
काठमाडौँ- रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले २०२४ को क्लब स्थापना समारोह सम्पन्न गरेको छ। रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि १२ औं अध्यक्षको रूपमा पदभार ग्रहण गरे। यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान अन्तर्गत स्थापना भई सञ्चालनमा रहेको छ।
यस क्लबले दलसिङे, काभ्रेमा रु ६७ लाख रुपैयाँको भूकम्प पुनर्स्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्तिमा निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासका परियोजनाहरूमा काम गरिरहेको छ।
स्थापना समारोहमा क्लबका सदस्यहरू, उनका जीवनसाथीहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरू सहित ६० भन्दा बढी सहभागीहरू थिए। प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्की र उनकी जीवनसाथीले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे जानकारी दिए।
असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएकोमा जोड दिए। उनले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिकअफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४–२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू बाँडे। अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गरे। कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एस.ई.ई.पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरियो। क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफलभएकोमा सम्मान स्वरूप अध्यक्ष राज श्रेष्ठ र प्रमुख अतिथि राजेन्द्र धोजुले संयुक्तरुपमा सम्मानित गरे।