
साधारणतया मध्यान्हपछि हुन्थ्यो, गुरुदेवको खाना खाने समय । सब्जी कहिले आफैँ बनाउनुहुन्थ्यो भने कहिले आश्रममा अरुले बनाएको खानुहुन्थ्यो । उहाँले बनाएको खानेकुरा साह्रै मीठो हुने । कुनै पनि सब्जी या आलु काट्दाखेरि उहाँ सबै टुक्रा एउटै आकारको बनाउनुहुन्थ्यो । गुरुदेव धेरैजसो आफ्नी आमा राधिका सुन्दरी देवीले उहाँलाई केटाकेटी हुँदा बनाएर ख्वाएको सब्जीको सम्झना र प्रशंसा गर्नुहुन्थ्यो ।
उहाँले खाने बेलामा कुरा मिल्ने कोही अतिथिहरु आश्रममा आउनुभएको छ भने भान्सामा सँगै लिएर आउनुहुन्थ्यो र खाना बनाएर उहाँलाई पनि ख्वाउनुहुन्थ्यो । अहिले पनि यहाँ आउने कतिपय महानुभावहरुले गुरुदेवले पकाएर सँगै बसाएर ख्वाएको सम्झना गर्नुहुन्छ । धेरैजसो आफूले बनाउँदा गुरुदेव एउटा सब्जीमा झोल बनाउनुहुन्थ्यो । पनिर उहाँको प्रिय सब्जी थियो । शिवपुरीमा तपस्या गर्दाका समयमा नै छिटो छरितो गर्नका लागि हुनुपर्छ उहाँले यसरी एउटा सब्जीमा झोल हालेर खाने अभ्यास गर्नुभएको ।
दाहिने हातले उचाल्न र खन्याउन सजिलो हुन्छ भनेर दाल सब्जी सबै कुराहरु दाहिनेतिर राख्न लगाउनु हुन्थ्यो । खाना राख्दा पनि थालको दाहिने पट्टिको भाग खाली राख्न भन्नुहुन्थ्यो । यसो गर्दा सबैकुरा मिसाएर दाहिने हातले मुछ्न सजिलो हुँदोरहेछ । खानेकुरा गरम छ भने प्लेट या अरु केहीले पंखा लगाएर अलिक ठण्डा भएपछि मात्र खानु हुन्थ्यो । यदाकदा हाँस्दै भन्नुहुन्थ्यो, ‘सायद खानालाई यसरी अर्को प्लेटले पङ्खा लगाएर खाने म मात्रै होला । खानेकुरा र शरीरको तापक्रम बराबर हुनुपर्छ । जनावर पनि खानेकुरा गरम छ भने एकछिन पर बसेर हेर्छ र अलिक चिसो भए पछि मात्र खान्छ ।’ गुरुदेवले कहिले पनि हतार गरेर खाना खाएको देखिएन । आफ्नै सुरमा मुछेर खाना बिस्तारै खानुहुन्थ्यो । खाना खाइसकेपछि केही गुलियो खानेकुरा भयो भने राम्रो मान्नुहुन्थ्यो।
गुरुदेवको खानाको परिमाण साह्रै नै थोरै हुन्थ्यो । यसैकारणले होला खाना खाएको केही क्षणमा नै उहाँलाई भोक लाग्दो रहेछ । त्यसपछि दालमोट, चनाचुर, चना चेप्टा, मिल्क पाउडर यस्ता खानेकुराहरु खान मन गर्नुहुन्थ्यो । मैले उहाँ बिमारी भएको बेलामा, ‘गुरुदेव अलिक धेरै खानुपर्छ । यति थोरै खाएर त बाँच्न गाह्रो हुन्छ नि ।’ भनेर अनुरोध गरेको थिएँ । उहाँले अलिक ठट्टा गरेर जवाफ दिनुभएको थियो, ‘थोरै खाएर पनि राम्रै बाँचिन्छ के ।’
हाम्रो भान्साघर पुरानो जमानाको काँचो इँटा र माटोले बनेको थियो । भान्सा भूइँ तल्लामा थियो । त्यो घरमा सिमेण्टको प्रयोग कहीं पनि भएको थिएन । माथिल्लो तल्लामा चढ्ने काठको भर्याङ थियो । माथिल्लो तल्लाको भूईंमा चिर्पट दाउरामा माटो छापिएको थियो । घर पुरानो भएर हुनसक्छ काठहरु मक्किएका र किराले खाएको हुँदा माथिबाट माटो र काठको धूलो बुरुरु झर्थ्र्यो । प्लाष्टिक लगाएर त्यसलाई अस्थायी रुपमा नियन्त्रण गर्ने व्यवस्था मिलाइएको थियो । त्यस समयमा यहाँ दम दिने फलामको ठूलो स्टोभमा खाना पाक्थ्यो । माटोको भूइँलाई कहिले कहीं गोबर माटोले लिप्ने गरेको थियो । त्यो भान्साघरमा केवल नेपालका मात्र होइन संसारका धेरै देशका मानिसहरुले भूइँमा बसेर भोजन गरेका छन् ।
