
काठमाडौं- सडक डिभिजन कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण रोकिएको काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य फेरि तीब्र गतिमा सुरु भएको छ।
काठमाडौं महानगरपालिकाले विस्तार गरिरहेका बेला सडक डिभिजनले सामान जफत गरिदिएपछि महानगरले उच्च अदालतमा रिट हालेको थियो। अदालतले फुथपाथ विस्तारका काम सडकले नरोक्न आदेश दिएपछि महानगर पुन: विस्तार कार्यमा खटिएको हो।
उच्चको आदेशसँगै महागरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको कार्य थालनी गरेको छ। आज बिहीबार पनि धमाधम काम भइरहेको छ।
अदालतले ‘सहरी सडक स्थानीय तह मातहतमा रहने’ सो रिटमा सुनुवाइ गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो।
यस विषयमा सडक डिभिजन र काठमाडौं महागरबीच विवाद चर्किएपछि अदातल जानुपर्ने अवस्था आएको हो। महानगरले काटेको कालोपत्र सडकले टालेको थियो।
सडक र महानगरबीचमात्र नभएर सो क्षेत्रमा पर्ने महानगरभित्रका वडाका जनप्रतिनिधिबीच पनि आन्तरिक विवाद भएको थियो। यस विषयमा न्युरोडका व्यापारी तथा न्युरोडबासीहरू पनि सडकमा उत्रिएका थिए। अब भने उच्चले नै विस्तारको आदेश दिएपछि महानगरले विस्तार कार्यलाई तीब्रता दिएको हो।
थप तस्बिरहरू:














