
काठमाडौँ – विश्व खेलकुदको सर्वाधिक ठूलो इभेन्टका रुपमा रहेको ओलम्पिक खेलमा नेपालले आफ्नो १५ औँ सहभागिता जनाउँदै छ। ओलम्पिकमा अहिलेसम्म पदकविहीन यात्रा गरेको नेपालले खेलाडी सहभागिताको हिसाबले यही ओलम्पिकबाट १०० बढी खेलाडीको कोसेढुङ्गा पूरा गरेको छ।
नेपालले पहिलो पटक १९६४ मा जापान ओलम्पिकमा सहभागिता जनाएयताको ६० वर्षमा कुल १ सय ५ खेलाडीलाई ओलम्पियन बनाएको छ। अर्थात पेरिस ओलम्पिकमा ७ खेलाडीको प्रदर्शनसँगै नेपालले सय ओलम्पियनको आँकडा पूरा गरेर १ सय ५ ओलम्पियनहरु जन्माउँदै छ।
अहिलेसम्मको ओलम्पिक यात्रामा नेपालका लागि सर्वाधिक सम्झनयोग्य ओलम्पिकका रुपमा १९८८ मा दक्षिण कोरियामा भएको सियोल ओलम्पिकलाई लिइन्छ। उक्त २४ औँ ओलम्पिकमा नेपालले सर्वाधिक खेलाडी पठायो। त्यसयता र त्यसअघि पनि नेपालले उक्त संख्यामा खेलाडीलाई ओलम्पिकमा पठाउन सकेको छैन। अर्थात यो ओलम्पिकमा नेपालका पाँच खेलका २ महिला खेलाडीसहित १८ खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए। अझ यो ओलम्पिक नेपालका लागि किन पनि सम्झनयोग्य मानिन्छ भने अनअफिसियल भए पनि नेपालले एउटा पदक जितेको थियो।
विधान लामाले तेक्वान्दोमा कास्यपदक जितेका थिए। तर, त्यसबेला तेक्वान्दो प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो। त्यसैले उनले जितेको पदकलाई औपचारिक रुपमा ओलम्पिक पदक मानिँदैन। तर, नेपालले ओलम्पिकमा पदक जितेको खेलाडी सम्झिँदा विधान लामाकै नाम आउने गरेको छ।
तथ्याङ्कमा हेरौं नेपालको ओलम्पिक यात्रा
१९६४: जापानको टोकियोमा भएको १८ औँ ओलम्पिक नेपालको पहिलो सहभागिताका रुपमा रहेको ओलम्पिक हो। उक्त समयमा नेपालका दुई खेलका ६ खेलाडी सहभागि भएका थिए। जसमा एथ्लेटिक्सबाट भुपेन्द्र सिलवाल र गंगवा बहादुर थापाले सहभागिता जनाउँदा बक्सिङबाट नमं सिंह थापा, ओम प्रसाद पुन, राम प्रसाद गुरुङ र भिम बहादुर थापाले सहभागिता जनाएका थिए।
१९७२: आफ्नो पहिलो ओलम्पिक सहभागिताको चार वर्षपछि अर्थाथ १९६८ मा मेक्सिको सिटीमा भएको ओलम्पिकमा भने नेपालले सहभागिता जनाएन। तर, १९७२ को म्युनिख ओलम्पिकमा नेपालले एथ्लेटिक्समा मात्र सहभागिता जनायो। नेपालबाट जितबहादुर केसी र भक्तबहादुर सापकोटा सहभागि भएका थिए। म्युनिख ओलम्पिकको गोलिकाण्ड अहिले पनि चर्चित छ।
१९७६: मोन्ट्रेल, क्यानडामा भएको २१ औँ ओलम्पिकमा नेपालले एकमात्र खेलाडीका रुपमा बैकुण्ठ मानन्धरलाई पठाएको थियो। त्यो सहभागितापछि बैकुण्ठले लगातार चार ओलम्पिक खेल्ने एक्लो खेलाडीको कीर्तिमान बनाएका थिए।
१९८०: मा भएको रुसको मस्को ओलम्पिकमा नेपालले तीन खेलमा सहभागिता जनायो। एथ्लेटिक्स, बक्सिङसँगै वेटलिफ्टिङ्गमा सहभागिता जनाएको थियो। उक्त ओलम्पिकमा नेपालबाट १२ खेलाडी सहभागि भएका थिए। उक्त ओलम्पिकमा नेपालबाट एथ्लेटिक्सका पाँच खेलाडीले भाग लिए। जसमा बैकुण्ठ मानन्धर, नरबहादुर दाहाल, रघुराज वन्त, लक्ष्यमन बस्नेत र मुकुन्दहरी श्रेष्ठ रहेका थिए। त्यस्तै, बक्सिङबाट उमेश मास्के, रवी राज थापा, नरेन्द्र मोमा, पुस्करध्वज शाही, विष्णु मालाकार रहँदा रेस्लिङमा अशोककुमार कार्की, राजेन्द्र प्रधानले सहभागिता जनाए।
१९८४: लसएन्जलस ओलम्पिकमा ११ जना खेलाडीले सहभागिता जनाए। यो पटक पनि एथ्लेटिक्स, बक्सिङ र भारत्तोलनमा नेपालको सहभागिता रहेको थियो। नेपालबाट एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, अमिरी यादव, अर्जुन पण्डित, पुष्पराज ओझा, जोधा गुरुङ्गले सहभागिता जनाउँदा बक्सिङका दलबहादुर राना, उमेश मास्के, प्रविन तुलाधर र मनबहादुर श्रेष्ठ रहेका थिए। त्यस्तै, भारत्तोलनमा सुरेन्द्र हमाल र जगदिश प्रधानले सहभागिता जनाए।
१९८८: मा सियोल कोरियामा भएको २४ औँ ओलम्पिकमा नेपालले सर्वाधिक खेलाडी पठायो। अर्थात यो ओलम्पिकमा नेपालले पाँच खेलका २ महिला खेलाडीसहित १८ खेलाडीले ओलम्पिकमा सहभागिता जनाए। जसमा एथ्लेटिक्सबाट बैकुण्ठ मानन्धर, राजकुमारी पाण्डे, हरिबहादुर रोकाया, कृष्णबहादुर बस्नेत, टिका बोगटी, डम्बर कुँवर रहेका छन्। त्यस्तै, बक्सिङबाट दलबहादुर राना, विष्णुबहादुर सिंह, झपट सिंह भुजेल, डम्बर दत्त भट्टले सहभागिता जनाए। त्यस्तै, भारत्तोलनका रामबहादुर गिरी, भरत साउँद रहँदा सुटिङबाट पार्वती थापाले सहभागिता जनाइन्। त्यस्तै, जुडोबाट गंगाबहादुर डंगोल, ऋषिराम प्रधान सहभागी भए। तेक्वान्दोबाट विधान लामा, मान बहादुर तामाङ्गले सहभागिता जनाए।
१९९२: मा भएको बार्सिलोना ओलम्पिकमा ६ खेलाडीले सहभागिता जनाए। उक्त प्रतियोगतामा तीन खेलका ६ खेलाडी सहभागि भएका थिए। एथ्लेटिक्सबाट हरिबहादुर रोकाया मात्र सहभागि हुँदा सुटिङबाट अनिता श्रेष्ठ, तेक्वान्दोबाट नारायण गुरुङ, प्रमिला थापा र सीता राई रहे।
१९९६: मा एट्लान्टा अमेरिकामा भएको प्रतियोगितामा ४ खेलबा ६ खेलाडी सहभागि भए। एथ्लेटिक्सबाट टिका बोगटी र विमला राना मगरले सहभागिता जनाउँदा सुटिङका विभासस्वरी राई, भारत्तोलनका सुनिल लाल जोशी स्विमिङकी निश्मा गुरुङ र सिताराम शाही सहभागी भए।
२०००: सिड्नी ओलम्पिकमा नेपालका तीन विधाका ६ खेलाडीले सहभागिता जनाए। जसमा स्विमिङका चित्रबहादुर गुरुङ, देभि माया पनेरु, रुना प्रधान रहँदा एथ्लेटिक्सबाट ग्यान बहादुर बोहरा सहभागी भए। त्यस्तै, सुटिङकी भगवती खत्री क्षेत्री सहभागी भएकी थिइन्।
२००४: ग्रिसको एथेन्समा भएको स्पर्धामा ४ खेलका ६ खेलाडी सहभागि भएका थिए। एथ्लेटिक्सबाट राजेन्द्र भण्डारी, कान्छिमाया कोजु सहभागी हुँदा स्विमिङका एलिस श्रेष्ठ, नयना शाक्यले सहभागिता जनाए। त्यस्तै, सुटिङका टिका राम श्रेष्ठ र तेक्वान्दोकी संगीना वैद्यले उक्त ओलम्पिकमा सहभागिता जनाएका थिए।
२००८: बेइजिङ ओलम्पिकमा भएको स्पर्धामा ६ खेलका ८ खेलाडी सहभागि भए। तेक्वान्दोका दिपक विष्ट, स्विमिङका प्रसिद्ध जंग शाही र करिश्मा कार्की, जुडोकी देभु थापा, सुटिङकी फूलमाया क्याप्छाकी, एथ्लेटिक्सका अर्जुनबहादुर बस्नेत र चन्द्रकला थापाले सहभागिता जनाउँदा भारत्तोलनका कमलबहादुर अधिकारी सहभागी भए।
२०१२: मा भएको लन्डन ओलम्पिकमा तीन खेलका पाँच खेलाडीको सहभागिता रह्यो। उक्त ओलम्पिकमा सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, स्विमिङबाट प्रसिद्ध जङ्ग शाह र श्रेया धिताल रहँदा एथ्लेटिक्सबाट प्रमिला रिजाल र तिलक राम थारु सहभागी भए।
२०१६: मा ब्राजिलमा भएको रियो ओलम्पिकमा पाँच खेलका ७ खेलाडी सहभागी भएका थिए। एथ्लेटिक्सबाट हरि कुमार रिमाल र सरस्वती भट्टराईले सहभागिता जनाउँदा स्विमिङबाट सिरिस गुरुङ र गौरिका सिंह सहभागि भए। त्यस्तै, जुडोबाट फुपु लहामु खत्रीले सहभागिता जनाउँदा तेक्वान्दोकी निशा रावल र आर्चरिका जितबहादुर मोक्तान रहेका थिए।
२०२०: को टोक्यो ओलम्पिकमा चार खेलाडीमात्र सहभागि भए। नेपालबाट एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङकी कल्पना परियार र स्विमिङबाट गौरिका सिंहले सहभागिता जनाए। यो मात्र यस्तो ओलम्पिक बन्यो जहाँ एकजना पनि पुरुष खेलाडी सहभागी हुन सकेनन्।
२०२४: नेपालले ३३ औँ ओलम्पिकमा आफ्नो १५ औँ सहभागिता जनाएको छ। जसमा नेपालले पहिलो पटक ब्याडमिन्टनमा सहभागिता जनाउँदा स्यान्टो श्रेष्ठले टेबलटेनिस छनोटचरण पार गरेर सहभागी हुँदै छन्। नेपालबाट स्विमिङ, जुडो, ब्याडमिन्टन, टेबलटेनिस र एथ्लेटिक्स गरी ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदै छन्। स्विमिङबाट एलेक्सेन्डर शाह, डुवाना लामाले सहभागिता जनाउँदा जुडोबाट मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङका सुस्मिता नेपाल र एथलेटिक्स बाट सन्तोषी श्रेष्ठले यो प्रतिस्पर्धामा भाग लिँदै छन्।