
भक्तपुरको नयाँ ठिमीमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको ज्यान गुमेको छ। दुर्घटनामा अर्का २० वर्षीय युवक गम्भीर घाइते भएका छन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करले मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलबिनायक बस्दै आएका २१ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममै उनको ठिमीस्थित मध्यपुर अस्पतालमा निधन भएको थियो।
तामाङले चलाएको मोटरसाइकलको पछाडि बसेका काभ्रेकै माहाकाल गाविस – ६ का सञ्जीव थापाको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ।