
सिमकोट – उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन्। माथिल्लो कक्षा छोड्ने क्रम बृद्धि भएसंगै ती विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको हो।
नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढाले आफ्नो गाउँपालिकामा पच्चीस भन्दा कम विद्यार्थी भएको विद्यालय संख्या आठ वटा रहेको बताए।
उक्त गाउँपालिकामा जम्मा चौध वटा विद्यालय छन्। बर्सेनि विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको भन्दै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिक्कै विद्यार्थीले विद्यालय छोड्दा यो अवस्था आएको हो।
यो संख्या इमिसमा प्रविष्टि गरेको बिबरणमा देखिए पनि बास्तव मै यो संख्या अझै घट्न सक्ने देखिएको छ। प्रमुख बुढाका अनुसार पच्चीस जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा विद्यार्थीको संख्या २२ जना छ।
त्यसैगरी, वडा नम्बर १ कै कक्षा तीनसम्म पढाई हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाई हुने नबुबुद्ध प्राविमा पन्द्र जना विद्यार्थी अध्ययन गर्दै आएका छन्। यता वडा नम्बर ३ को कक्षा तीनसम्म पढाई हुने सत्य प्राविमा २५ जना विद्यार्थी छन्।
वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना विद्यार्थी हाल अध्ययन गर्दै आएका छन्। वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनीको प्राविमा सात जना रवडा नम्बर ५ को कक्षा पाँच्सम्म अध्ययन हुने सुनखानी प्राविमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्। यता वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना मात्र विद्यार्थीले अध्ययन गरिरहेका छन्।
त्यस्तै वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने मोतिराम प्राविमा ३९ जना र कक्षा एक देखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन। नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी संख्या घटी रहेको बताए। गतवर्ष ५४ जना विद्यार्थी भएकोमा यसवर्ष सो विद्यालयमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएको उनले बताए।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या घटी रहेको बताउदै विद्यार्थी घट्दैमा विद्यालय बन्द गर्न सकिने अवस्था नरहेको जानकारी दिए। जति विद्यार्थी रहेको पनि उनीहरुको लागि विद्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको उनले बताए ।