
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ताहरू खगेन्द्रप्रसाद चापागाईं, शैलेन्द्रकुमार गुप्ता र दीपक अधिकारी सर्वोच्च पुगेका हुन्।
ओलीलाई आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर गर्दै अधिवक्ताहरूले रिट निवेदन दिएका हुन्।
शुक्रबार कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्रीका लागि दाबी पेश गरेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
प्रधानमन्त्री ओलीले आज सोमबार बिहान ११ बजे पद तथा गोपनीयताका शपथ लिने भनिएता पनि हालसम्म शपथ भने भएको छैन।
यता, सरकारमा जानका लागि एमालेसँगै कांग्रेसले पनि मन्त्रीहरूको टुंगो लगाइसकेको छ।