
दाङ– लुम्बिनी प्रदेश सरकारमा एमालेका चार र कांग्रेसका चारगरी ८ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा राखिएको कार्यक्रममा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्माले मन्त्रीको रूपमा शपथ लिइन्। यस्तै, कांग्रेसबाट बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) र प्रचण्ड विक्रम न्यौपानेले शपथ लिए।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रीहरूको नियुक्त गरिएको थियो। आज नै मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
८७ सदस्यीय प्रदेशमा एमालेका २९ र कांग्रेसका २७ जना गरी ५६ जना सांसदको समर्थनमा आचार्य मुख्यमन्त्रीमा सोमबार नियुक्त भएका थिए।