
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले खोप आयात गर्ने बताएका हुन्।
मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताए। उनले सरकारले रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताए।
मन्त्री पौडेलले डेंगी नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गरे।