
काठमाडौं- एसिसी महिला एसियाकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेपाललाई १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएपछि नेपालले विशाल लक्ष्य पछ्याउन लागेको हो।
भारतका लागि ओपनर सफाली वर्माले ८१ रन बनाउँदा अर्की ओपनर दयालन हेमलत्ताले ४७ रन बनाइन्। उनीहरुले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। त्यस्तै जेमिमा रोड्रिग्वेजले २८ रन बनाइन। नेपालका लागि सिता राना मगरले २ विकेट लिंदा कविता जोशीले १ विकेट लिएकी थिइन्।
समूहमा भारत र पाकिस्तानको समान ४-४ अंक रहेको छ। आफ्नो अन्तिम खेलमा पाकिसस्तानले युएइलाई १० विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ। नेपाल भारतसँग साँघुरो जित निकालेपनि सेमिफाइनल पुग्न पर्याप्त हुने छैन्।
युएई भने सबै तीन खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरियो। मंगलबार भएको दिनको पहिलो खेलमा युएइले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले ३५ बल बाँकी हुँदै विकेट नगुमाइ पुरा गरेको थियो।
नेपालले अब सेमिफाइनल पुग्न साविक विजेता भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने चुनौती रहने छ। भारतले भने नेपाललाई हराए समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध ९ विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो। तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ। एसियाकपको पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो।