प्रवासमा नेपाल जोगाउने जमर्को – हाम्रो चौतारी 

प्रवासमा नेपाल जोगाउने जमर्को – हाम्रो चौतारी 
+
-

लामो समयको अन्तरालपछि आजको हाम्रो अमेरिकी चौतारीमा नेपाली राजनीति छिर्‍यो।  सामान्यतया: हामीले नेपाली राजनीति सम्बन्धी गफहरुलाई चौतारीमा  निस्तेज गर्ने गरेका छौँ। तर जति नै रोक्न खोजे पनि  कुनै न कुनै निहुँमा राजनीतिक गफ छिरिनै राखेका हुन्छन् ।

प्रसङ्ग अमेरिकाको क्यालिफोर्निया राज्यको अल्बानी भन्ने सानो सिटीमा यहाँ बस्ने हामी केही नेपाली मिलेर यहाँको क्रिएटिभ युथ अर्गनाइजेसन नेपाल भन्ने संस्थाको समन्वयमा खोलेको नेपाली कक्षा र त्यो कक्षाको  समयमा हामी अभिभावकहरु बसेर चिया गफ गर्ने चौतारी कार्यक्रममा हुने गरेका कुराकानीको हो। हाम्रो नेपाली स्कुल प्रत्येक दुई हप्तापछि आउने आइतबार हुने गर्छ । हामी सँग करिब १२० जना विद्यार्थी छन्। स्कुल सञ्चालन भएको समयमा हामी अभिभावक भने एउटा कोठामा बसेर चिया गफ गर्ने गर्छौं। हामी बिचबाट पालो पालो गरेर चिया स्पोन्सर गर्ने गर्छौं। चौतारीमा साथीहरुलाई तान्ने मुख्य दुई वटा आकर्षण छन् – हाम्रा मिठा गफ र मिठो नेपाली दुधको चिया।

सन् २००४ तिर नेपालमा भएका राजनीतिक घटनाक्रमहरु र तिनले निम्त्याएका जटिलताहरुको बारेमा छलफल गर्ने र त्यस्ता घटनाका पीडितहरुलाई नैतिक र बौद्धिक उर्जा प्रदान गर्ने उदेश्यले बर्कले विश्वबिध्यालयका प्रोफेसर आमोद पोख्रेलले बर्कलेमा अध्ययन गर्ने एमनेस्टी इन्टरन्यासनल सँग सम्बद्ध नेपाली बिद्यार्थी र अन्य साथीहरुसँग मिलेर एउटा अनौपचारिक छलफलको थलोको रुपमा चौतारीको सुरुवात गर्नु भएको थियो। राजनीतिक कारणले होस् या अन्य कारणले अस्थायी वा स्थायी रुपमा देशबाट बिस्थापित भएका बर्गलाई हुने मानसिक तथा भावनात्मक तनाव ब्यबस्थापनमा सहयोग गर्न चौतारीले ठूलो भूमिका खेलेको आमोद सरको अनुभव छ। चौतारीमा हुने कुराकानीले हामीलाई नेपालसँग जोड्ने मात्र होइन विदेशिएपछि प्रवासीमा हुने मानसिक तनावलाई कम गर्न एक प्रकारको सामुहिक परामर्शदाताको काम गर्दछ। पछि सानफ्रान्सिस्को बे एरियाका सन्नीभेल तथा अन्य नेपाली कक्षा सञ्चालन हुने ठाउँहरुका चौतारी कार्यक्रम सुरु गरियो जसले बच्चाहरु कक्षामा पढिरहेको बेला अभिभावकहरु एउटा कोठामा भेला भएर भलाकुसारी गर्ने, आफ्ना अनुभवहरु साटासाट गर्ने र आफूसँग भएका महत्वपूर्ण बिबिध विषयका जानकारीहरु एक अर्कामा साटासाट गर्ने अवसर प्रदान गर्‍यो। अल्बानीको चौतारी त्यस्तै चौतारीहरु एउटा नयाँ संस्करण हो ।

चौतारीमा हाम्रा गफका बिषय आ आफ्ना अनुभवहरु हुने गर्छन्। कार्यक्रमको संयोजन यूनिभर्सिटी अफ सान फ्रान्सिस्कोका प्राध्यापक डा. टिका लम्सालले गर्नुहुन्छ। टिका सरको कार्यक्रम सहजीकरण गर्ने सरल र इनगेजिङ्ग शैली आफैमा स्मरणीय हुने गर्छ। नेपालबाट यहाँ घुम्न आउनु भएका बुबा आमाका पुराना अनुभवहरुले चौतारीमा पहिलो प्राथमिकता पाउने गर्छन् । नेपाली सिनियर सिटिजनका त्यस्ता अनुभवहरु हामी प्रवासी हरुका लागी अमूल्य र अनपेक्षित कोसेली हुन्। ती ऐतिहासिक अनुभवहरु बर्षौंअघि नेपाल छोडेका, पूर्ण रुपमा नेपाललाई भुलिनसकेका र पूर्ण रुपमा अमेरिकन पनि नभईसकेका हामी जस्ता मझधारका मान्छेहरुलाई मातृभूमिसँग जोड्ने दुर्लभ पुलेसा हुन्। अमेरिकी पाहुनाको रुपमा आउनु भएका बुबा आमाका अनुभवहरुले हामीलाई भावनात्मक तिर्थयात्राको बाटोतर्फ डोर्‍याउने गर्छन्।

हार्मो चौतारीमा दोश्रो प्राथमिकता पाउने गफहरुमा  दैनिक जीवनमा हामीले आर्जन गरेका अनुभवहरु  पर्ने गर्छन्। त्यहाँ भेला हुने हामी नेपालीहरु बिभिन्न क्षेत्रमा विशिष्टता  प्राप्त गरेका मानिसहरु छौँ। कोही शिक्षाको क्षेत्रमा, कोही न्यायको क्षेत्रमा, कोही सार्वजानिक सेवाको क्षेत्रमा त कोही स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्छौ। कोही भने आफ्नै व्यापार ब्यबसाय गर्ने मान्छेहरु छौँ। हामीले आफ्नो कार्य क्षेत्रमा हासिल गरेका अनुभवहरु एक अर्कामा आदान प्रदान गर्दा एक अर्कालाई सहयोग पुग्ने गरेको छ। अहिलेको समयमा सूचना सबै भन्दा ठूलो कुरा हो र त्यसमा पनि हामी प्रवासी नेपालीलाई त अमेरिकामा सूचनाको ठूलो महत्व हुने गर्छ। जस्तोकी हामी मध्ये कति जना अमेरिका आएको बर्षौंपछि यहाँको सरकारी सेवामा छिरेका छौँ।  अमेरिका आएर ग्रीन कार्ड पाएको दश वर्षपछि सरकारी जागिरमा छिरेको मानिसले ग्रीन कार्ड पाएको दुई बर्षमा त्यो जागिरमा छिर्न पाएको भए उसको जागिर ८ वर्ष पुरानो भैसक्थ्यो। तर  नेपाली योग्यताको प्रमाणपत्रकै आधारमा सरकारी जागिर खाएर पेन्सन गराउन सकिन्छ भन्ने कुरा हामी मध्ये धेरैलाई यहाँ आएको बर्षौं पछिमात्र थाहा भयो। अनि ठूलो जनसंख्यालाई त अझै पनि त्यो कुरा थाहा छैन अथवा थाहा भए पनि कसरी सरकारी सेवामा छिर्न सकिन्छ भन्ने कुराको जानकारी छैन । हाम्रो चौतारीमा हामी आफूले जानेको कुरा सेयर गरेर एक अर्कालाई एजुकेट गर्ने प्रयत्न गर्छौं । जानकारीको अभावले हाम्रो जीवनमा बनाएका त्यस्ता राँटाहरुलाई चौतारीले फुटाइदिने काम गर्छ र हिच्किचाहट या अन्य कारणले फुट्न नसकेर ती राँटाहरुले मनमा बनाएका गाँठाहरूलाई फुकाईदिने काम गर्छ। अनि हाम्रो चौतारीको तेस्रो विषय भनेको हाम्रा ठाउँ र संस्कृतिसँग जोडिएर आउने हाम्रा विशिष्ट अनुभवहरुको आदान प्रदान हो। हामी कोही सुदूरपूर्वी नेपालको प्रतिनिधित्व गर्छौं भने कोही सुदूर पश्चिमको। अमेरिकाको एउटा सानो शहरमा सिङ्गै नेपालको प्रतिनिधित्व भएको देखिनुले हामीलाई नेपालको सांस्कृतिक बैभवको झल्को दिन्छ। हाम्रा भिन्न संस्कृति अनुसारका भिन्न चालचलन र रितीरिवाज छन् जुन भलाकुसारीको माध्यमबाट एक अर्कामा आदान प्रदान गर्दा हामीलाई नेपाल पुगेको अनुभव हुन्छ। आमोद सर भन्नुहुन्छ आल्बानीको चौतारीमा आएर यहाँ हुने भलाकुसारी सुन्दा नेपालमा रहँदा भन्दा बढी नेपालको विविधतालाई बुझ्ने मौका पाए जस्तो लाग्छ। आमोद सरले भन्नु भए जस्तै चौतारीमा हामीलाई थाहा भयो पुर्बी नेपालमा ५ दिन सम्म लगाइने दशैंको टिका पश्चिम नेपालमा एक दिन मात्र लगाइन्छ।

नेपालबाट घुम्न आउनु भएका पाहुनाले प्रशङ्ग बस नेपालको बारेमा कुरा गर्दा नेपाली राजनीति आउनु स्वाभाविक हो तर जति नै प्रयास गरे पनि कुनै न कुनै रुपमा सार्वजनिक भेटघाटमा हामी नेपाली राजनीतिको कुरा नछोई छुट्टिएको खासै अनुभव छैन। आखिर किन आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय बिदेशी माटोको सेवा गरेर जीवन यापन गरिरहेका हामी प्रवासी  यति धेरै नेपाली राजनीतिको बारेमा चिन्तित छौँ त ? 

हाम्रा गफसँग सधैँ हामीले हाम्रा बच्चालाई कसरी नेपाली भाषा र संस्कृति सिकाउने भन्ने कुरा जोडिएर आउने गर्छ। ती गफहरुले हामीलाई  सामान्यतया बिर्सिन सकिने चाडपर्वहरु जस्तो असारको पन्ध्र, माघे संक्रान्ति, बुद्ध जयन्ती आदिको बारेमा जानकार बनाउन सहयोग गर्छन् जसले गर्दा हामीले पनि हाम्रा बच्चाहरुलाई तिनको बारेमा सिकाउन र तिनको महत्वको बारेमा बुझाउन सकौं। हामी सबै अभिभावकको सामूहिक प्रयत्न भनेकै हाम्रा बच्चामा नेपाल बचाई राख्नु हो जसले गर्दा उनीहरुले आफ्नो परिचय गुमाएर भिरको चिचिन्डो बन्नु नपरोस्। हामी चाहन्छौं अमेरिकामै जन्मेको नेपाली पुस्ताले पनि नेपाली भाषामा नेपाललाई पढ्न, सुन्न, चिन्न र जान्न सकोस्।

त्यसैले हाम्रो चौतारीको उद्देश्य फरक छ। माथि भनिए जस्तै चौतारीमा हामी सकेसम्म नेपाली राजनीतिलाई ठाउँ नदिन खोज्छौँ। त्यसमा हामी सबैको भद्र सहमति छ। बिदेशी माटोमा बसेर नेपाली राजनीतिको कुरा काट्ने काम अनुत्पादक र वाहियात हो भन्ने सबैलाई लाग्छ। अमेरिकी नुन खाने, अमेरिकी जान प्रतिनिधिलाई भोट हाल्ने अनि कुरा चाहिं  कति न ठूलो राजनीतिक विश्लेषक जस्तो गरेर नेपाली राजनीतिको गर्ने। नेपाली राजनीतिको आकाश नै आफैँले थामेको छु जस्तो गर्ने प्रवृतिलाई निरुत्साहित गरेर त्यस्ता सामुदायिक जमघटलाई समुदायको हितमा प्रयोग गर्ने चौतारीको प्रयत्न रहेको छ।  तर त्यति कुरा जान्दा जान्दै पनि कहिलेकाहिँ  थाहै नपाई राजनीति  छिर्ने गर्छ। आज त्यस्तै भयो। आज हामीसँग नेपाल बाट घुम्न आउनुभएका एक समाज सेवी व्यक्तित्व यज्ञराज न्यौपाने पाहुना हुनुहुन्थ्यो। वहाँले आफ्ना अनुभवहरु सुनाउनु भयो। दैनिक हजारौं नेपालीहरु बिदेशमा पढ्न जान्छन्। अरबौं नेपाली रुपयाँ बिदेसिन्छ। नेपालका बिश्व बिद्यालयहरु रित्ताजस्तै भएका छन। तर त्यसलाई रोक्ने प्रयास सरकारले गरेको छैन र यदाकदा कसैले गरिहाले पनि त्यसलाई राष्ट्रिय मुद्दाको रुपमा लिएर जाने सरकारी नीति छैन।  यस्ता कुराहरु गुनासाको रुपमा आए। उहाँले एउटा संस्था मार्फत झापाको आफ्नो गाउँ तोपगाछीका बिद्यालयलाई राजनीतिको हस्तक्षेपबाट मुक्त राख्न गरेका प्रयत्नहरुको बारेमा चर्चा गर्नु भयो। हामीले उहाँले गर्नु भएका प्रयत्नहरुको प्रशंसा गर्यौं।

