
विश्व फुटबलमा आफ्नो एकछत्र उपस्थिति देखाइरहेका विश्व प्रसिद्ध स्टार लियोनेल मेसी अर्को एउटा महत्वपूर्ण उपाधि नजिक छन्। लामो समय देशका लागि उपाधि जित्न नसकेको दाग बोकेर मैदानमा बिताएपनि पछिल्ला वर्षहरु भने मेसीका लागि स्वर्णीम बनिरहेका छन्।
खेलजीवनको उतरार्धमा कोपा अमेरिका र विश्वकप ट्रफि चुमिसकेका मेसी लगातार मुख्य उपाधि जित्दै ह्याट्रिकको दाउमा छन्। यस्तोमा विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा-अमेरिकाको जारी संस्करणको सेमिफाइनलमा बुधबार बिहान मेसीको अर्जेन्टिना क्यानडासँग फाइनल प्रवेशका लागि भिड्दै छ।
नेपाली समयअनुसार बुधबार बिहान ५:४५ मा सुरु हुने खेलमा अर्जेन्टिना क्यानडालाई दोस्रो पटक हराएर फाइनल पुग्ने लक्ष्यमा रहेको छ। त्यस्तै ‘डार्क हर्स’ को छबी बनाएको क्यानडा भने समूहचरणमा अर्जेन्टिना विरुद्ध ब्योहोरेको हारको बदला लिंदै पहिलो सहभागितामै सनसनिपूर्ण रुपमा फाइनल पुग्न चाहन्छ।
विश्व फुटबलमा क्यानडाभन्दा अर्जेन्टिना सबै अर्थमा बलियो छ। तर जारी प्रतियोगितामा क्यानडाले अविश्वसनिय रुपमा जित हासिल पार्दै सेमिफाइनल यात्रा तय गरीसकेको छ। प्रारम्भिक चरणमा यी दुवै टोली समूह ‘ए’ मा रहेर एक अर्का विरुद्ध भिडिसकेका छन्।
आफ्नो पहिलो खेलमा क्यानडालाई नै २-० ले हराएर विजयी सुरुवात गरेको अर्जेन्टिना फरक माहोल र फरक स्थितिमा बुधबार बिहान क्यानडासँग पुन भिड्दै छ। सोही समूहबाट चिलीलाई पछि पार्दै उपविजेता बनेर अघि बढेको क्यानडा राम्रो लयमा देखिंदा अर्जेन्टिना फाइनल पुग्ने दबाबलाई झेल्दै क्यानडालाई हराउने लक्ष्यमा छ।
प्रतियोगिताको क्वाटरफाइनलमा अर्जेन्टिना र क्यानडा दुवैले पेनाल्टी सुटआउटबाट नतिजा आफ्नो पक्षमा पारेका थिए। क्वाटरफाइनल चरणमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदा क्यानडाले भने भेनेजुएलालाई पेनाल्टी सुटआउटमै ४-३ ले पाखा लगाएर सेमिफाइनल प्रवेश गरेको थियो। फिफा वरियतामा विश्व नम्बर एक अर्जेन्टिना भन्दा क्यानडा ४८ स्थान पछि छ।
कोपा अमेरिका फुटबल इतिहासमा सफल राष्ट्रको छबी बनाएको अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै १६ औं पटक यो उपाधि जित्ने प्रयासमा छ। अर्जेन्टिनाले सन् १९२१ मा पहिलो पटक उपाधि जितेको थियो। पछिल्लो पटक अघिल्लो संस्करण अर्थात सन् २०२१ मा च्याम्पियन बनेको थियो। क्यानडा भने पहिलो पटक यो प्रतियोगितामा सहभागि भएको हो।
अर्जेन्टिना र क्यानडाबिच अन्तर्राष्ट्रिय फुटबलमा अहिले सम्म दुइपटक प्रतिस्पर्धा भएको छ। दुबै भेटमा क्यानडा अर्जेन्टिनासँग हारेको छ। सन् २०१० मा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई ५-० ले हराएको थियो भने पछिल्लो पटक गत जुन २० मा यहि प्रतियोगिताको समूहचरणको खेलमा क्यानडा २-० ले पराजित भयो।