
काठमाडौँ- संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको सुनुवाइ जारी छ। बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रधानको नैतिक चरित्रमाथि प्रश्न उठाएकी छन्। न्यौपानले तपाईलाई निर्वाचन आयुक्तमा पठाउँदा नैतिक चरित्र कायम हुन्छ भन्ने आधार के हो भनेर प्रधानलाई प्रश्न गरेकी छन्।
सांसद न्यौपानेले ‘तपाईं निर्वाचन आयुक्तमा जान योग्य हुनुहुन्छ? पिडितले सन् २०१७ देखि २०२२ सम्म तपाईंले गरेका कार्यका बारेमा बताउनुभयो ,यस्तो उजुरी अव मैले सुन्नु पर्छ कि पर्दैन?’ भन्दै प्रश्न गरेकी छन्। सुनुवाइ समितिको बैठक जारी छ।
बुधबार संसदीय सुनुवाइमा मिडियालाई बाहिर निकालिएको छ। यो संसदीय सुनुवाइको इतिहासमै पहिलो पटक भएको घटना हो। समितिको बैठक सुरु भएको केही समयपछि संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सभापतिको निर्देशनमा भनेर आफैले मिडियालाई बाहिर जान निर्देशन दिएका हुन्।
पाण्डे प्रस्तावित प्रधानमाथिको आरोप लुकाउन सुरुदेखि नै लागि पर्दै आएका छन्। उनले प्रधानमाथि परेका उजुरीबारे मिडियालाई जानकारी नदिन सांसदहरुलाई समितिमा दबाब पनि दिएका थिए। सुनुवाइ समितिको बैठकमा प्रधानले कार्ययोजना प्रस्तुत गर्दा मिडियालाई बस्न दिएर त्यसपछि बाहिर जान भनिएको हो।
आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि यौन हिंसा गरेको आरोप प्रधानमाथि लागेको छ। पीडित महिला स्वयम्ले सुनुवाइ समितिमा उपस्थित भएर आफूमाथि भएको हिंसाको बारेमा असार १९ गते सविस्तार बताएकी थिइन्। पीडितको कुरा सुनेपछि भोलिपल्टै अनुमोदन गर्ने तयारीबाट सुनुवाइ समिति पछि हटेको थियो।
तस्बिरहरु: बर्षा शाह