
काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ।
बिहीबारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो।
उनीहरुसँग सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापाले जानकारी दिए।
उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्यअनुसार सहकारी ठगिका १५१ वटा मुद्दाहरु रहेको पाइएको जानकारी दिए। त्यसैगरी देशभरका अदालतमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि उनले बताए।
सभापति थापाले समितिको आगामी बैठक भोलि (शुक्रबार) बस्ने र सो बैठकमा प्रतिनिधिमूलक ढंगले पूर्वअर्थमन्त्रीसँग छलफल गरिने जानकारी दिए।