
मोरङ – मोरङको ग्रामथान गाउँपालिकास्थित नेता चौककी कविता विश्वकर्मा आउँदो असोज महिनामा २१ वर्ष पुग्दै छिन्।
जीवनमा परिवारलाई राम्रो बनाउने, आमालाई सुख दिने हाँसीखुशीका दिन बिताउने लक्ष्यसहित अघि बढेकी कवितालाई गतवर्ष भदौमा रोगले नराम्ररी च्यापो। स्थानीय पब्लिक सेकेण्डरी स्कुलको कक्षा ११ मा पढ्दै गर्दा रोगका कारण एकाएक उनले देखेका सपना र लक्ष्य पूरा नहुने हो कि कवितालाई चिन्तित बनायो।
२० वर्षअघि बुवालाई गुमाएकी कविताले सानैबाट आमाको संघर्ष नियालेकी थिइन्। जसका कारण आमालाई हरसम्भव सुखी राख्न सक्नुपर्छ भन्ने मान्यतामा उनी अडिग छिन्। तर, गत वर्ष भदौमा उनी बिरामी भइन्। उपचारका लागि आमा चन्द्रकुमारी विश्वकर्माले बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लगिन्। कविता करिब डेढ महिना अस्पतालमा भर्ना भइन्।
आमा चन्द्रकुमारी भन्छिन्, ‘ज्वरो थियो। मुख सुन्निएजस्तो भयो। शरीर पुरै हरियोजस्तो भयो। हामी सबै डरायौँ। अस्पतालमा उपचारका लागि लग्यौँ। त्यहाँबाट उनलाई रक्त क्यान्सर भएको पत्ता लाग्यो। त्यहाँ करिब डेढ महिना राखेपछि विस्तारै सुधार भयो। अहिले घरमा ल्याएका छौँ। यहीँबाट फलोअप गर्दै आएका छौँ।’
एक दाजु, चार दिदीबहिनीमा कविता कान्छी हुन्। सबैको माया र स्नेहसाथ परिवारमा कविताको उपचारका लागि सक्दो प्रयास गरिरहेका छन्। हाल जेठी दिदीको सुनसरीको खनारस्थित घरमा बसोबास गर्दै आएकी कविताको उपचारमा नेता चौकमा रहेको एक घरसमेत बिक्री भइसकेको छ।
आमा चन्द्रकला भन्छिन्, ‘सानैमा बुबालाई गुमाएकी हुन्। उनको उपचारमा आशा मारिसकेका थियौँ। अस्पतालको आशा क्यान्सर कार्यक्रमले कविताको जीवनमा नयाँ मोड ल्याइदिएको छ। जमिन घर बेचेर उपचार गराउँदै छौँ। भएका रकम सकिसक्यौँ। तर, उपचारको नतिजाबाट अहिलेसम्म सन्तुष्ट छौँ। कवितासमेत धेरै फेरिएकी छन्।’
विराट शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको विराट क्यान्सर इन्टिच्युटमा गतवर्ष फागुनमा आशा क्लोज दि केयर ग्याप कार्यक्रम आयोजना गरेको थियो। क्यान्सर लागेका विभिन्न ६ जनाको निःशुल्क उपचारको लागि चयन भएकामध्ये कविता एक हुन्।
कविताको उपचारका लागि स्थानीय गाउँपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। त्यसैगरि, प्रदेश सरकारले एक लाख दिने भनि आश्वासन दिएको आमा चन्द्रकुमारीले जानकारी दिइन्।
शुक्रबार अस्पतालमा इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले आयोजना गरेको परामर्श तालिम कार्यक्रममा क्यान्सर योद्धाको रुपमा रहेकी कविताले आफू विस्तारै निको हुँदै गएको र आफ्नो बाँच्ने आधार बलियो हुँदै गएको बताएकी थिइन्।
मोरङ र सुनसरीका क्यान्सर सभाईभरहरुको सहभागितामा आयोजित तालिममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले क्यान्सर उपचारका लागि अस्पतालले हाइपेक प्रविधि सञ्चालनमा ल्याएको हुदाँ तेस्रो, चौथो चरणको क्यान्सर उपचारमा समेत सहजता हुने जानकारी दिए । कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. सुलभ सापकोटाले तालिमले क्यान्सर बिरामीलाई हेरचाह गर्ने तरिकाको अभ्यास गराएका थिए।
कार्यक्रममा विगत ११ वर्षदेखि स्तन क्यान्सर उपचारमा रहेकी ५३ वर्षीया सीता ढकाल अस्पतालको नियमित फलोअपमा रहेकी छिन्। सुनसरीको इटहरीकी ढकालले रोग लाग्दै गर्दा निको नहुने भन्ने भ्रममा रहेको बताइन्।
रोग लागेपछि सुरुमा ढकालले रोग निको नहुने भनेर उपचार नगराएको बताइन्। कार्यक्रममा ढकालले भनिन्, ‘स्तन क्यान्सर लागेपछि सुरुमा धेरै डरायौँ। परिवारभित्र अनेकन रात रोइकराइ भयो। तर विस्तार बुझ्दै गर्दा, उपचारमा भिज्दै गर्दा धेरै कुरा जानियो। क्यान्सर हिजोजस्तो होइन रहेछ, अहिले उपचार गरि निको पार्न सकिने रहेछ। अनुभव यस्तै भएको छ मेरो।’
कार्यक्रम संयोजक तथा क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइभरहरुको सशक्तीकरणका लागि कार्यक्रम गरिएको र त्यसबाट बिरामी र आफन्तले फाइदा लिने विश्वास लिए।