
पोखरा- वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई श्रीपती समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ।
पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार यो वर्ष रुइतलाई प्रदान गरिने भएकोे हो।
म्यागासेसे पुरस्कार विजेतासमेत रहेका डा.सन्दुकलाई पुरस्कृत गर्ने शनिबार घोषणा गरिएको छ। उनलाई दृष्टिका देवता भनेर पनि चिनिने गरिन्छ।
पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँसहित सम्मानपत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए।
श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो। पुरस्कार ३२ औं वार्षिक साधारणसभामा प्रदान गरिने अध्यक्ष कोईरालाले बताए।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमूना वृद्धसेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत भइसकेका छन्।