नेपालबाट घुम्न आउनु भएका पाहुनाले प्रशङ्ग बस नेपालको बारेमा कुरा गर्दा नेपाली राजनीति आउनु स्वाभाविक हो तर जति नै प्रयास गरे पनि कुनै न कुनै रुपमा सार्वजनिक भेटघाटमा हामी नेपाली राजनीतिको कुरा नछोई छुट्टिएको खासै अनुभव छैन। आखिर किन आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय बिदेशी माटोको सेवा गरेर जीवन यापन गरिरहेका हामी प्रवासी  यति धेरै नेपाली राजनीतिको बारेमा चिन्तित छौँ त ?  यसको उत्तरमा धेरै कारणहरु आउन सक्लान्। हाम्रा अनुभवले तीन वटा मुख्य कारणहरु देखाएको छ।

पहिलो अहिले चालिस पचास बर्षको बीचको उमेर समूहका हामीले नेपालको ठूला राजनीतिक परिवर्तनलाई बच्चैदेखि अनुभव गरेर आएका छौँ । शैशव र युवा अवस्थामा हाम्रो अवचेतनमा ती घटनाहरुले प्रवेश  पाएका छन् र त्यहाँ लामो समय देखि स्टोर भएर बसेका छन् जुन सम्बन्धित प्रसंग आउने बित्तिकै पुनर्जागृत हुन्छन्। हामी त्यसमा जोडिन पुग्छौं र प्रतिक्रिया दिन प्रोत्साहित हुनेगर्छौं।

अर्को कारण, ती राजनीतिक परिवर्तनले ल्याएको अव्यवस्था र देशको सम्पूर्ण क्षेत्रमा गरिएको  राजनीतिकरणको असरले हामीलाइ  बिदेसिन बाध्य बनाएको छ। मलाई याद छ एक जना मेरा मित्र आफूले पढेको क्याम्पसमा गएर प्राध्यापक हुन चाहन्थे तर उनी कुनै राजनीतिक दलको समर्थन वा सहयोग पाएर जागिर खान चाहदैन थिए। उनी आफ्नो गृह जिल्लाको क्याम्पसमा गएर पार्ट टाइम पढाउन पनि ठूला दलको सिफारिस चाहिने भन्ने बुझेपछि अमेरिका भासिने योजना गर्न थाले र अहिले उनी अमेरिकामा सरकारी जागिरे छन्। उनको जीवनको ठूलो लक्ष्य आफ्नो जिल्लाको क्याम्पसमा गएर पढाउने थियो तर देशमा भएको चरम राजनीतिकरणले उनको जीवनको उद्देश्य नै मोडियो।  त्यो त एउटा सामान्य प्रतिनिधि उदाहरण हो। अरु नभनिएका र नसुनिएका कथाहरु त्यो भन्दा दर्दनाक र मर्मस्पर्शी छन्।

तेस्रो र सबै भन्दा महत्वपूर्ण कारण भनेको चाहिं हामी आखिर जहाँ भए पनि नेपाली हौँ र हामी हाम्रो देशलाई माया गर्छौं। हामी चाहन्छौं देशमा सुशासन होस्, बिकास होस्, र आफू जन्मिएर हुर्किएको देशले काँचुली फेरेको हेर्ने र देख्ने चाहना हामी सबैको मनमा छ। बिदेशमा आफुले भोगेको जस्तो सुबिधा स्वदेशका नागरिकले पनि भोग्न पाउन।  जसलाई बढी माया गरिन्छ त्यसै सँग सबै भन्दा बढी सम्बन्धित भइन्छ चाहे सकारात्मक रुपमा होस् या नकारात्मक रुपमा। देशले बिदेसिएका नागरिकलाई कति सम्झिन्छ थाहा छैन तर एउटा प्रवासीले आफ्नो देशलाई सधैं आफै सँग बोकेर हिंडेको हुन्छ। सायद त्यसैले त हामीलाई देशको चिन्ताले छोड्दैन, चाहे चिया गफमा होस् या पार्टीमा, एक्लै बस्दा होस् या साथीहरुको साथमा ।

अन्त्यमा हाम्रो चौतारीमा जे गफ भए पनि हाम्रो केवल एउटा लक्ष छ अनि त्यो हो  मझधारका हामी  र हाम्रा सन्तानमा नेपाल बचाईराख्ने।

(इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकामा जन्मेका नारायण भट्टराई व्यङ्ग्य कविता र कथा लेख्न बिशेष रुचि राख्नु हुन्छ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?