
सिमकोट – जिल्लाका उत्तरी क्षेत्रमा बसोवास गर्दै आएका लामा समुदायका बस्तीमा सञ्चालनमा आएका अधिकांश विद्यालय एकपछि अर्को बन्द हुने क्रम बढ्दै गएको छ।
माथिल्लो कक्षामा चढेपछि विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालय बन्द हुने क्रम बढेको हो। नाम्खा गाउँपालिका–६ को तील गाउँका अभिभावक कुन्जोक तामाङले गाउँको हिम शिखर प्राथमिक विद्यालय बन्द भएको स्वीकार गर्दै गाउँका अधिकांश विद्यार्थी बीचमै पढाइ छोड्ने भएको कारण विद्यालय बन्द गरिएको बताए। विद्यालयमा पठनपाठन समेत नियमित नहुँने भएको कारण अधिकांश विद्यार्थीले पढाइ छोड्ने गरेको उनको भनाई रहेको छ। लामा समुदायका विद्यार्थीलाई गुम्वाको टोपेमा पठाउने र जिल्ला बाहिर पनि पठाउने भएको कारण पनि समस्या देखिएको हो । यसरी विद्यालय बन्द हुनुमा उनले अभिभावक र विद्यार्थीलाई मात्र दोष नभएर राज्यले पनि लिनु पर्ने बताए।
उनले वर्षमा सामुदायीक विद्यालयका शिक्षक तीन महिना पनि विद्यालयमा नबस्ने भएपछि स्वभाविक रुपमा विद्यार्थीमा पढाइ प्रति बितृष्णा जाग्नु स्वभाविक भएको बताए। पाँच वर्ष अगाडी विद्यार्थी नभए कै कारण उक्त विद्यालय बन्द भएको थियो। शिक्षकलाई अन्यत्र ब्यवस्था गरिएको थियो। उक्त गाउँका स्थानीय पेम्बा तामाङले अधिकांश गाउँवासी तील गाउँ छोडेर काठमाडौं गएपछि विद्यार्थी पनि उतै लागेको कारण विद्यालय बन्द भएको बताए।
गत वर्ष मात्र नाम्खा गाउँपालिका– ६ कैे जाङ गाउँको भृकुटी प्रावि बन्द भएको थियो। त्यसरी उक्त विद्यालय बन्द हुनुमा अन्य कारण नभएर विद्यार्थी नभएको कारणले हो। विद्यालय भवन, शिक्षक दरबन्दी सबै भएको भएपनि विद्यार्थी नभए कै कारण विद्यालय बन्द गरिएको हो। विद्यालय बन्द भएपछि शिक्षकलाई गाउँपालिका फिर्ता गरिएको थियो। हाल विद्यालय भवन खाली अवस्थामा रहेको छ। अब त्यो भवन पनि जिर्ण बन्दै जाने निश्चित छ। यसरी लिमीको जाङ गाउँको भृकुटी प्रावि बन्द हुनुको कारणमा उक्त गाउँवासी सबै काठमाडौं बसाई सर्ने र अस्थायी रुपमा काठमाडौं जाने भएकोले भएको कुन्जोक तामाङले बताए। ४४ घरधुरी रहेको उक्त गाउँमा हाल सात घरधुरी मात्र छन्।
त्यहाँ पनि दुई जना विद्यार्थी बाँकी रहेका थिए। तर, अभिभावकले ती विद्यार्थीलाई पनि काठमाडौं पठाउनुपरेको थियो। जाङ गाउँका स्थानीय जाङमु तामाङले विद्यालय बन्द हुने खवर आएपछि निक्कै नरमाईलो लागेको बताउदै उनले विद्यालय बन्द गर्नुको अन्य बिकल्प नभएको बताए। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले अभिभावकले गाउँ छाडेको कारण विद्यार्थी पनि विद्यालय छोड्न बाध्य भएकोले विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताए। उनले लिमीका तीन गाउँ मध्य हल्जी गाउँमा रहेको सुनखानी आधारभुत विद्यालय राम्रैसंग सञ्चालन भई रहेको बताउदै अभिभावकले पनि राम्रो विद्यालय सञ्चालनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो बताए। तर उक्त विद्यालयमा गत वर्षको तुलनामा विद्यार्थी संख्या घट्दो क्रममा छ।
