नेपाली सिनेमाका एक हस्ती नीर शाहले यस क्षेत्रमा ५५ वर्ष बिताइसकेका छन्। उनै नीर शाहसँग देशसञ्चार चौतारीको यस अंकका लागि हामी देशसञ्चार सहकर्मीले कुरा गरेका छौँ।
‘राजा वीरेन्द्रसँग नेपाल बनोस् र नेपालीले सुख पाओस् भन्ने चाहना थियो,’ उनी भन्छन्, ‘सिनेमा र टिभी क्षेत्रको नेपालको विकासमा अतुलनीय योगदान थियो।’
अन्तर्क्रियाका क्रममा नीर शाहले सरलतामात्र प्रस्तुत गरेनन्, धेरैपटक हँस्सीमजाक पनि गरे। आफू कहिल्यै बम्बै जान नचाहेको तर पढ्न भने जान खोजेको उनले बताए।
आफ्नो पहिलो निर्देशकीय कृति वासुदेव फिल्म बनेपछि आफू केही समय विदेश भासिएको उनले बताए। वासुदेवमा विनोद चौधरीको ५० प्रतिशत लगानी रहेकाले उनको नाम प्रस्तुतिमा राखेको बताए।
कलाकारिता, निर्देशकीय यात्रा र गीत लेखनमा जुगौँदेखि लागिरहेका नीर शाह सिनेमा क्षेत्रमा आएको यो सफलता र फड्कोसँग खुसी छन्।
सिनेमा बनाउन खोज्दा बौलाहा आयो भन्ने उपमा पाउने दिनहरुको सम्झना पनि गरे उनले।
‘सिनेमाप्रतिको इन्ट्रेस्ट ममा कसरी रोपियो भन्ने कुराको जवाफ चाहिँ मैले अहिलेसम्म पाउन सकेको छैन.’ उनले भने।
‘मेरा गुरुहरु रुद्रराज पाण्डे र भीमवरसिंह थापालगायतलाई मैले निर्देशकका रुपमा काम पनि लगाएको छु,’ उनले सम्झिए।
आफूले ‘परिवर्तन’ सिनेमामा भूमिका खेल्दा निर्देशक हिरासिंह खत्रीले राजा महेन्द्रलाई चिठी लेखेरै सोधेको स्मरण पनि नीर शाहले गरे। नेपाली सिनेमाका पटकथाहरु बम्बईका पटकथाकारहरुले लेख्ने शाहले अन्तर्वार्ताका क्रममा बताए। नेपाली सिनेमाको पटकथा बम्बईका पटकथाकारले लेख्दा मौलिकता रहन नसक्ने उनले बताए।
शाही नेपाली चलचित्र संस्थान खोलेर राजा वीरेन्द्रले धेरै गुण लगाएको उनले बताए। संस्थानको सञ्चालक समितिमा बालकृष्ण सम माधव घिमिरे यादव खरेलजस्ता हस्तीहरु भए पनि पहिलो नेपाली सिनेमा भने भारतीय कथाकारको मनको बाँध बनाएकामा उनले खिन्नता व्यक्त गरे।
नेपाली सिनेमालाई राम्रो बाटो दिन आफूले प्रतिष्ठित कृतिहरुमाथि सिनेमा बनाएको उनले बताए।
‘जुन स्वतन्त्रताका साथ म चलचित्र क्षेत्रमा लाग्न चाहेको थिएँ त्यो नपाएपछि म बेलायत लागेँ,’ उनले भने।
बेलायतमा पढ्दापढ्दै आफूलाई नेपाल टेलिभिजन सुरु गर्न बोलाइएको उनले स्मरण गरे। नेपाल टेलिभिजन स्थापनाका क्रममा ३२ जना सपुतले मेहनत गरेर काम गरेको स्मरण पनि उनले गरे।
नेपाल टेलिभिजनको अहिलेको अवस्थामाथि भने उनले खिन्नता व्यक्त गरे। ‘भो यसबारे अहिले कुरा नगरौँ,’ उनले हाँस्दै अन्तक्रियाका क्रममा भने।
नीर शाहसँगको पूरा भिडियो: