
चितवन – नारायणगढ– मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका यात्रुसहितका दुई बसको खोजी कार्य जारी रहेको छ।
बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सरोकारवालाहरू खोजी कार्यमा खटिएका छन्।
खोजीकार्यको जानकारी लिन चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव घटनास्थल पुगेका छन्। उनले बिहानदेखि अहिलेससम्म भएको कामको आधिकारिक जानकारी भने दिन माननेन्।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
भरतपुर महानगर– २९ मा पर्ने चौकी डाँडामा बाटो खन्दा थुप्रिएको धेरै माटो एकैपटक तल आएर बसलाई सोहोरेर नदीमा बगाएको थियो। उद्धार कार्यमा संलग्न सशस्त्रका एक अधिकारीले चौकीबाट धेरैमाटो आउँदा त्यही माटोमुनि नै बस पुरिएको आशंका रहेको बताए। पहिरो खसको ठाउँमा धेरै खोंच भएकाले उद्धार गर्न जान अप्ठ्यारो भएको उनको भनाइ छ।

भरतपुर महानगरको २९ वार्डमा पर्ने चौकी डाँडामा बाटो खन्दा थुप्रिएको माटाे
काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।
काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौंतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन्।
उक्त बाढीले बेपत्ता भएका यात्रुमध्ये एक पुरुषको शव शनिबार बिहान भेटिएको छ। उनी भारतीय नागरिक रहेको स्रोतले जानकारी दिएको छ।