
काठमाडौं- टिआरसीको विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेकाे छ। शुक्रबार गृहमन्त्रालयमा बसेकाे कार्यदलको बैठकले यस्ताे निर्णय गरेकाे हाे।
विधेयकलाई अन्तिम रूप दिनको लागि कानुनमन्त्री र सचिव, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय भएकाे हाे।
बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी थिए।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए। ‘संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं। यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिरुप दिने कुरा भएको छ,’ उनले भने।
यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिमरुप दिने गरी आजको बैठक सकिएको बताए। ‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ,’ उनले भने।
यसअघि प्रमुख राजनीतिक दलहरू टिआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए।
संसदमा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमा दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएको छ।
कांग्रेस,एमाले र माओवादी शीर्ष नेता सम्मिलित बैठकले तीन साताअघि गठन गरेको कार्यदलका सदस्यहरूबीच बुधबार यी दुई विषयमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन।