
कास्की २ बाट निर्वाचित भएकी विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन सोमबार २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ओली नेतृत्वको मन्त्रिपरिषदमा कास्कीकी भट्टराई शिक्षामन्त्री बनेकी हुन्।
राजनीति छाडेर प्राध्यापनमा लागेकी उनी श्रीमान रवीन्द्र अधिकारीको ताप्लेजुङे हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै राजनीतिमा फर्किएकी थिइन्। २०३० सालमा सिन्धुपाल्चोकमा जन्मिएकी विद्याको परिवार नै राजनीतिमा थियो।
राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च हेमराज र भगवती भट्टराईकी छोरी हुन् विद्या। उनकाे परिवारमा राजनीतिक माहोल नहुने कुरै भएन।
कक्षा ७ मा पढ्ने बेलामै राजनीतिमा होमिएकी विद्या अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएर अनेमसंघको नेत्री भइन्। २०५५ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारी सम्हालिन्। उनी सचिव हुँदा रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए। संगठनको जिम्मेवारीमा रहेका विद्या र रवीन्द्रबीच प्रेमको चर्चा हुन्थ्यो।
२०५६ असारमा विद्या र रवीन्द्रले लगनगाँठो कसे। दाम्पत्य जीवनमा बाँधिएकी विद्या बिस्तारै राजनीतिक फ्रन्टलाइनबाट अलग्गिइन्। २०५६ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रतर्फ लागिन्।
रवीन्द्रको राजनीतिलाई उभार ल्याउन मेरुदण्ड बनेकी विद्या गुमनाम भएर घरगृहस्थीमा व्यस्त भइन्। राजनीतिलाई चटक्कै बिर्सेर उनले प्राध्यापनलाई रोजिन्। २०५८ देखि प्राध्यापन पेशा सुरु गरेकी विद्याले ८ वर्ष सामुदायिक क्याम्पसमा पढाइन्। समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिल सकाएकी विद्या २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी उपप्राध्यापकको जागिरे थिइन्।
अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएका रवीन्द्र भने नेपाली राजनीतिमा स्थापित भए। उनले २०६४, २०७० र २०७४ सालमा भएको निर्वाचनमा कास्की २ बाट निर्वाचित भएर ह्याट्रिकको रेकर्ड बनाए। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएको बखत २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर उनी अस्ताए।
अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा उपनिर्वाचन भयो। २०७६ मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा पार्टीले विद्यालाई टिकट दियो। जबकि विद्याले सक्रिय राजनीतिमा फर्किनेबारे सोंचेकै थिइनन्।
सहकर्मीलाई गुमाएको पीडामै रहेकी विद्याले स्थायी जागिर थालेको ४ वर्षमै प्राध्यापनबाट राजीनामा दिएर निर्वाचन लडिन्। उनको पक्षमा आएको निर्वाचनको परिणामले जीवनमा नयाँ मोड लियो।
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तर पराजित गर्दै विद्याले संसदमा डेब्यु गरिन्। सक्रिय राजनीतिबाट अलग्गिएको दुई दशकपछि नचाहेरै राजनीतिमा फर्किएकी विद्या २०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा पनि कास्की–२ बाट फेरि निर्वाचित भइन्।
घटनाक्रमले संसद छिरेकी विद्या संसद नबनेर अध्धयन अनुसन्धानको क्षेत्रमा लाग्न चाहन्थिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले कर गरेर टिकट थमाएपछि चुनाव लडेकी उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तर पराजित गरिन्। विद्या १६ हजार ९९८ मत ल्याएर दोस्रो पटक निर्वाचित भइन्।
२०७९ असारमा प्रतिनिधिसभाको उपसभामुखमा विद्यालाई एमालेले उम्मेदवार बनाएको थियो। कांग्रेसकी पुष्पा भुसाल १४८ मतसहित विजयी हुँदा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेकी उम्मेदवार विद्या ९३ मत पाएर पराजित भएकी थिइन्।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएर बनेको सरकारमा पनि मन्त्री बन्ने विद्याको चर्चा थियो। यो पटक ओलीको क्याबिनेटमा अटाएकी विद्या प्राध्यापनबाट राजनीतिमा फर्किएकाले शिक्षा क्षेत्र सुधारको अपेक्षा गरिएको छ।