नाम्खा गाउँपालिका– ५ को यारी गाउँको दह बस्तीमा रहेको अरनीको प्राविमा हाल दुई जना मात्र विद्यार्थी अध्ययनरत रहेका छन्। ती पनि बालबिकासमा अध्ययन गर्ने विद्यार्थी हुन। अहिले पनि भर्ना भएका विद्यार्थींहरुको संख्या भने उक्त विद्यालयमा सात जना छ। तर, विद्यालयमा बालबिकासका दुई जना बाहेक अन्य कक्षाका विद्यार्थी आउदैनन्। गतवर्ष यति बेला उक्त विद्यालयमा एघार जना विद्यार्थी थिए। कक्षा पाँचसम्म अध्ययन हुने उक्त विद्यालयमा शिक्षकहरु भने तीन जना कार्यरत रहेका छन्। ती शिक्षकहरु एक जना दरबन्दी, एक जना काज र अर्का एक जना भने बालबिकासका सहजकर्ता छन्। उक्त विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले आफ्नो काम बिहान दश बजेबाट विद्यालय कुर्ने रहेको बताउछन्। विद्यालय आउने ती दुई जना बालबिकासका विद्यार्थी पनि आफ्नो इच्छा अनुसार आउने गरेको उनको भनाई रहेको छ। बिहान दश वजे भने ती बिधाथी कहिल्यै आउने गरेका छैन््। साँढे दश बजेपछि मात्र विद्यार्थी आउँछन्।
कुनै दिन त बालबिकासकी सहजकर्ता घर मै लिन जाने पनि गर्दै आएकी छन् । विद्यालयमा भौतिक संरचना भने राम्रो छ। दुई वटा पुराना भवन छन्। गतवर्ष मात्र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत निर्माण गरिएको दुई कोठे भवन छ। दुई वटा शौचालय रहेका छन्। तर, विद्यार्थी छैनन् विद्यालयमा। कस्तो अचम्म अभिभावकलाई समेत विद्यालय बन्द भएकोमा चासो नभएको उनको भनाई छ। प्रअ चौधरीको भनाईमा विद्यालयमा बालबिकासको कक्षा सकिने बित्तिक्कै अभिभावकहरु विद्यार्थीलाई हुने खानेहरु काठमाडौं लगाएत शहरमा पठनपाठनका लागि पठाउने गर्छन्। तर, हुँदा खानेहरु भने गुम्वामा टोपेका रुपमा अध्ययन गर्न पठाउने गर्छन। बिगत सात वर्षदेखि प्रअ चौधरी उक्त विद्यालयमा कार्यरत रहँदै आएका छन््। सुरुमा भएका विद्यार्थी विद्यालयमा आउने गर्थे। तीन वर्षयता विद्यार्थीको संख्या निकै घटेको उनकोे अनुभव छ। यस्तै हो भने आगामी शैक्षिक सत्रमा उक्त विद्यालय बन्द गर्नुपर्ने अवस्था पनि रहन सक्ने देखिएको छ।
माथिका यी घटनाका सम्वन्धमा नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढा यो समस्या टड्कारो रहेको बताउछन्। अन्य समुदाय भन्दा पनि लामा समुदायले विद्यार्थीको पठनपाठनमा त्यति ध्यान दिएको नपाईएको भनाई उनको छ। क्षेत्रफलका हिसावले नेपाल कै ठुलो स्थानीय तह भएको कारण पनि बस्तीहरु छरिएर रहेका छन्। तर विद्यालय भने सबै वस्ती पुगेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न समस्या भई रहेको उनको े छ। अरनीको प्राविका कक्षा पाँच पछि पढाइ छोडेका पुर्ब विद्यार्थी कासाङ लामाले घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छोडेर चीनको ताक्लाकोटमा काम गर्न जानुपरेको बताए।
सिमकोट गाउँपालिका– ३ को लिमाटाङ गाउँ पनि लामा जातिले बसोवास गर्ने गाउँ हो। २०३३ सालमा उक्त गाउँमा स्थापना भएको हिमगिरी प्रावि पनि गत वर्षबाट बन्द भएको छ। उक्त विद्यालयमा पनि बालबिकासमा अध्ययन गर्ने दुई जना भए पनि गाउँपालिकाले नै उक्त विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। विद्यालयमा भएका दुई जना शिक्षक र कार्यालय सहयोगीलाई वडा भित्रै कै रलिङ माविमा सरुवा गरेको थियो।
उक्त गाउँकी स्थानीय छपाल लामाले मानिसहरु काठमाडौं र सदरमुकाम मुखी हुन थाल्दा गाउँमा विद्यार्थी नभएपछि विद्यालय बन्द भएको बताईन। उनले गाउँका विद्यालयमा सेवा र सुबिधा नभएपछि अभिभावक विद्यार्थीलाई गाउँका विद्यालयमा राखेर पढाउने रुचिमा नरहेको बताईन। यस सम्वन्धमा शिक्षा बिकास तथा समन्वय ईकाईका निमित्त प्रमुख योगेस आलेमगरले विद्यालय बन्द हुने क्रम लामा वस्तीका विद्यालयमा बढी देखिएको बताए।