
१३ जुलाईको एक र्यालीमा अमेरिकी पूर्व राष्ट्रपति तथा वर्तमान रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भयो। ट्रम्पलाई कानमा गोली लागेको खबरसँगै उनका समर्थकहरूका लागि भने यो हत्या प्रयासमा एकजुट हुने अवसरका रूपमा रह्यो।
अर्थात ट्रम्पको कानको घाउ ट्रम्पका समर्थकलाई ‘एकताको प्रतीक’ का रूपमा रह्यो। अमेरिकी राजनीतिक हिंसामा यो गोली काण्ड एक गम्भीर घटनाका रूपमा अब वर्षौंसम्म सम्झनामा रहने छ।
तर बुधबार अमेरिकी गुप्तचर निकाय (एफबिआई) का निर्देशक क्रिस्टोफर रेले नयाँ टिप्पणी गर्दै ट्रम्पको कानको घाउका विषयमा अझै धेरै कुराहरू बाहिर नआएको बताए। अर्थात अमेरिकी जनतालाई अझै धेरै कुरामा अँध्याराेमा राखिएको दाबी गरे।
रेले अमेरिकी कांग्रेसमा घाउ गोलीले नभइ छर्राका कारण हुनसक्ने बताउँदै नयाँ खुलासा गरे। यद्यपि ट्रम्प र उनका पूर्व ह्वाइट हाउस चिकित्सकले भने कानमा गोली नै लागेको दाबी गरेका छन्।
ट्रम्पको टोली भने यो आरोपमा चुप रहेको छ। पूर्वराष्ट्रपतिको मेडिकल रेकर्ड सार्वजानिक रूपमा बाहिर ल्याउनुपर्नेमा पेन्सिलभेनियास्थित उनको कानको उपचार भएको अस्पतालमा प्रेस ब्रिफिङको आयोजना गर्न निषेध गरिएको र यो विषयमा ट्रम्पका अभियानकर्मीहरूलाई जवाफका लागि आग्रह गर्दा कुनै जवाफ दिएनन्।
आखिर ट्रम्पको कानको घाउ कसरी अमेरिकी चुनावमा मुद्दाका रूपमा स्थापित हुँदै छ त? एफबिआई प्रमुख रेले बुधबार छर्राका कारण हुन सक्ने बताएसँगै विपक्षीहरूलाई समेत यो विषयले झस्काएको छ।
बुधबार हाउस ज्यूडिशियरी कमिटीका दौरान रेले हत्याको प्रयासका बारेमा भइरहेको जाँचको नयाँ विवरण प्रदान गर्दै यो खुलासा गरेका छन्। उनले गोलीबाटै घाउ भएको निश्चित नभएको बताएका छन्। उनले भने, ‘यो बारेमा केही प्रश्नहरू उठेका छन्। यो गोलीकै कारण हो कि छर्राले कानमा लागेको हो?’
ट्रम्पले सार्वजानिक गरेनन् मेडिकल रिपोर्ट
बटलर, पेन्सिलभेनियामा गोली चलेलगतै, ट्रम्पलाई बटलर मेमोरियल अस्पताल लगिएको थियो। यद्यपि उनको टिमले उनको घाउ र उनको कसरी उपचार गरियो भनेर विवरणहरू सार्वजनिक गरेनन्। अस्पताका डाक्टरहरूलाई पत्रकार सम्मेलनमा जवाफका लागि उपस्थित गराइएन। साथै ट्रम्पले आफ्नो उपचारसँग सम्बद्ध मेडिकल रेकर्डहरू सार्वजनिक गरेनन्। यसले झनै संशय पैदा गरेको छ।
पूर्व ह्वाइटहाउस चिकित्सक भन्छन्- गोलीकै कारण कानमा चोट
२० जुलाई अर्थात गोलीकाण्ड भएको एक हप्तापछि ट्रम्पले पूर्व ह्वाइट हाउस चिकित्सक रोनी ज्याक्सन जो अहिले टेक्सासबाट रिपब्लिकन कांग्रेसको सदस्यका रूपमा रहेका छन्। उनले हस्ताक्षरितपत्र सार्वजनिक गरेका छन्। उनले चोटका बारेमा नयाँ विवरण जारी गर्दै दावी गरेका छन् कि यो घाउ गोली लागेकै कारण भएको हो।
पत्रमा ज्याक्सनले ट्रम्पको दाहिने कानमा एक शक्तिशाली राइफलबाट निस्किएको २ सिएम चौडा गोलीको घाउ भएकाे उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘सुरुमा धेरै रक्तश्राव भयो, त्यसपछि कानको माथिल्लो भाग पुरै सुनियो।’
उनले अगाडि लेखे, ‘सुनिएको ठीक भएको छ, घाउ पनि ठीक तरिकाले सञ्चाे हुँदैछ। कान अत्यधिक सम्वेदनशील प्रकृतिको हुने भएकाले अहिले पनि रोकिने र रक्तश्राव हुने प्रक्रिया कायम भएकाले ड्रेसिङको आवश्यकता निरन्तर छ। यद्यपि घाउको प्रकृति फराकिलो प्रकारको भएकाले कुनै टांकाको आवश्यकता परेको छैन।’
ज्याक्सनका अनुसार ट्रम्पको बटलर मेमोरियल अस्पतालमा सिटी स्क्यानसहित गहन टेस्टहरू गरिनुका साथै साथै आगामी दिनका परीक्षणहरू पनि महत्त्वपूर्ण रहनेछन्। उनले क्रिस्टाेफर रेकाे भनाइको बारेमा एक्समा आलोचना गरेका छन्।
‘रेद्वारा दिएको बयानमा छर्राका कारण चोट लागेको भन्ने अभिव्यक्ति साँच्चिकै गैरजिम्मेवार छ,’ ज्याक्सन लेख्छन् ‘यो एक गोलीकै कारण थियो- मैले घाउ देखेको छु! यो अभिव्यक्ति दयनीय छ।’
ज्याक्सन ट्रम्पका सहयोगी हुन्। पछिल्ला वर्षमा पेन्टागनका महानिरीक्षकको रिपोर्टहरूमा भएका खुलासाले उनकाे आलोचना भएको थियो। ह्वाइट हाउसमा चिकित्सकका रूपमा उनले अनुचित फाइदा उठाएको रिपोर्टमा दावी गरिएको थियो।
ट्रम्पले गोलीकाण्डबारे के भने?
ट्रम्पले गोलीकाण्डका बारे आफ्नो अनुभवसहित केही टिप्पणी गरेका छन्। बिहीबार साँझ उनले रेको टिप्पणीविरुद्ध आफ्नो बयान दिएका थिए। उनले भनेका छन्, ‘एफबिआई निर्देशक क्रिस्टोफर रेले कांग्रेसमा बताए कि मलाई छर्रा लाग्यो, काँच या गोली (एफबिआईले जाँचसमेत गरेन्)।’
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘दुर्भाग्यवस यो एउटा गोली थियो। जुन मेरो कानमा लाग्यो। यो कुनै काँच थिएन, कुनै छर्रा थिएन। अस्पतालले पनि कानमा गोलीको घाउ लागेको जनाएको छ।’
१८ जुलाईमा रिपब्लिकन कन्वेशनमा दिएको भाषणमा रिपब्लिकन उम्मेदवार ट्रम्पले मुस्किलले बाँचेको बताएका थिए। उनले भनेका थिए, ‘मेरो ज्यान लिने उद्देश्यले गोली प्रहार भएको छ। मैले आफैलाई सोंधें कि यो के हुँदैछ? यो त गोली नै हो। त्यही बेला आफ्नो दाहिने हाथ मैले आफ्नो कानको छेउमा लँगें अनि तल बसें।’
उनले अगाडि भनेका छन्, ‘आश्चर्यको कुरा यो हो कि गोली लाग्नु अगाडि मैले टाउकाे नहल्लाएको भए गोली बिलकुल सही निशानामा लाग्ने थियो र म आज यहाँ हुने थिइन।’
पूर्वराष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले सिबिएस न्युजसँग कुरा गर्दै बुवाले यो चोटलाई अहिलेसम्मकै सर्वाधिक कानको दुखाइको रूपमा लिएको बताए। यद्यपि उनलाई टाँका लगाउन भने जरुरि नदेखिएको बताए। साथै उनको सुन्ने क्षमता पनि ठिकठाक रहेको बताए।
टाइम तथा अन्य सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएकाे सामग्री