
काठमाडौँ – काठमाडौँ महागरपालिका वडा नम्बर २२ का स्थानीयले मेयर बालेन शाहको पुतला जलाएका छन्।
महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न लागेको विरोधमा उनीहरुले मेयर शाहको पुतला जलाएका हुन्। स्थानीयको विरोधका कारण शुक्रबार दिनभर न्यूरोड क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो।
उच्च अदालत, पाटनले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।
तर, शुक्रबार बिहानैबाट काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन्।
स्थानीयले रातभर सडकमै बस्ने बताएका छन्। नगर प्रहरी पनि अहिलेसम्म न्यूरोडमा तैनाथ छ।