
यसै सिजन रियलमा अनुबन्धित भएका फ्रेन्च स्टार केलियन एमबाप्पेलाई क्लबले मंगलबार औपचारिक रुपमा सार्वजानिक गरेको छ। सान्टियागो बर्नाबाउमा हजारौं घरेलु समर्थक माझ उनलाई रियल म्याड्रिडका खेलाडीको रुपमा क्लबले सार्वजानिक गरेको हो।
रोनाल्डोलाई आफ्नो आइडियल मान्दै आएका एम्बाप्पेले रोनाल्डोको शैलीमै रियलबाट सार्वजानिक भए। उनले क्लबमा रोनाल्डो सार्वजानिक हुँदा प्रयोग गरेको ९ नम्बर जर्सी प्रयोग गर्ने भएक छन्। उनी रोनाल्डोले झै जर्सी चुम्दै उनकै शैलीमा दर्शकलाई अभिवादन गरेका थिए। यद्यपि रोनाल्डोले पछि जर्सी नम्बर ७ प्रयोग गरे। रोनाल्डो अहिले पनि सिआर-७ बाट परिचित छन्।
एमबाप्पे रियल म्याड्रिडमा गत महिना अनुबन्धन हुने निश्चित भएको थियो। तर फ्रान्ससँग प्रशिक्षणमा रहेका कारण उनी रियलबाट सार्वजानिक भएका थिएनन्। एम्बाप्पेले जर्मनीमा भएको युरो २०२४ मा फ्रान्सको नेतृत्व गरेपनि उनको ब्यक्तिगत प्रदर्शन भने निरासाजनक रह्यो। फ्रान्स सेमिफाइनलबाट बाहिरिएको थियो।
एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री-ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड आएका हुन्। २५ वर्षीय फरवार्डलाई स्वागत गर्न म्याड्रिडको रंगशालामा ८० हजारभन्दा बढी समर्थकहरु उपस्थित थिए।
पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक फ्रेन्च लिग जितेका थिए। उनले पेरिसस्थित क्लबबाट चार फ्रेन्च कप, दुई फ्रेन्च लिग कप र तीन फ्रेन्च सुपर कप पनि जिते। एमबाप्पेले क्लबमा आफ्नो सात सिजनको अवधिमा पिएसजीका लागि ३०५ खेल खेल्दै २५५ गोल गरे। यद्यपि उनले च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्।