गुरुदेव शिवपुरीबाट आएपछि लामो समयसम्म यही घरको माथिल्लो तल्लामा बस्नुभएको थियो । यो घरमा सिमेण्ट, बालुवा र रडको प्रयोग नगरिएको हुँदा घरभित्र प्रवेश गर्नासाथ बेग्लै किसिमको शान्ति र शितलता अनुभव हुन्थ्यो । न गर्मीमा गर्मी हुने न जाडोमा जाडो । आफू बसेको कोठामा अलिक हल्ला भयो भन्ने लाग्यो भने लेखपढ गर्न पनि दिउँसोको समयमा गुरुदेव यही कोठामा आउनुहुन्थ्यो ।
एउटा कालखण्डमा आश्रममा नियमित बस्ने साधुसन्त भनेको गुरुदेव र म मात्र भयौं । मेरो जिम्मेवारी विद्यालय र आश्रम दुबै तिर भइरहन्थ्यो । म केही काम पर्दा कहिले विद्यालयतिर दगुर्थें भने फेरि गुरुदेवले डाक्नुभयो भने आश्रममा फर्किएर आउँथे ।
आफ्नो वरिपरि कोही भरपर्दो मानिस भयो भने गुरुदेव ढुक्क मान्नुहुन्थ्यो । गुरुदेवको स्वभावको अर्को अनौठो पक्ष के थियो भने उहाँले कसैलाई कुनै काम गर्न भन्नुभएको छ भने सम्बन्धित व्यक्तिले त्यो काम टुङ्गै लगाओस् भन्ने चाहनुहुन्थ्यो । कुनै एउटा सामान्य बस्तु पनि कसैलाई ल्याउन भन्नुभएको छ तर त्यो व्यक्तिले गुरुदेवकोमा जान आँटेको अर्को व्यक्तिलाई त्यो सामान पुर्याउन लगायो भने ठीक मान्नु हुन्नथियो । यसमा त्यो व्यक्तिको अनुशासन पनि देखिन्थ्यो ।
धेरैजसो नुहाइसकेपछि सिधै गुरुदेव भान्साघरमा जानुहुन्थ्यो । गुरुदेव खाना खाने बेलामा कोही व्यक्ति आफ्नो साथ भइदिए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । त्यो व्यक्ति कुरा गर्ने, हाँस्य रसले भरिएको र आफ्ना जीवनका घटना र अनुभवहरुको कुशलताका साथ वयान गर्न सक्ने भयो भने झन् खुशी हुनुहुन्थ्यो । यसका लागि पढेको या विद्वान नै हुनुपर्छ भन्ने थिएन । यहाँ फूलबारी या भान्साघरमा काम गर्ने, सरसफाई गर्ने कर्मचारीहरुसँग पनि उहाँ मित्रवत व्यवहार गर्नुहुन्थ्यो । उनीहरुका कुराहरु रमाइलो मानेर सुन्नुहुन्थ्यो ।
चेला बनाउने विषयमा पनि कोही आयो भने उहाँ उत्साह दिएर यस मार्गमा अग्रसर हुन सहयोग गर्नुहुन्थ्यो । तर फेरि सम्बन्धित व्यक्तिबाट हुँदैन भन्ने लाग्यो भने, ‘घर जाउ, बिबाह गर, सन्तानसन्तति उत्पन्न गरेर शिक्षा संस्कार देउ ।’ भनेर बिदा पनि गरिदिनुहुन्थ्यो ।
खाना खाएपछि कुनै कामको हतारो छैन भने गुरुदेव एकछिन भान्सा कोठामा नै बस्नुहुन्थ्यो । त्यस बेला उहाँ सिन्काले आफ्नो दाँत सफा गर्नुहुन्थ्यो । फुर्सदमा हुनुहुन्छ भने कुराकानी गर्नुहुन्थ्यो । कुराकानीका क्रममा कहिले कहिले आफ्नो वरिपरि कुनै सानोतिनो बस्तु, कागज अथवा सिन्काका टुक्राहरु छन् भने हातमा खेलाइ रहनुहुन्थ्यो । अनि आफ्नो काम सम्झिनुहुन्थ्यो होला, ‘ले म जान्छु है ।’ भनेर आफ्नो निवासतिर जानुहुन्थ्यो ।
त्यसदिन गुरुदेवले दिउँसो अलिक ढिला गरेर खाना खानुभयो । गुरुदेवले खाना खाइसकेपछि सधैं प्रयोग गर्ने बाटामा हातमुख सफा गर्नुभयो । नजिकै भएको तौलियाले हात र मुख पुछ्नुभयो । गुरुदेवको सेवा गरिसकेपछि मैले भूइँमा खसेका भातका सिता टिपेर त्यही बाटामा राखें र थाल कचौराहरुलाई एक ठाउँमा भेला पारें । मेरो स्वभावैले मलाई कुरा गर्नभन्दा त्यहाँ आवश्यक परेको काम के छ त्यसतर्फ उन्मुख गराइहाल्थ्यो । त्यस्ता कर्महरुलाई गुरुदेव ‘त्वरित कर्म’ भन्नुहुन्थ्यो । म त आफ्नै सुरमा काम गरिरहेको थिएँ । उहाँ ती सबै कुराहरु नियालिरहनुभएको रहेछ । मनमा लागेको कुरा उहाँले अङ्ग्रेजीमा भन्नुभयो, ‘I am happy that you are with me.’ (मलाई खुशी लाग्छ तँ मसँग छस् ।) गुरुदेव संस्था, सदस्य अथवा चेला बनाउने विषयमा त्यति धेरै उत्साह देखाउनुहुन्नथियो । ‘गीता, उपनिषद्, पातञ्जल योग आदि ग्रन्थहरुमा कहीं पनि संस्थाको कुरा उल्लेख गरेको छैन । यहाँ त भक्तहरु मलाई भेट्नका लागि आउने ठाउँ भएको हुँदा आफसेआफ यी सबै कामहरु भइरहेका छन् ।’ यही थियो उहाँको संस्थाका बारेमा मन्तव्य । चेला बनाउने विषयमा पनि कोही आयो भने उहाँ उत्साह दिएर यस मार्गमा अग्रसर हुन सहयोग गर्नुहुन्थ्यो । तर फेरि सम्बन्धित व्यक्तिबाट हुँदैन भन्ने लाग्यो भने, ‘घर जाउ, बिबाह गर, सन्तानसन्तति उत्पन्न गरेर शिक्षा संस्कार देउ ।’ भनेर बिदा पनि गरिदिनुहुन्थ्यो ।
गुरुदेवले मेरा प्रति दिनुभएको त्यस मन्तव्यका विषयमा मैले विनयका साथ जवाफ दिएँ, ‘गुरुदेव म भएर मात्र के गर्नु ? मलाई सङ्गीतको कुनै ज्ञान छैन । चित्र बनाउन आउँदैन । कविता लेख्न पनि आउँदैन …….।’ भनेर आफूले नजानेका कुराहरुको विवरण प्रस्तुत गर्न थालें । म जुन परिवेश र कालमा हुर्किएँ त्यस समयमा मेरा उमेरका धेरै जसो व्यक्तिहरुले बाल्यकालमा विद्यालयमा गएर पढ्नु बाहेक खालि समयमा गाईवस्तु चराएर, खोलामा पौडी खेलेर, डण्डीबियो खेलेर, रुख चढेर, घरमा खेतीपातीको काममा सघाएर, जङ्गलमा गएर दाउरा खोजेर यस्तै यस्तै काम गरेर बिताएको हुन्थ्यो । यही नै त्यस समयको नेपाली समाजको वास्तविकता थियो । हाम्रो समय र परिवेशमा सङ्गीत सिक्ने, चित्रकारिता गर्ने कुनै संस्थागत उपाय थिएन । कसैले आफ्नै व्यक्तिगत प्रतिभाले आफूलाई तयार पारे भने त्यो बेग्लै कुरा थियो । न त अभिभावकहरुको नै त्यस विषयमा उति जाँगर हुन्थ्यो । जसरी हुन्छ ‘पढेर ठूलो मान्छे बन्नुपर्छ ।’ भन्ने समाजको सर्वस्वीकार्य आफ्ना नानीबाबुहरुका प्रतिको आग्रह थियो ।
मेरो जवाफमा गुरुदेवले भन्नुभयो, ‘यी सबै कुरा नजानेर के भयो त ? तँसँग मानवता छ । मानवता सबैभन्दा ठूलो कुरा हो । यी अरु कुरा भनेको सिक्दाखेरि जान्ने कुरा हुन् । बङ्गालमा घर घरमा मानिसहरुले साहित्य, सङ्गीत र कलाको अभ्यास गरेका हुन्छन् । यी विषयहरु जानेका मानिसहरुको त्यहाँ कुनै पनि कमी छैन…….. ।’
मैले बङ्गाली समाजको सङ्गत गर्दा देखेको हो त्यहाँका अभिभावकहरु आफ्ना नानीबाबुहरुको शिक्षा र संस्कारमा अत्यन्त सजग हुँदा रहेछन् । बङ्गालमा रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, रवीन्द्रनाथ ठाकुर जस्ता महापुरुषहरु जन्मनुभएको हुँदा सामान्य नागरिकहरुमा पनि ती महापुरुषहरुको जीवनको ठूलो प्रभाव देखिन्छ । आफ्ना सन्तानलाई मानिसहरु तिनै महान् आत्माहरुको पथ अनुसरण गर्न प्रेरित गर्दछन् । यस कारण त्यहाँ औपचारिक शिक्षाका अतिरिक्त हरेक बालबालिकाले साहित्य, सङ्गीत र कलाको अभ्यास गर्ने संस्कृति नै रहेछ । गुरुदेवले पनि आफ्नो समाजमा त्यही देखेर आउनुभएको हो । यसकारण यी विषयहरुका अतिरिक्त मानिसमा मानवता पनि भए अझ सुहाउँदो हुन्छ भन्ने उहाँको विचार रहेको हुनुपर्छ ।
२०८१ आषाढ ३, बूढानीलकण्ठ