गहिरोसँग महसुस गरेका कारण बुवाको दुखमा आँसु बहाउँदा कुनै कृतिम उपाय अपनाउनु नपरेको बताउँछन् सत्य। भाइ स्वरुप पनि दाजु सत्यको अभिनयबाट कायल बनेका छन्। उनले देशसञ्चार चौतारीका क्रममा भने- ‘निकै राम्रो काम गरेको छ।’
सानोमा सत्य-स्वरुपले धेरै सिनेमा हेरेको तर बुवाको भूमिका खेल्ने क्रममा अभिनेता सौगात मल्लसँग अभिनय सिकेको पनि सत्यराज आचार्यले बताए। ‘एक्ट इट नट टु एक्ट भनेजस्तै मैले सौगातको मद्दतले सिनेमाको चरित्रमा राम्ररी अभिनय गर्न सकेँ,’ सत्यराजले भनेँ।
बुवाकै चाहनाअनुसार १५ वर्षअगाडि बनेको आचार्य फिल्मलाई फेरि रिलिज गरेको उनीहरुले बताए। त्यो बेला नपाएको माया यो चलचित्रले अहिले पाएको उनीहरुले बताए। बुवालाई सम्झिँदै सत्य-स्वरुपले बुवा अद्भूत गवैया रहेको बताए। भक्तराज आचार्य दूरदर्शी र नियममा प्रतिबद्ध रहेको पनि छोराद्वयले बताए।
बुवा र नारायणगोपालबीचको सम्बन्ध खोतल्दै स्वरुपराज आचार्यले कुनै समयमा रक्सी खाएपछि बुवालाई छाड्न नारायणगोपाल आफ्नो पुरानो बाइक चढेर आउनुहुने बताए। ‘हामी त सानै थियौँ तर आमाले हामीलाई यो किस्सा सुनाउनुहुन्थ्यो,’ उनले भने।
बुवा भक्तराज आचार्य आवश्यकताअनुसार दिनभरि नै रियाज गर्नसक्ने सत्यराज आचार्यले बताए। ‘ठूलो आवाज, गहिरो स्वर र उच्चारणमा शुद्धता’ बुवाको विशेषता भएको उनले बताए। बुवाको रियाजको भारतीय गायक गुलाम अलिले पनि प्रशंसा गरेको स्मरण स्वरुपराज आचार्यले बताए।
बुवाले आफ्नो संगीतमा मात्र होइन, अरुको संगीतमा पनि उत्तिकै मीठो गाउने भक्तराज आचार्यका छोराद्वयले बताए। भक्तराजका छोराद्वयले अद्भूत गायकको प्रतिभाका अनेकौँ किस्सामात्र सुनाएनन्, उनले नै गाएका गीत गाएर बुवालाई श्रद्धाञ्जलि पनि दिए।
भक्तराज आचार्यमाथि भएको सांघातिक आक्रमण र त्यसपछि उनलाई भएको जिब्रोको क्यान्सरले उनको जीवन र गायनयात्रा दुवै थला परेको छोराद्वले बताए। ‘दस वर्षसम्म हाम्रो घरमा हार्मोनियम बजेन,’ स्वरुपले भने।
भजन शिरोमणि भक्तराज आचार्यका छोराद्वय सत्य-स्वरुपसँग गरिएको देशसञ्चार चौतारीको पूरा अंश:

भर्खरै
लोकप्रिय






































































































































































































